धोबीघाटमा ढल प्रशोधन केन्द्र बन्दै
ललितपुर : धोबीघाटमा ढल प्रशोधन केन्द्र निर्माण हुने भएको छ। ललितपुर महानगरपालिकाको धोबीघाटस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को स्वामित्वमा रहेको पाँच सय ८१ रोपनी जग्गामा केन्द्र निर्माण हुन लागेको छ। त्यसका लागि एक अर्ब १७ करोड लागत लाग्नेछ। वातावरणीय प्रभाव र प्रदूषणको प्रश्न उठाउँदै परियोजनामा स्थानीयले भने विरोध जनाएका छन्।
एसियाली विकास बैंक (एडीबी)को ५८ प्रतिशत, ओपेक फन्ड १२ र काठमाडांै उपत्यका फोहोर पानी व्यवस्थापन आयोजना (पीआईडी) को ३० प्रतिशत लागतमा आयोजना सुरु हुन लागेको हो। सन् २०२० सम्ममा मेलम्ची फेज–१ आइसक्ने र दैनिक १२ देखि १८ करोड पानी बाँड्दै गरेको केयूकेएलले त्यसपछि थप १७ करोड लिटर पानी बाँड्ने पीआईडीका आयोजना प्रबन्धक सुरतकुमार बमले बताए। त्यसपछि दैनिक २३ करोड लिटर फोहोर पानी जम्मा हुन्छ।
यसले नदीलाई झनै दूषित बनाउँछ। सीधै नदीमा ढल पठाउँदा इकोलोजिकल सिस्टम मृत अवस्थामा रहेको र माछा, भ्यागुता जस्ता जीव बाँच्न नसकेको उनको भनाइ छ। त्यसैले ढल प्रशोधन गरेर सफा भएको पानी मात्रै नदीमा पठाउने तयारी गरिएको हो।
गुह्येश्वरीमा यस्तै परियोजना सञ्चालन भइरहेको छ। यहाँ सन् २०२० सम्ममा दैनिक ३ करोड २४ लाख फोहोरपानी संकलन हुन्छ। सल्लाघारीमा १ करोड ४२ लाख लिटर, बालकुमारी १ करोड ७५ लाख, धोबीघाट ७ करोड ४० लाख लिटर फोहोर जम्मा हुनेछ। अन्य साना परियोजना पनि सञ्चालनमा छन्।
धोबीघाटमा रहेको परियोजना सबैभन्दा ठूलो हो। २०३२ सालमा सरकारले अधिग्रहण गरेको यस जग्गाको प्रतिरोपनी ६ हजार रुपैयाँ तिरेको बमको भनाइ छ। परियोजना सञ्चालनका लागि स्थानीयसँग १७ पटक छलफल गरिसकेको उनले बताए। ‘प्रतिसेकेन्ड ८ सय ५६ लिटर पानी प्रशोधन केन्द्रमा भित्रिन्छ र ८ सय लिटर पानी प्रशोधन भएर नदीमा पठाउन सकिन्छ’, उनले भने।
प्रशोधन प्रक्रिया पूर्ण रूपमा बन्द संरचनाभित्र हुन्छ। बायोलोजिक प्रक्रियाबाट गन्हाउने ग्यास (हाइट्रोजन सल्फाइड)लाई प्रि–प्राइमरी र सेकेन्डरी प्रशोधन माध्यमबाट गन्ध नआउने इकाइमा (डिअर्डराइजेसन)मा परिणत गरिन्छ।
केन्द्रको चिनियाँ कम्पनीले डिजाइन गरिरहेको र कोरियन कम्पनी ‘दोहा इन्जिनियरिङ’ले निर्माण गर्ने बताइएको छ। दुई वर्षमा निर्माण सम्पन्न गर्ने र त्यसपछि पाँच वर्ष उसैले सञ्चालन गर्नेछ।
‘स्थानीयलाई कुनै नराम्रो असर परेमा कुनै पनि बेला बन्द हुन सक्छ’, बमले भने। यहाँ घुम्ने ठाउँ तथा सिकाइ केन्द्र पनि बनाउन चाहेको उनले बताए। आफूले यस्तै प्रकारको गुह्येश्वरीको परियोजना अवलोकन गरेर आएको र त्यहाँ कुनै दुर्गन्ध नआएको ललितपुर–४ की महिला सदस्य एलिसा महर्जनको भनाइ छ। ‘यो योजना राम्रो रहेछ’, उनले भनिन्।
यो योजनाले स्थानीयको स्वास्थ्यमा असर गर्न सक्ने र वातावरण प्रतिकूल हुन सक्ने भन्दै स्थानीय सहमतिमा नआएको अफलडोल वातावरण संरक्षण समितिका संयोजक रोशन खड्काले बताए। ‘पीआईडीका प्रतिनिधिसँग वातावरण प्रभाव मूल्यांकन आईआईई तथा ईआईए रिपोर्ट मागिरहेका छौं’, खड्काले भने, ‘स्थानीय विकासविरोधी होइनन्। तर सरकारले वातावरण नबिग्रिने कुरामा सुनिश्चित गराउन सक्नुपर्छ भन्ने हाम्रो भनाइ हो।’ ललितपुर–४ का अध्यक्ष नारायण केसीले परियोजना उत्कृष्ट खालको भएकाले वातावरणीय प्रभाव नपर्ने तर्क गरे।