लथालिंग संसदीय पुस्तकालय
काठमाडौं : संघीय संसद्को पुस्तकालयमा आइतबार दिउँसो राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले संविधान, ऐन वा कानुनको ड्राफ्टसम्बन्धी पुस्तक खोजे तर भेट्टाएनन् । उनले पुस्तकालय सहायकसँग आग्रह गरे, ‘उसो भए मलाई २००७ सालतिरको राजपत्र देखाउनुस् त ।’ सहायकको जवाफ आयो, ‘हामीसँग २०१६ सालपछिका राजपत्र मात्र छन् हजुर ।’
संसद् सचिवालयअन्तर्गत रहेको संसद्को पुस्तकालय कस्तो स्थितिमा छ यसैबाट प्रस्ट हुन्छ । देशको पुरानोमध्ये एउटा मानिने संसद् पुस्तकालयमा नेपालसम्बन्धी पुराना दस्तावेज नै नरहेको सांसदहरूको गुनासो छ । राष्ट्रियसभा मातहतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आइतबार पुस्तकालयको अनुगमन गर्दा लथालिंग पाएको हो । समितिको कार्यक्षेत्रमा ऐतिहासिक एवं महत्वपूर्ण दस्तावेज व्यवस्थापन गर्नु पनि पर्छ ।
‘२००४ सालको पहिलो संविधानदेखि अहिलेसम्मका सबै राजनीतिक दस्तावेज पुस्तकालयमा हुनुपर्छ’, समिति सदस्य अधिकारीले भने, ‘अन्तर्राष्ट्रिय सन्धि सम्झौता, संसद्बाट निर्मित कानुन संसद्कै लाइब्रेरीमा छैनन्, कता खोज्न जाने ? ’
संघीय संसद्को दोस्रो भवनको भुइँतलाभन्दा पनि मुनि अन्डरग्राउन्डमा पुस्तकालय राखिएको छ । पुस्तकालयका लागि ठाउँ पर्याप्त छैन । घाम र हावा नलाग्ने अँध्यारो, ओसिलो र साँघुरो ठाउँमा ऐतिहासिक दस्तावेज राख्दा पुस्तक सुरक्षित रहनेमा संसद् सचिवालयकै अधिकारी चिन्तित छन् । ‘पुस्तक बिगार्नु छ भने भुइँतलामा राख्नु भन्ने भनाइ नै छ, अहिले ठीक यस्तै भइरहेको छ । ऐतिहासिक दस्तावेजको सुरक्षा गर्न चुनौती नै भएको छ’, सचिवालयका एक अधिकारीले भने ।
यसअघि सोही भवनको दोस्रो तलामा व्यवस्थित पुस्तकालय केही साताअघि मात्र अन्डरग्राउन्डमा सारिएको हो । पहिले पुस्तकालय रहेको तलामा राष्ट्रियसभाका अध्यक्ष र सचिवको भव्य कार्यकक्ष बनाइएको छ । ‘पुस्तकालयमा २० हजार पुस्तक छन्, हामी व्यवस्थित गरिरहेका छौं’, पुस्तकालय सहायक कुसुम थापाले भनिन्, ‘कपुर राखेर पुस्तक सुरक्षा गर्ने काम भएको छ ।’ पुस्तकालयमा राजनीति, कानुन, साहित्य, जर्नललगायत विदेशी लेखकका पुस्तक रहेको उनले बताइन् ।
समिति सदस्य तथा राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले महत्वपूर्ण ऐतिहासिक दस्तावेज ओसिलो र अँध्यारो अन्डरग्राउन्डमा राखिनु उचित नभएको बताए । उनले भने, ‘पुस्तक पुराना भएकाले मक्किएका, बाहिर हेर्दा ठीक जस्ता देखिए पनि भित्र धुल्याहाले खाइसकेका होलान् । जाबो कपुर राखेर त्यस्ता पुस्तकको सुरक्षा हुन्छ भनेर कसरी पत्याउने ? ’
समिति सभापति रामनारायण बिडारीले आवश्यक सबै पुस्तक पुस्तकालयमा हुनुपर्नेमा जोड दिए । ‘आवश्यक पुस्तकहरू यहीं हुनुपर्छ, पुराना र ऐतिहासिक दस्तावेजको अभिलेखीकरण गर्नुपर्छ’, उनले भने । संसदीय समिति बनाएर वा अरू कुनै विधिबाट पुस्तकालय व्यवस्थित गर्न सांसदको जोड छ । ऐतिहासिक दस्तावेज र महत्वपूर्ण पुस्तकको सुरक्षा गर्न सरकारले ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।
संसद् पुस्तकालयको इतिहास
राजनीतिक परिवर्तनसँगै संसद् पुस्तकालयको नाम ५ पटक फेरिएको छ । २००९ सालमा रेकर्ड सेक्सनका रूपमा पुरानो संसद् भवनको ग्यालरी बैठकको माथिल्लो तलामा एउटा दराजबाट पुस्तकालय सुरु भएको थियो । त्यहाँ २ सय ५० जति कानुन र संविधानसम्बन्धी पुस्तक रहेको बताइन्छ । ‘त्यतिबेला बैठक सञ्चालन गर्दा कुनै समस्या भए दराजका पुस्तक हेर्ने प्रचलन थियो’, संघीय संसद्का उपसचिव इन्द्रविलास पौडेलले जानकारी दिए ।
उनका अनुसार २०१५ सालमा पहिलो पटक निर्वाचित संसद्ले त्यसलाई संसद् पुस्तकालय नामकरण ग¥यो । ‘त्यतिबेला मन्त्री र सांसदको प्रश्नोत्तरलगायत संसद् गतिविधिको रेकर्ड हामीसँग छ’, उनले भने । २०१७ साल पुस १ गते भएको राजनीतिक ‘कू’ सँगै पुस्तकालयको नाम पनि परिवर्तन भयो । संसद् पुस्तकालयको नाम फेरेर राष्ट्रिय पञ्चायत पुस्तकालय राखियो । त्यसपछि २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै पुस्तकालयको नाम संसद् पुस्तकालय नै बनाइयो । २०६२÷६३ सालपछि फेरि नाम फेरेर व्यवस्थापिका संसद् पुस्तकालय बनाइयो । संविधान जारी भएसँगै फेरि पुस्तकालयको नाम परिवर्तन गरी संघीय संसद् पुस्तकालय बनाइयो ।