अझै खुलेन मध्यपहाडी लोकमार्ग

अझै खुलेन मध्यपहाडी लोकमार्ग

 बागलुङ : बडिगाड र ढोरपाटन नगरपालिका सिमामा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको २ साताभन्दा बढी बितिसक्यो। सडक खुल्ने छेकछन्द अझै देखिएको छैन। दर्जनभन्दा बढी मन्त्री, सांसद र नेता त्यहाँ पुगेर अवलोकन गरी फर्किसकेका छन्। तर, सडक खुलाउने काममा सिन्को भाँचिएको छैन।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, भौतिक योजना मन्त्री रामशरण बस्नेत, संघीय सांसद तथा नेकपाका नेता देवेन्द्र पौडेल, प्रदेश सांसद चन्द्रबहादुर बुढा सागर, इन्द्रलाल सापकोटा, टेकबहादुर घर्तीलगायत दर्जनौ नेताले पहिरोस्थलको अवलोकन गरे। अवरुद्ध लोकमार्ग सुचारु गर्न पहल भएको छैन।

स्थानीय दिनेश पौडेलले भन्छन्, ‘मन्त्री, सांसद र नेता ओइरो लागेर मात्र केही हुँदैन, मुख्य कुरा विज्ञ बोलाएर ताल यथावत् राख्ने या मिलाएर फुटाउने र लोकमार्ग तत्काल खुलाउने विषयमा सरकारको ध्यान गएको छैन।’ चाडपर्व आगमन भएको र अर्को वैकल्पिक मार्ग भए पनि धेरै सकस र मनपरी भाँडा लिने गरेकाले यात्रुहरूले सास्ती खेप्न बाध्य भएको उनले बताए। पहिरो खस्दा बडिगाड खोला थुनिएर बनेको ताल जस्ताको तस्तै छ। ताल खुलाउन पहल भएको छैन।

अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड खुलाउन अझै करिब २ साता लाग्ने देखिएको छ। भदौ २९ गते राति जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेको तुरतुरेमा चट्टानसहित झरेको सुक्खा पहिरोले अवरुद्ध लोकमार्ग दसैं तिहारलगायत चाडबाड नजिकिएसँगै तत्काल खुलाउन स्थानीय बासिन्दाले माग गरेका छन्। अवरुद्ध लोकमार्ग जति सक्दो छिटो सुचारु गर्ने प्रयास जारी रहेको आयोजनाका डिभिजन इन्जिनियर रमेश दृष्टीले बताए। ‘हामी पहिरो पन्छाउने काममा सक्रिय छौं, नागरिकले पाएको सास्ती र चाडबाड नजिकिएकाले हामीलाई पनि दबाब छ’, उनले भने, ‘दसैं अगाडि सहज रूपमा सवारी आवागमन हुने गरी काम गरिरहेका छौं।’

पहिरो खसेर बडिगाड थुनिएपछि बनेको ताल। अन्नपूर्ण

चट्टानसहितको पहिरो भएका कारण पन्छाउन समय लागेको उनले बताए। ‘बिहानदेखि साँझसम्मै काममा लागेका छौं’, उनले भने, ‘चट्टानसहितको पहिरो झरेकाले काम अलि सुस्त चलिरहे जस्तो देखिन्छ। पहाड नै पहिरोको रूपमा झरेका कारण समय लागेको हो।’ अहिले दुईतिरबाट २÷२ वटा डोजरले काम गरिरहेको उनले सुनाए। ‘चारवटा मेसिन प्रयोग गरेर बुर्तिबाङ र भीमगिठे गरी दुवैतिरबाट काम गरिरहेका छौं’, उनले भने, ‘बीचमा विस्फोट गराएर फुटाउनुपर्ने खालको कडा चट्टान परेन भने दसैंसम्ममा सवारी आवागमन गर्ने गरी काम सम्पन्न गर्छौं।’

पहिरोका कारण १८ दिनदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध छ। पहिरोले बडिगाड खोला थुनिएर बनेको २ किलोमिटरभन्दा लामो ताल उस्तै छ। पहिरोले सडक अवरुद्ध भएपछि स्थानीय सास्ती खेप्न बाध्य छन्। पहिरोले बाटो छेकिएपछि बाटोमा २ घन्टा बढी समय लगाउनुपर्ने बाध्यता छ। तालका कारण डुबानमा परेको कुमाल बस्तीको अवस्था पनि उस्तै छ। लामो समयदेखि सडक अवरुद्ध हुँदा बुर्तिबाङलगायत क्षेत्रमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ।

स्थानीय तहको पहलमा वैकल्पिक सडक सञ्चालनमा आए पनि त्यसले स्थानीयलाई खासै राहत दिन सकेको छैन। पिकअप जिप र ट्र्याक्टरले सामान ओसारपसारका लागि मात्र वैकल्पिक सडक प्रयोग भएको छ। ठूला सवारीसाधन सञ्चाल गर्न अझै समस्या छ। घुमाउरो बाटोबाट सामान लैजानुपर्ने भएपछि बुर्तिबाङमा बजारमा तुलनात्मक रूपमा दैनिक उपभोग्य वस्तुको मूल्य सिन बढ्न थालेको छ।

बडिगाड गाउँपालिका—५ छिस हुँदै सिस्नेरी, दर्लिङखोला, निसीखोला गाउँपालिकाको राजकुत र देवीस्थान पुगेर ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारका लागि सवारीसाधन सञ्चालन हुन थाले पनि सवारी भाडा महँगो भएकाले स्थानीयले सवारीमा कम यात्रा गर्ने गरेको तमानखोला गाउँपालिकाका प्रमुख जोकलाल बुढाले बताए।

सडक विभागका उपमहानिर्देशक मुक्ति गौतम, क्षेत्रीय सडक निर्देशनालय पोखराका निर्देशक दीपक श्रेष्ठ, मध्यपहाडी लोकमार्ग आयोजनाका डिभिजन इन्जिनियर शुभराज न्यौपाने, रमेश दृष्टी, जयराम यादव, मेकानिकल डिभिजन इन्जिनियर महेशकुमार इसारलगायतको टोलीले पहिरो अवलोकन गरी घटस्थापना अगावै सडक सञ्चालमा ल्याउने प्रतिबद्धता जनाएका छन्।

 

१.तुरतुरेमा खसेको पहिरोले अवरुद्ध लोकमार्ग पार गर्ने क्रममा स्थानीय

२.पहिरो खसेर बडिगाड थुनिएपछि बनेको ताल। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.