श्रीरामको ‘तस्विर’ सार्वजनिक
भक्तपुर : गजलकार श्रीराम केसी ‘निशान्त’ को गजल संग्रह ‘तस्विर’ सार्वजनिक गरिएको छ ।
चमेरो बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको उक्त कृति आइतबार बालकोटमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेश सदस्य शशिजंग थापाले विमोचन गरेका हुन् ।
थापाले मोतीराम भट्टबाट सुरु भएको नेपाली गजल लेखनको यात्रा समृद्ध हुँदै गएको चर्चा गर्दै नेपालको गजल विधामा यस पुस्तकले उचाई थपेको बताए । केसीको पहिलो कृति तस्विरभित्र देशप्रेमले ओतप्रोत, सामाजिक, धार्मिक, राजनीतिक, आर्थिक तथा प्रेम र मानवीय भावका गजल समेटिएको उनको भनाइ छ ।
सहकारीका अध्यक्ष भिमसेन श्रेष्ठले स्रष्टालाई प्रेरणा दिन, पाठकलाई गजलको स्वाद चखाउन एवं समाज निर्माण अभियानमा सहकारीसँग जोड्न पुस्तक प्रकाशित र सार्वजनिक गरिएको जानकारी दिए ।
गजलकार निशान्तले गजललाई एउटै मालामा उन्दै नेपाली गजल विधाको विकास गर्न पुस्तक लेखेको बताए।