नक्कली कागजात प्रयोग गरी जग्गा कब्जा गर्ने प्रहरीको फन्दामा
राजविराज : नक्कली कागजात प्रयोग गरी अर्काको जग्गा कब्जा गर्ने एकजना प्रहरीको फन्दामा परेका छन्।सरकारी छाप किर्ते गरी वर्षौदेखि नक्कली कागजात तयार गर्ने काममा संलग्न सप्तरीको कञ्चनरुप नगरपालिका-११ गोरपार कुजराहीका ३१ वर्षीय मो. सल्लम शेख पक्राउ परेका हुन्।
सरकारी छाप दस्तखत किर्तेको उजुरी दर्ता भएपनि ६ महिनादेखि फरार रहेका शेखलाई राजबिराजबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए। सोही ठाउँका ललिजा खातुन र इसुफ मियाँले आफ्नो जग्गा कब्जा गरी खेती गर्न नदिएको भन्दै शेखविरुद्ध गत फागुन १७ गते कञ्चनरुप नगरपालिका- ११ वडा कार्यालयमा निवेदन दिएका थिए। सोही बेला ऐलानीसमेत अन्य व्यक्तिको जग्गा आफ्नो बनाउन वडा कार्यालय पुगेका शेखको वडाअध्यक्ष मो. जिबरिलसँग विवाद पर्दा शेखको पोल खुलेको थियो।
पीडितले शेखविरुद्ध निवेदन दिएकोबारे थाहा पाएका वडाअध्यक्ष जिबरिलले शेखद्वारा सिफारिसका लागि पेश गरिएको फाइल बुझेर मात्र सिफारिस गर्ने बताएपछि शेखसँग विवाद भएको थियो। सिफारिस नगरेको भन्दै गालीगलौज गर्न थालेपछि शेखलाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेपनि तत्कालै छुटेका थिए।
शेखले लगेका विभिन्न जग्गाको फाइल बुझ्दा अन्य व्यक्तिकै रहेको पत्ता लागेको छ। उनले साविक ठेलिया गाविसको वडा नम्बर ८ (क) को कित्ता नम्बर ११८ को पाँच कठ्ठा ६ धुर, कित्ता नम्बर १२४ को एक कठ्ठा दुई धुर, कित्ता नम्बर २४२ को एक कठ्ठा चार धुर, कित्ता नम्बर २५२ को एक कट्ठा १२ धुर, कित्ता नम्बर २५३ को दुई कट्ठा १४ धुर, कित्ता नम्बर २५७ को १० कठ्ठा दुई धुर, कित्ता नम्बर २५८ को एक कट्ठा दुई धुर र कित्ता नम्बर ७३९ को एक कट्ठा चार धुर जग्गाको फाइल तयार गरेका थिए। यीमध्ये कित्ता नम्बर ७३९ मात्र शेखको नाममा प्रमाणित भएको मालपोत कार्यालयबाट देखिएको छ।
मालपोत कार्यालयको स्टाम्प (छाप) समेत कोठामा राखी विभिन्न किसिमको सरकारी कागजपत्र किर्ते गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले गत फागुन २५ गते शेखको घर खानतलासी गरेको थियो।
उनको घरबाट विभिन्न व्यक्तिको जग्गाधनी दर्ता प्रमाण पत्र, जग्गा रजिष्ट्रेसन, लिखत कागज, नागरिकताको अनुसूची फारम, नागरिकताको प्रमाण पत्र, प्रतिलिपी, सक्कल जन्मदर्ता प्रमाणपत्र, फोटोसहितको मतदाता नामावली, जन्मदर्ता प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र, मृत्यु दर्ताको प्रमाण पत्र, बसाइसराइ दर्ताको प्रमाण पत्रलगायतका खाली प्याड बरामद गरेको थियो।