छतले किच्ने त्रासमा पढाइ
राजविराज : सप्तरीको राजविराजस्थित एक विद्यालयका विद्यार्थी ब्ल्याकबोर्ड होइन, छत हेरेर पढ्छन्। केसो अनिरुद्धवती माविको जीर्ण भवनले ज्यानै लैजान्छ कि भन्ने डरका साथ पढ्ने गरेको विद्यार्थी बताउँछन्।
यो विद्यालयमा करिब ८ सय विद्यार्थी पढछन् भने २५ शिक्षक र तीन जना कर्मचारी छन्। शिक्षकले पनि बेला–बेला छततर्फ हेर्दै पढाउने गरेको कक्षा ९ का विद्यार्थी सुस्मिता चौधरीको भनाइ छ। पानी पर्दा त झनै डर लाग्ने गरेको सुनाउँदै उनले भनिन्, ‘ब्ल्याकबोर्ड होइन, छत हेरेर पढ्नुुपर्छ।’
डराई–डराई छोराछोरीलाई पढ्न पठाउनुपरेको अभिभावक रामजी साहले सुनाए। ‘कक्षाकोठाको जीर्ण अवस्थाका कारण विद्यार्थीले त्रासका बीच कसरी पढछन् ? ’, उनले प्रश्न गरे। धेरै भूकम्प झेलेको भवन पुरानो भए पनि मर्मत नहुँदा जोखिम रहेको प्रधानाध्यापक फुलेश्वर मण्डलले बताए। विद्यालयको छत फेर्न ६४ लाख रुपैयाँको स्टमेटसहित सहरी विकास तथा भवन डिभिजन, जिल्ला प्रशासन, जिसस, राजविराज नगरपालिका र तत्कालीन जिल्ला शिक्षा कार्यालयमा निवेदन दिए पनि वास्ता नगरिएको उनको भनाइ छ।
कक्षाकोठा र बरन्डाको छतका पाप्रा निरन्तर झर्ने क्रममा रहेकाले विद्यार्थीसँगै शिक्षक र कर्मचारीमा त्रास बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र बर्माले बताए। ‘पाँचवटा कक्षाकोठा र दैनिक काम हुने एउटा कार्यालय कोठा अत्यन्त जीर्ण भएकाले कुनै पनि बेला दुर्घटना हुन सक्छ’, उनले भने। पटक–पटक सम्बन्धित निकायमा बजेट माग गरिएपनि सहयोग नपाएकाले त्रासमै पठनपाठन सञ्चालन गर्नुपरेको उनको भनाइ छ।
उनका अनुसार जग्गादाता पनि भवनको अवस्थाले खिन्न छन्। समाजसेवी रुद्रनारायण सिंहले ३७ बिघा जमिन निःशुल्क उपलब्ध गराएपछि ६६ वर्षअघि विद्यालय भवन निर्माण भएको थियो। विद्यालय जोखिमपूर्ण अवस्थामा पुगेकामा सिंहका छोरा महामायाप्रसाद सिंहले चिन्ता व्यक्त गरे।
यही पढेर संघीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधि भए पनि कसैको ध्यान नपुगेको शिक्षक विश्वनाथ भदेसवार यादवले बताए। ‘सांसद र प्रदेशसभा सदस्यले विद्यालय निरीक्षण गरेपछि बनाउने आश्वासन पनि दिए तर अवस्था उस्तै छ’, उनले भने।