अम्बिका अर्यालको अविश्रान्त उपन्यास लोकार्पण
काठमाडौँ : अम्बिका अर्यालको पहिलो उपन्यास ‘अविश्रान्त’ काठमाडौँको सर्वनाम नाटकघरमा लोकार्पण गरिएको छ ।
गुञ्जन साहित्य संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार कृष्ण धराबासी, कुमारी लामा, गुञ्जनका अध्यक्ष हिरण्यकुमारी पाठक र लेखक स्वयम्ले उक्त उपन्यास सार्वजनिक गरेका थिए ।
कार्यक्रममा साहित्यकार धराबासी र कुमारी लामाले यसका विषय र शैलीका पक्षका आफ्नो विचार प्रस्तुत गरेका थिए । मोहन बास्तोलाले सहजीकरण गरेको उक्त कार्यक्रममा धराबासीले समाजका यथार्थ पात्रहरुको जीवन्त घटना प्रस्तुत गरिएको विचार व्यक्त गर्दै यसमा प्रयोग र्इ-प्रविधि, सर्जरीजस्ता नयाँ प्रविधिले उपन्यासलाई नयाँ विषयोन्मुख बनाएको विचार व्यक्त गरे ।
त्यसैगरी उनले लेखक र पाठक तथा चरित्रलाई समेत संवाद गराएर उपन्यासभित्रै प्रस्तुत गरिएको उक्त उपन्यासमा उत्तरआधुनिक शैलीको प्रयोग गरिएको विचार प्रस्तुत गरे ।
मानवजीवनका विखण्डित र अपूर्णताहरुजस्तै उपन्यासमा पात्रका जीवनका रिक्ततालाई छाडिनु नवीन प्रवृत्ति भएको उहाँको टिप्पणी थियो । कुमारी लामाले यो उपन्यास नारीवादको वैचारिक दृष्टिले सबल भए पनि पुरुषप्रतिको परम्परागत समपर्णलाई परित्याग गर्न नसकेको धारणा व्यक्त पनि व्यक्त गरे ।
उनले नारीस्रष्टाका कलमबाट नारीका विचार तथा भावलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको विचारसमेत व्यक्त गरे । उपन्यासमा यस प्रकारको परम्परा आउनुमा लेखकीय कमजोरीभन्दा सामाजिक धरातलको दोष रहेको विचार धराबासीले अगाडि सारे ।
आर्थिकस्तर नउस्केसम्म अर्थात् आर्थिक रुपमा सक्षम नभएसम्म नारीहरु आत्मनिर्भर बन्न नसक्ने धारणा पनि उनले प्रस्तुत गरे । उपन्यासकार अर्यालले उपन्यासमा पात्रहरु स्वतन्त्र रहेकाले तिनीहरुको भूमिकाअनुसार आफ्नो चरित्र निर्माण गरेको विचार व्यक्त गरिन् ।
वर्तमान समयमा शून्यता, अपूर्णता र अस्थिरता रहेकाले एउटा उपन्यासमा व्यक्तिको समग्र पक्षलाई अटाउन नसकिने तथा रिक्तता पनि उत्तरआधुनिक शैली भएकाले उपन्यासमा उत्तरआधुनिक प्रवृत्तिलाई समाहित गरिएको भावसमेत उनले प्रस्तुत गरिन् ।
यस्तै नारीका उपन्यासहरुमा नै विद्यावारिधि अनुसन्धान गर्दै गरेकी अर्यालले नारीश्रष्टाका धेरैजसो उपन्यासहरु परम्परागत शैलीको भएकाले आफूले यसमा नयाँ प्रयोग गरेको विचार पनि प्रस्तुत गरिन् ।
गुञ्जनका अध्यक्ष पाठकले नारी साहित्यकारहरुको यस संस्थामार्फत् कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै पहिलो प्रयासमा नै यस प्रकारको सशक्त उपन्यास प्रकाशन गर्न सकेकोमा बधाइज्ञापन गरिन् । उक्त उपन्यास साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।