‘मि टु’ आवाजको एक वर्ष
वर्षौंदेखि लुकाइएका पीडा एकाएक पोखिन थाले के हुन्छ ? युगौंदेखि दमित आवाज एकाएक बोल्न थाले के हुन्छ ? अवश्य पनि विद्यमान सामाजिक मान्यताको जग हल्लिन थाल्छ। तथाकथित इज्जतदारहरूको मुकुन्डो उघारिन थाल्छ। प्रतिष्ठाको परिभाषा फेरिन थाल्छ। यस्तै मुकुन्डो उघार्ने आन्दोलन सुरु भएको आज एक वर्ष पुग्दैछ। ट्वीटरबाट सुरु भएको ‘ह्यास ट्याग मि टु’ अर्थात् ‘म पनि’ आन्दोलनले एक वर्ष पूरा गरेको छ। यो एक वर्षमा आन्दोलन विश्वव्यापी भएको छ। स“गै समुदाय, पेसा, पद र मर्यादाका पुरुषहरूको मुकुन्डो उघारिएको छ।
‘ह्यास ट्याग मि टु’ आन्दोलन मूलतः आवाज उठाउने आन्दोलन हो। जीवनमा कुनै न कुनै समय यौन दुर्व्यवहारदेखि बलात्कारसम्ममा परेका महिलाले संसारभरि फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमा ह्यास ट्याग मि टु भन्दै आफूमाथिको शोषण सुनाए। वर्षौंसम्म छातीभित्र दबाइरहेको पीडा पोखेर उनीहरू हल्का मात्र भएनन्, दोषीलाई कारबाहीको कठघरामा ल्याए। दोषी पुरुषमध्ये कतिपय कानुनी कारबाहीको दायरामा आए, कतिको सामाजिक मर्यादा खस्कियो। यौन दुर्व्यवहारमा संलग्न चर्चका पादरी, न्यायाधीश, संसद् सदस्य, नेता, संगीतकार, कलाकार सबैको असली अनुहार उजागर भए। तिनीहरूले लाजले अनुहार ढाक्नुपर्यो। यौन दुर्व्यवहारमा संलग्न भएकै कारण लेखकको लेख नछापिने स्थितिसम्म आयो।
यो आन्दोलन संयुक्त राज्य अमेरिकाबाट सुरु भएको हो। वर्षौंदेखि यौन दुर्व्यवहारको आरोप लगाइएका अमेरिकी फिल्म निर्माता हार्वे वेन्स्टिन कारबाहीको भागीदार बन्नुनपरेपछि अमेरिकी अभिनेतृ एलिसा मिलानोले ट्वीटरमा ‘ह्यास ट्याग मि टु’ लेख्दै आफूमाथि भएको दुर्व्यवहार सार्वजनिक गरिन्। त्यसलगत्तै अन्य महिलाले पनि वेन्स्टिनले गरेको दुर्व्यवहार उल्लेख गरे। अन्ततः वेन्स्टिन कारबाहीको दायरामा आए। त्यसलगत्तै सामाजिक सञ्जालमा यो आन्दोलनले मुख्य स्थान पायो। मि टु आन्दोलन आफैंमा नयाँ भने थिएन। सन् २००६ मै अफ्रो–अमेरिकी नागरिक अधिकार अभियन्ता तराना बुर्केले यो आन्दोलन सुरु गरेकी थिइन्। अभिनेत्री मिलानोले सामाजिक सञ्जालमार्फत यसलाई व्यापक बनाइन्। अमेरिकाबाट सुरु भएको यो आन्दोलन भारत र नेपालसम्म पनि आइपुगेको छ।
‘मि टु’ आन्दोलन मूलतः कथा भन्ने आन्दोलन हो। आफूमाथिको दुर्व्यवहारको कथा भनेर दोषीलाई सार्वजनिक गर्ने यो विधिले महिला आन्दोलनको सामाजिक आयाममा नयाँ इँट थपेको छ। यसले महिला मुद्दाको नयाँ संकथन निर्माण गरेको छ। यो आन्दोलनपछि महिलाका आवाजलाई गम्भीरतापूर्वक लिन थालिएको छ। यौन दुर्व्यवहारका घटनामा महिलालाई नै दोषी देखाइने, उनको चालचलन र पहिरनमाथि प्रश्न उठाइने प्रवृत्ति संकुचित भनिएका अफ्रिकाली र एसियाली समाजमा मात्र नभई खुला ठानिएका युरोप र अमेरिकामा पनि थियो। मि टु आन्दोलनले हरेक उमेर र हरेक प्रवृत्तिका महिला यौन दुर्व्यवहारको सिकार बन्दा रहेछन् भन्ने देखायो। महिलाविरुद्ध होइन, दुर्व्यवहारविरुद्ध सामाजिक मान्यताको नयाँ बहस सुरु गर्यो।
‘मि टु’ आन्दोलनको यो एक वर्षमा मूलतः पश्चिमा जगत्मा र कतिपय अवस्थामा पूर्वीय जगत्मा पनि धेरै महिलाले आफूविरुद्धको दुर्व्यवहार सार्वजनिक गरेका छन्। यौनकर्मी महिलादेखि संसद् सदस्यसम्मले आफूविरुद्ध यौन दुर्व्यवहार भएको उजागर गरेका छन्। यो आन्दोलनले पुष्टि गरेको छ– यौन दुर्व्यवहार केवल यौनकर्म मात्र होइन, यो शक्ति वितरणसँग जोडिने विषय पनि हो। यौन दुर्व्यवहार मूलतः आफूलाई कुनै न कुनै हिसाबले शक्तिसम्पन्न ठान्ने मानिसबाट कमजोर मानिएका महिलामा हुन्छ भन्ने यो आन्दोलनले साबित गरेको छ। त्यसैले कर्पोरेट हाउसदेखि सामाजिक संस्थाका उच्च स्थानमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने माग सुरु भएको छ।
‘मि टु’ आन्दोलनको एक वर्ष पुग्दै गर्दा नेपालमा भने यौन दुर्व्यवहारको आरोपीमाथि कारबाही प्रक्रिया पनि कमजोर भएको बिब्ल्याँटो स्थिति छ। नेपाली समाजमा अहिले पनि पीडित महिलालाई नै शंका गरिने प्रवृत्ति हाबी भएकाले हो सायद कथा भन्ने आन्दोलन यहाँ स्थापित हुन सकेको छैन। बलात्कारजस्ता घटनाका आरोपितले समेत उन्मुक्ति पाउने अवस्था अझै विद्यमान छ। त्यसैले ‘ह्यास ट्याग मि टु’ आन्दोलनबाट पाठ सिक्दै हाम्रो सामाजिक परिवेशअनुसारको त्यस्तै सशक्त आन्दोलन उठाउन ढिलाइ भइसकेको छ।