मापसे गर्ने सवारी चलाकले परीक्षा दिनुपर्ने, पास नभए कागजपत्र र सवारी फिर्ता नहुने

मापसे गर्ने सवारी चलाकले परीक्षा दिनुपर्ने, पास नभए कागजपत्र र सवारी फिर्ता नहुने

विराटनगर :  मोरङ प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा सचेतना परीक्षा दिनुपर्ने नियम लागू गरेको छ।चालकसँग परीक्षा लिनका लागि त्यहीअनुरुपको प्रविधिको पनि विकास गरिएको मोरङ प्रहरीले जनाएको छ।मापसे गर्ने चालकले परीक्षा दिनुपर्ने नियम बनाएर लागू गरिएको यो पहिलो पटक हो।

परीक्षा पास गरेपछि मात्रै चालकले सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लु बुक समेतका कागजपत्र र सवारी साधन फिर्ता पाउने छन्। मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटना बढेपछि थप कडाई थालिएको मोरङ ट्राफिक प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए। 'चालकले मादक पदार्थ सेवन गरे नगरेको विषयमा ब्रेथलाइजरमार्फत चेकजाँच गरिने छ', उनले भने, 'मापसे गरेको पाइएमा साथमा भएका कागजपत्र र सवारी साधन नियन्त्रणमा लिएर चालकलाई पूर्जी दिइने छ।'

त्यही पूर्जी र पूर्जीमा उल्लेख भएको नम्बरका आधारमा मात्रै मापसेले परीक्षामा सहभागी हुन पाउने छन्। यस अघि मापसे गरेर सवारी साधन चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना र सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा प्वाल पार्नेजस्ता कारबाही गर्दै आएको थियो।

उनका अनुसार परीक्षा दिएर मात्रै हुँदैन।चालकले अनिवार्य रुपमा परीक्षामा पास पनि हुनैपर्छ। पास नभएसम्म कागजपत्र र सवारी साधन प्रहरीकै नियन्त्रणमा हुने र चालकले फिर्ता लैजान नपाउने पोखरेलको भनाइ छ। 

मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले मापसे गर्ने चालकलाई लक्षित गरेर प्रत्येक दिन ९ बजेबाट जिल्ला प्रहरी कार्यालयमा परीक्षा संचालन गरिने जानकारी दिए। चालकले परीक्षा दिन एक घण्टाभन्दा बढी समय खर्चनुपर्नेछ। प्रहरी कार्यालयमा लिइने परीक्षामा उपस्थित हुन नभ्याउने चालकलाई अनलाइनबाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले बताए।

केसीले चालकले 'मोरङ पुलिस डट कम' मा गएर अनलाइनमार्फत परीक्षा दिनुपर्ने बताए। ट्राफिक प्रहरीले दिएको पूर्जीको नम्बर हालिसकेपछि मात्रै मापसे गर्ने चालकले अनलाइनमार्फत परीक्षा दिन सक्ने प्रविधिको विकास गरिएको उनको भनाइ छ ।

उनले अनलाइनमार्फत परीक्षा दिने चालक परीक्षामा पास भए नभएको बारेमा अनलाइनले नै स्पष्ट गरिदिने बताए।  त्यसका लागि चारवटा छुट्टाछुट्टै खण्ड भएको परीक्षा प्रणालीको विकास गरिएको जानकारी एसपी केसीले दिए। 'प्रत्येक खण्डमा ट्राफिक नियम उल्लंघन, ट्राफिक नियमको पालना र कानुनसँग सम्बन्धित विषय समेटिएका १५ देखि २० वटा प्रश्न हुन्छन्', उनले भने, 'पास हुनका लागि प्रत्येक खण्डमा ८० प्रतिशत अंक ल्याउनै पर्छ।'

उनले आवश्यकता अनुसार प्रश्नहरु परिवर्तन गरिँदै जाने पनि बताए। परीक्षा पास भएपछि ट्राफिक नियम अनुसार अन्य कारबाही गरेर मात्रै कागजपत्र र सवारी साधन छाड्न सकिने केसीको भनाइ छ। परीक्षा नदिने  र पास नहुने चालकलाई अन्य कारबाही मात्रै गरेर छाड्न सकिने अवस्था अब नरहने जानकारी दिँदै उनले भने, 'अब मापसे कारबाहीले साना ठूला व्यक्ति भनेर छुट्याउँदैन। मापसे गर्ने सबै चालकलाई कानुनी कारबाहीको दायरामा ल्याइने छ।'
 
परीक्षामा सहभागी हुने चालकको फोटोदेखि लिएर भिडियो रेकर्डिङ समेत हुने भएका कारण अरु व्यक्तिले आएर उसका नाममा परीक्षा दिने सम्भावना नरहने केसीले स्पष्ट पारे। 'चालकसँग ट्राफिक प्रहरीले थमाएको पूर्जी हुन्छ। ट्राफिक चेकजाँचकै क्रममा मोरङ प्रहरीको 'एप्सले' तत्काल फोटो र भिडियो खिच्ने गरीको 'सफ्टवेयर' तयार पारिएको छ,' उनले भने, 'स्वयं चालकले परीक्षा दिए नदिएको भनेर छुट्याउने काममा पनि प्रविधिकै प्रयोग हुन्छ।त्यही भएर मापसे गर्ने चालकले दिनुपर्ने परीक्षा अर्कोले दिने सम्भावना नै रहँदैन।'

केसीले अनलाइन पद्धतीबाट परीक्षा दिने क्रममा पनि सम्बन्धित व्यक्तिको भिडियो खिच्ने र रेकर्डिङ गर्ने तथा एउटाको परीक्षा अर्कोले दिन खोजेमा अनलाइनले त्यसलाई स्वीकार नगर्ने जानकारी दिए। 

'कसैले मापसे गरेर सवारी चलाएमा परीक्षा नदिइकन उम्किनै पाउँदैनन्,' उनले भने, 'प्रविधिलाई कसैले झुक्याउन सक्ने सम्भावना पनि हुँदैन।' चालकका सबै कागज पत्र र सवारी साधन प्रहरीको नियन्त्रणमा हुने भएकाले पनि प्राप्त गर्नका लागि परीक्षा दिएर पास हुनै पर्ने उनको भनाइ छ। एसपी केसीले लाइसेन्स नभएका व्यक्तिलाई कुदाउन दिएका बेला चालकले मापसे गरेको पाइएमा सवारी धनीलाई समेत कारबाही गरिने बताए।

उनले पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि मापसे गर्ने चालकलाई लिने परीक्षा प्रणाली प्रभावकारी हुने दावी गरे। 'पछिल्लो समय अत्यधिक मादक पदार्थ सेवनकै कारण दुर्घटना बढेको पाइयो,' उनले भने, 'चालकलाई दुःख दिने नियत नभइकन मादक पदार्थ सेवन गरेर सवारी चलाउन निरुत्साहित गर्ने मुख्य उदेश्य हो।'

केसीले मापसे गरेर सवारी चलाउँदा दुर्घटना हुने र त्यसले मानवीय तथा भौतिक क्षति गराउने विषयमा धेरै सचेतनामुलक कार्यक्रम गरिए पनि मापसे गर्ने चालकको संख्यामा कमि नआएपछि प्रहरी थप कडा रुपमा प्रस्तुत हुनुपरेको बताए।

साउन यता मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका छन्। ८० प्रतिशत दुर्घटना चालकले मापसे गरेकै कारण भएको पाइएको जानकारी केसीले दिए। दुर्घटनामा परेर साउनयता मात्रै मोरङमा १७ जनाको मृत्यु भएको छ।दुई जना अंगभंग भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.