बिनाबर्दी नेपाल छिरेका भारतीय प्रहरी स्थानीयको प्रतिकारपछि फर्किए
इलाम : गोर्खाल्याण्ड आन्दोलनका क्रममा झुट्टा मुद्दा लगाइएपछि भारत छोडेर सीमावर्ती क्षेत्रमा बसेका नेपाली भाषी भारतीयलाई खोज्ने नाममा नेपाल प्रवेश गरेका भारतीय सुरक्षाकर्मीको स्थानीयवासीले प्रतिकार गरेका छन्। सूर्योदय नगरपालिकाको छिपिटार पुगेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले फर्काइदिएका हुन्।
मिरिकमा स्थायी बसोबास तर फिक्कलमा व्यवसाय गरी बस्ने परिवारलाई पक्राउ गर्न आएका दुई गाडी भारतीय सुरक्षाकर्मीलाई स्थानीयवासीले प्रमाण लिएर मात्र पक्राउ गर्न भनेपनि भारतीय प्रहरीको टोली फर्किएको हो।
भारतीय सुरक्षाकार्मीले सीमावर्ती पशुपतिनगरको इलाका प्रहरी कार्यालयलाई जानकारी गराएर नेपाल प्रवेश गराएको भन्दै गोर्खा जनमुक्ति मोर्चाकी सदस्य भएको आरोपमा एक महिलालाई पक्राउको प्रयास गरेको थियो। स्थानीयको चर्को दवाबपछि भारतीय प्रहरी पछि हटेको थियो।
प्रहरी चौकी फिक्कलका इन्चार्ज शम्भु बस्नेतले भारतीय प्रहरीको टोली छिपिटार आएर भारतीय नागरिक पक्राउ गर्न प्रयास गरेको बताए। उनले भारतलाई आफ्नो नागरिक पक्राउको अधिकार रहेको भन्दै भारतीय सुरक्षाकर्मीको बचाउ गरे। उनले भने 'हामी पनि हाम्रा नागरिक उता भएको बेला यसै गर्छौँ, यस विषयमा कुरा नगरौँ।'
ममता बनर्जी सरकारले १०५ दिने गोर्खाल्याण्ड आन्दोलनपछि आफ्नो पक्षमा नरहेका नागरिकलाई खोजीखोजी मुद्दा लगाउँदै आएको छ। गोर्खा जनमुक्ति मोर्चाले सञ्चालन गरेको आन्दोलनमा १२ जनाको मृत्यु, सयौँ घाइते र करिब १० हजार विस्थापित भएका थिए।
मोर्चाका कमाण्डर विमल गुरुङलाई अपदस्त गरेर मोर्चाकै विद्रोही विनय तामाङलाई गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ (जिटिए) प्रमुख बनाएपछि विनयको समूहले गोर्खालयाण्डका पक्षधरलाई अहिले पनि धरपकड जारी राखेको छ।
गोर्खाल्याण्का एक नेता भन्छन्, 'भारतीय प्रहरी नेपाल प्रवेश गरेर मच्चाएको आतंक राज्य आतंकको खतरनाक रुप हो।'