ताप्लेजुङमा बढ्दो फुटबलमोह
ताप्लेजुङ : जब पाथीभरा गोल्डकप सुरु हुन्छ, तब सदरमुकाम फुङ्लिङमा मानिसको चहलपहल बढ्न थाल्छ । फुङ्लिङ बजार नजिकै रहेको भानु माविको मैदानमा हुने खेलसँगै लाखेजात्राको मजा लिन गाउँगाउँ र बाहिरी जिल्लाबाट समेत दर्शक भित्रिन्छन् । १५ दिन सञ्चालन हुने जात्रा र १० दिन चल्ने फुटबलकै लागि समय छुट्याएर खेलप्रेमीहरू राष्ट्रिय तथा विदेशी खेलाडीको खेल हेर्न फुङ्लिङमा जम्मा हुन्छन् । उनीहरूको खेलकौशल हेर्छन् ।
बिहान बेलुका बजारमा मानिसको भीड लाग्छ भने दिउँसो सुनसान देखिन्छ । बजारबाट खेल मैदान पुग्ने आधा दर्जन बाटामा भने खेल हेर्न जानेको ताँती देखिन्छ । संघीय अभ्यासपछि सदरमुकाममा कम हुन थालेको चहलपहल फुटबल प्रतियोगिताका क्रममा ह्वात्तै वृद्धि हुन्छ ।
बजारका व्यापारीहरू पनि पसल बन्द गरेर फुटबल हेर्न निस्कन्छन् । बाँसको अस्थायी प्याराफिट र स्टेजमा समेत भरिभराउ हुने दर्शक व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे पर्छ । सिमसिम पानी वा चर्को घामको मौसममा रंगीच्रगी छाताको लोभलाग्दो दृश्य देखिन्छ ।
दूधे बालक काखमा च्यापेर बसेका महिलादेखि लट्ठीको सहारामा खेल हेर्न आएका वृद्धहरूको उपस्थिति र रूखमा चढेर खेलको अवलोकन गरेका दुर्लभ दृश्य साँच्चिकै मनमोहक हुन्छन् । ‘फुटबलमोह ताप्लेजुङमा धेरै छ’, झापा-११ का खेलाडी कर्ण लिम्बू भन्छन्, ‘यतिका धेरै दर्शकका सामु खेल्नुको मजै बेग्लै हुन्छ ।’
लिम्बूमात्र होइन, दुई वर्षअघि पहिलोपटक ताप्लेजुङमा खेल्न आएका राष्ट्रिय टोलीका मिडफिल्डर सुजल श्रेष्ठ पनि ताप्लेजुङको जति दर्शकको उपस्थिति र सम्मान अन्यत्र नपाएको बताउँछन् ।
अग्रज फुटबलर दिलीप राई पनि अन्य पहाडी जिल्लामा हुने प्रतियोगिताभन्दा ताप्लेजुङमा अत्यधिक दर्शक हुने बताउँछन् । बाजागाजासहित मैदानमा उपस्थित हुने दर्शक खेल अवधिभर पूरा जोशका साथ हुटिङ गर्छन् । ‘आफ्नो टिमलाई हौसला बढाउन दर्शकले प्रयोग गर्ने भाषा पनि सभ्य र शिष्ट छ’, रेफ्री श्याम दनुवार भन्छन्, ‘हिमालको काखमा आएर फुटबल खेलाउन पाउँदा गर्व महसुस हुन्छ ।’
लाखेजात्राका अवसरमा बर्सेनि खेलाइने फुटबल २०२९ सालदेखि खेलाउन थालिएको प्रतियोगिताको चर्चा पछिल्लो समय चुलिँदो छ । ‘उ बेला धान रोप्ने खेतझैं हिलाम्मे हुन्थ्यो’, पुराना खेलाडी यादव श्रेष्ठ सम्झन्छन्, ‘हिलोमा गोल हान्थे । खुट्टाले विपक्षी खेलाडीको खुट्टामा लाग्थ्यो । खेल्ने खेल्दै गर्थे, हिलो पसेर आँखा मिच्ने मिच्दै गर्थे ।’ अर्का खेलाडी दिलीप पतंवा विगतको स्मरण गर्दै भन्छन्, ‘हिलोमै बल गाडिन्थ्यो, टेक्निकलभन्दा बलले पेलेर खेलिन्थ्यो ।’ पतंवाका अनुसार दिनभरि फुटबल खेल्ने र बेलुकी लिम्बू समुदायको धाननाचमा जाने चलन थियो । ‘फुटबल राम्रो खेल्ने खेलाडी सोल्टिनीको नजरमा पर्थे’, उनले भने, ‘खेलाडीको खेलको चर्चा हुन्थ्यो भने सोल्टिनीको रूपको ।’
समय बदलिएको छ । तर, फुटबलमोह भने अहिले पनि उस्तै छ । गाउँका दर्शक पहिले पैदल हिँडेर प्रतियोगिता स्थल पुग्थे । अहिले गाडी चढेर । मैदानको स्तरोन्नति गरेर ग्रेड मिलाइएको छ । ‘अब हिलोमा खेल्नु पर्दैन’, पाथीभरा गोल्डकप सञ्चालन समितिका अध्यक्ष मोती पतंवा भन्छन्, ‘अझै पनि हाम्रो ध्यान खेल मैदानलाई स्तरीय बनाउनेमै छ ।’
सुरुमा देउमान मेमोरियल रनिङ कप र त्यसपछि कञ्चनजंघा च्यालेन्ज कप हुँदै अहिले पाथीभरा गोल्डकप भएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचार गर्ने उद्देश्यले पाथीभरा गोल्डकप नामकरण गरिएको समितिका सचिव लक्ष्मी काफ्ले बताउँछन् । आयोजकले पुरस्कार राशि पनि वृद्धि गर्दै लगेका छन् । यस वर्ष भदौ दोस्रो सातामा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगितामा नेपाल र भारतका गरी १० टोली सहभागी थिए ।
रेड स्टार क्लब झापाले उपाधिसहित तीन लाख नगद, दुई तोला सुन र पाँच किलो चाँदी जडित कप पुरस्कार पायो । खेल हेर्न आएका दर्शकले काटेको टिकटबाट मात्रै १४ लाखभन्दा बढी रकम संकलन भएको समितिका सहसचिव भूपेन गुरुङले बताए । फाइनलमा दुई सय, सेमिफाइनलमा एक सय ५० र अन्य खेलमा एक सय टिकट शुल्क राखिएको थियो ।
दर्शकले टिकट शुल्क महँगो र प्याराफिट साँघुरो भएको गुनासो गरेका छन् । ‘मुलुककै चर्चित क्लब र खेलाडीले आफ्नै घरआँगनमा फुटबल खेलेको प्रत्यक्ष हेर्ने रहर कसलाई नहोला र ? ’ स्थानीय नवीन सुब्बा भन्छन्, ‘टिकट शुल्क बढी भयो, शुल्कअनुसार खेलमैदान र बसेर हेर्ने ठाउँ भएन ।’ खेल सञ्चालनका लागि छुट्टै मैदान नहुँदा विद्यालयको मैदानमा भर पर्नु परेको जिल्ला फुटबल संघका महासचिव विश्व नाल्वो बताउँछन् ।
‘जिल्लाकै प्रतिष्ठासँग जोडिएको पाथीभरा गोल्डकपलाई सभ्य र उत्कृष्ट बनाउन पहिलो आवश्यकता नै व्यवस्थित खेल मैदान हो’, नाल्वोले भने, ‘रंगशाला निर्माणका लागि स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले ध्यान दिनुपर्छ ।’