गाउँपालिकाको आफ्नै भवनबाट सेवा सुरु
बैतडी : बैतडीका दुई स्थानीय तहले आफ्नै भवन निर्माण गरेका छन्। जिल्लाको शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकाले आफ्नै भवन निर्माण गरेका हुन्। सिगास गाउँपालिकाको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने शिवनाथ गाउँपालिकाले सोमबारदेखि नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ।
४० लाखको लागतमा दुईकोठा र एक सभाहलसहितको भवन निर्माण गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए। उनले भने, 'गाउँपालिकाको केन्द्र प्रस्ताव गरिएको ठाउँ सुल्लेखानमा सरकारी भवन नभएकाले गाउँसभाबाट भवन निर्माण गर्ने निर्णयअनुसार भवन निर्माण गरिएको हो।'
गाउँपालिकाको आफ्नै भवन निर्माण भएपछि सेवा दिन सजिलो भएको अध्यक्ष साउँदले बताए। उनले भने, 'गाउँपालिकाको भवन नहुँदा हामीलाई धेरै समस्या भएको थियो। सुल्लेखानमा भाडामा लिनका लागि समेत भवन मिलेको थिएन्। हामीले सानो कोठामा कार्यालय सञ्चालन गरेका थियौं। भवन बनेपछि अब सेवाग्राहीलाई पनि सजिलो भयो, हामीलाई पनि सजिलो भयो।'
गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेपछि सेवाग्राही पनि खुसी भएका छन्। 'कार्यालय भवनको अभावमा सेवा दिन साह्रै गाह्रो थियो। 'हामीले नयाँ भवनबाट सेवा शुरु गरेपछि सेवाग्राही पनि खुसी भएका छन्।गाउँपालिकाका नायब सुब्बा बिरसिंह महताले भने।
यस्तै सिगास गाउँपालिकाको केन्द्र तोकिएको ठाउँ गर्जेमा पनि भवन निमार्ण हुँदैछ।गाउँपालिकाको १० कोठे भवन ९९ लाखको लागतमा निर्माण भइरहेको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले बताइन्। उनले भनिन् ' निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। भवन निर्माण भएपछि हामी आफ्नै भवनबाट सेवा दिन्छौं।'
जिल्लाको दशरथचन्द नगरपालिकासँग मात्रै आफ्नो भवन रहेको छ। अन्य ७ स्थानीय तहले भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका छन्। शिवनाथ र सिगासले नयाँ भवन बनाएपछि अब सातओटा स्थानीय तहमात्रै आफ्नो भवन नभएका छन्। भवन नभएका स्थानीय तहमध्ये केहीले विद्यालयका भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेका छन् भने केहीले भाडामा भवन लिएर कार्यालय सञ्चालन गरिरहेका छन्।
अस्थायी प्रहरीचौकी स्थापना
जिल्लाको शिवनाथ गाउँपालिकामा अस्थायी प्रहरीचौकी स्थापना भएको छ।गाउँपालिकाको लामो समयको प्रयासपछि अस्थायी प्रहरीचौकी स्थापना भएको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन्। उनले भनिन् 'शिवनाथ गाउँपालिकाअन्तर्गत कुनै पनि प्रहरीपोष्ट थिएन्। विभिन्न कामका लागि मेलौली धाउनुपथ्र्यो। गाउँपालिकामै प्रहरीचौकी स्थापना भएपछि अब सजिलो हुने भएको छ।'
प्रहरी नायव निरीक्षकको नेतृत्वमा शिवनाथ गाउँपालिकामा अस्थायी प्रहरीचौकी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। उनले भने, 'गाउँपालिकको विशेष आग्रहमा प्रहरीचौकी स्थापना भएको हो।
प्रहरीचौकी स्थापना भएपछि गाउँपालिकामा हुन सक्ने विभिन्न अपराधिक गतिविधि रोक्न सहयोग मिल्नेछ।' गाउँपालिकामा प्रहरीचौकी स्थापना भएसँगै केही दिनमै बैंक पनि सञ्चालनमा आउने गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए।उनले भने, 'बैंक सञ्चालनमा सुरक्षाको प्रश्न पनि आएको थियो। प्रहरीचौकी स्थापना भएपछि अब हामीलाई पनि सजिलो हुने भएको छ।'
प्रहरीचौकी स्थापना भएपछि न्यायिक समितिले सम्पादन गर्ने काममा समेत सजिलो हुने न्यायिक समिति संयोजक एवं गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताइन्। उनले भनिन् 'न्यायिक समितिमा आउने मुद्दा किनारा लगाउन प्रहरीको सहयोग पनि आवश्यक छ। गाउँपालिकामा प्रहरीचौकी स्थापना भएपछि अब सजिलो भएको छ।'
शिवनाथमा अस्थायी प्रहरीचौकी स्थापना भएसँगै जिल्लामा प्रहरीचौकीको संख्या २४ पुगेको प्रहरी निरीक्षक सिंहले बताए। जिल्लामा प्रहरीचौकी २१, अस्थायी प्रहरीचौकी ३ वटा, इलाका प्रहरी कार्यालय २वटा रहेको उनले बताए।