‘जुत्ता लगाऊ, लाइसेन्स जोगाऊ !’
बिर्तामोड : चाडवाडको बेला दुर्घट्ना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारी चालकहरुलाई दुर्घट्नाबाट बच्न सचेत गराउन थालेको छ । सवारी चालक तथा व्यवसायीको एक भेला नै आयोजना गरी ट्राफिक प्रहरीले सचेत गराएको हो ।
सवारी चलाउँदा जुत्ता अनिवार्य गर्न जिल्ला ट्राफिक प्रहरीले जोड दिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले चालक र व्यवसायीलाई चेतावनीपूर्ण तरिकाले भने, ‘जुत्ता नलगाए लाइसेन्स जाला !’
चेकजाँचमा कडाई, मापसे जाँच, ट्राफिक नियमको पालना लगायतको काम ट्राफिकले गरिरहेको भन्दै अब चालकले जुत्ता लगाए–नलगाएको पनि चेक जाँच गर्ने राईले बताए ।
यससँगै दुर्घट्ना कम गर्न झापामा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । चालक र व्यवसायीलाई भेला डाकेरै यस्तो जानकारी गराइएको हो । चप्पल मात्रै लगाएर सवारी हाँकेको भेटेमा लाईसेन्स नै खारेज गर्नसक्ने वा जरिवाना गर्नसक्ने ट्राफिक प्रमुख राईले बताए ।
दशैं, तिहारजस्ता चाडपर्वका बेला दुर्घट्नाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको राईको भनाइ छ । ‘चालकले जुत्ता लगाउनै पर्ने नयाँ नियम जस्तो लागे पनि यो पुरानै र दुर्घटना घटाउने व्यवहारिक नियम हो,’ प्रमुख राईले भने ‘भइरहेको सरकारी निर्देशिकालाई कार्यान्वयनमा ल्याउने हाम्रो प्रयास हो ।’ सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ ।
जिल्ला ट्राफिक प्रहरीका अनुसार धेरैजसो दुर्घट्ना चप्पल लगाएर सवारी चलाउँदा ब्रेक र क्लचबाट खुट्टा चिप्लिएर हुने गरेको पाइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाले यो नियम लागू गर्दा दुर्घट्ना न्यूनिकरणमा सघाउ पु¥याउने बताएका छन् ।
बसपार्कमा यात्रु सहायता कक्ष
दशैं–तिहारमा यात्रुको चाप र सुरक्षालाई मध्यनजर गर्दै बिर्तामोडस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बुधबार झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले एक कार्यक्रमबीच सहायता कक्षको उद्घाटन गरेका हुन् ।
सहायता कक्षमा ६ जनपद प्रहरी र २ ट्राफिक प्रहरी रहने छन् । इप्रका झापाका अनुसार यहाँ रहने प्रहरीले सकेसम्म धेरै यात्रुको गुनासो सुन्ने र सहायता गर्नेछन् । सहायता कक्ष चाडपर्व भरी सञ्चालनमा रहने बताइएको छ।