कैदी बन्दी हँसाउन कारागार पस्यो सिस्नुपानी नेपाल
काठमाडौँ : हास्यव्यङ्ग्य शैलीलाई प्रस्तुतिको माध्यम बनाएर विभिन्न अभियान चलाइरहेको सिस्नुपानी नेपालले देशभरका कारागारमा हास्यव्यङ्ग्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ ।
कैदीबन्दीको मानवअधिकार प्रवर्द्धन गर्ने मूलध्येयसहित कैदीहरूको आत्मग्लानि, प्रतिशोधको भावना हटाएर उनीहरूको जीवनमा सकारात्मक सोच र उत्साह ल्याउन सिस्नुपानी नेपालले कारागार–यात्रा थालेको हो ।
कैदीबन्दीलाई विभिन्न किसिमको मनोरञ्जनात्मक खुराक पस्कने मात्र होइन, कैद मुक्त भएपछि कसरी नयाँ जीवन सुरु गर्ने भन्नेसम्मको सन्देश बोकेर सिस्नुपानी नेपालले यो अभियान सुरु गरेको हो ।
यस अभियान अन्तर्गत यही असोज १३ गतेदेखि १६ सम्म प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विराटनगरको मोरङ कारागार, झापाको चन्द्र गढी कारागार, सुनसरीको झुम्का कारागार र उदयपुरको गाईघाट कारागारमा कार्यक्रमहरू सम्पन्न भएका छन् ।
प्रदेश नं १ सरकारका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीले विराटनगर कारागारमा उद्घाटन गरेको कार्यक्रम महिला तथा पुरुष कैदी बन्दीहरूका लागि छुट्टाछुट्टै चार कारागारमा ७ वटा कार्यक्रम सम्पन्न गर्यो ।
सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे र महासचिव टङ्क आचार्यका व्यङ्ग्य कविता, उपाध्यक्ष मनोज गजुरेलको व्यङ्ग्य प्रहसन, गायक शिशिर योगीका गीत, योग गुरु सुवास बडालको योग, ध्यान तथा स्वास्थ्य परामर्श, इन्सेकका प्रदेश नं. १ प्रमुख सोम थापाको मानवअधिकार मन्तव्यसहित सञ्चालन भएका कार्यक्रममा कैदी बन्दीका गीत, प्रहसन, कविता र नृत्यहरूको प्रस्तुतिले कार्यक्रमलाई अत्यन्तै रोचक र भव्य भएका थिए ।
कार्यक्रमहरूमा प्रदेश नं. १ का प्रमुख सचिव केदार न्यौपाने लगायत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेशका सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू, मेयरहरू, कारागार कर्मचारी तथा सुरक्षाकर्मीहरू तथा पत्रकारहरूको समेत सहभागिता रहेको थियो । पहिलो चरणको यस कार्यक्रमले करिब पैँतिस सय कैदीबन्दीहरूलाई समेटेको थियो ।
बन्दी जीवनमा उत्पन्न हुन सक्ने निराशा, आत्मग्लानि र प्रतिशोधको भावना हटाएर उनीहरूमा कसरी उत्साह, ऊर्जा र सकारात्मक भाव जगाउन सकिन्छ भनेर कैदीबन्दीलाई स्वास्थ्य जीवनशैलीको अभ्यास गराइएको थियो ।
योग, ध्यान आदिलाई कैदीहरूले आफ्नो दिनचर्यामा सामेल गराउन जोड दिँदै कारागार जीवन मुक्त भएपछि पनि सकारात्मक सोचका साथ नयाँ जीवन प्रारम्भ गराउने यस कार्यक्रमको उद्देश्य रहेको छ ।