दुई वर्षमा बनेन दुई किलोमिटर सडक
काठमाडौं : ठेकेदार कम्पनीको लापरबाहीले नागढुंगा–पिपलमोड खण्डमा यात्रुले सास्ती पाएका हुन्। जिम्मा लिएको कम्पनीले दुई किलोमिटर सडक दुई वर्षमा पनि पूरा गरेको छैन। सम्झौताअनुरुप ठेकेदारले ०७५ असार २५ भित्रै काम सक्नुपर्ने थियो। सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय–२ ले मालवाहक सवारी गुड्ने लेन क्षतिग्रस्त भएकाले ०७३ देखि सडक निर्माण कार्य अघि बढाएको थियो।
सडक मर्मत गर्न कार्यालयले ०७३ चैत २९ गते आनन्द निर्माण सेवासँग एक करोड ३८ लाख २७ रुपैयाँमा सम्झौता गरेको थियो। कार्यालयका प्रमुख देवकुमार तामाङ ठेकेदार कम्पनीलाई सडक निर्माणको काम समयमै सक्न पटक÷पटक ताकेता गरे पनि काम नभएको बताउँछन्। ‘काम नगर्ने कम्पनी भएकाले ठेक्का रद्द गर्यौं। कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाएका छौं’, प्रमुख तामाङले भने। त्यसका लागिसार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा वैशाख ३ गते पत्र पठाइसकेको पनि उनले जनाए। हालसम्म पीपीएमओबाट पत्रको जवाफ भने आएको छैन।
प्रमुख तामाङ कम्पनीसँग मोबिलाइजेसन निम्ति दिइएको १० प्रतिशत रकम पनि असुल गरिएको दाबी गरे। कम्पनीले काम नगरेकाले बैंक ग्यारेन्टीबाट पैसा असुल गरिसकेको उनले बताए।आनन्दसँग ठेक्का रद्द गरी कार्यालयले सडक निर्माणका लागि अर्को टेन्डर आव्हान गर्यो। कार्यालयले एक करोड ५३ लाख ४५ हजार रुपैयाँमा कृष महाकाली जेभीसँग सडक निर्माणको सम्झौता गर्यो। कार्यालय र कृष महाकाली जेभीबची २०७५ जेठ ३० गते असार २५ गतेभित्रमा सडक निर्माण सक्ने गरी सम्झौता भएको थियो।
वर्षातको कारण देखाउँदै नयाँ कम्पनीले पनि समयमा काम गरेन। थप ६ महिना समय थप्यो। दशैंको मुखमा कम्पनीले काम तीव्र पारेपछि यात्रुले जामको मार खेप्नुपरेको छ। यसले गर्दा काठमाडौं उपत्यका भित्रिने तथा बाहिरने यात्रुले सास्ती भोगिरहेका छन्। कम्पनीका संचालक कृष्ण केसी सडकको जीर्णोद्धारको काम डेढ महिनाअघि सुरु गरेको बताउँछन्। उनका अनुसार असोज १५ गतेदेखि सडकमा पिच (आस्पाल्ट) गर्ने काम सुरु गरेपछि ट्राफिक जाम बढेको हो। सवारी आवत–जावत सहजीकरण गर्न राति पिच गर्ने गरिएको छ।
हाल साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म सडक विस्तार भइरहेको छ। उनले ६ सय मिटर सडक निर्माण गरिसकेको जानकारी दिए। एक साताभित्रमा सडक निर्माण सक्ने उनले दाबी गरे। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला दशैंको समयमा सडक निर्माण गर्दा यात्रुलाई समयमा गन्तव्यसम्म पुर्याउन ग्राहो भएको बताउँछन्।
फोटो पत्रकार चन्द्रशेखर कार्की बुधबार बिहान नागढुंगा–पिपलमोड जामका कारण थानकोटबाट नौबिसे पुग्न साढे ६ घण्टा लागेको बताउँछन्। बिहान साढे ७ बजे हिंडेका कार्की जामका कारण दिउँसो दुई बजे मात्र नौबिसे पुगेका थिए। उनका अनुसार बाहिरबाट उपत्यका छिर्ने गाडीको लर्को धादिङको महादेवबेसीसम्म थियो।
धुनिवेसी नगरपालिकाका लेखा अधिकृत गोकर्णराज सुयल दैनिक सतुंगलबाट खानीखोला आउजाउ गर्छन्। पछिल्लो समय नागढुंगा नौबिसे सडक निर्माणका कारण सवारी जाम बढेका उनी बताउँछन्। ‘सडक मर्मतको नाममा राति बाटो बन्द गरिएपछि सवारी जाम नागढुंगाबाट नौविसेसम्म पुग्ने गरेको छ। दैनिक यात्रा गर्नुपर्ने भएकाले २५ किमिको यात्रा तय गर्न निकै कष्टकर हुन थालिसकेको छ’, सुयलले भने।
यो सडक मर्मत हुन थालेपछि आधा घण्टाको बाटोको लागि थानकोटको सिचोपानी धाराबाट महेशफाँट निस्किएर सिधै खानीखोला जाने वैकल्पिक बाटो प्रयोग गर्न थालिएको सुयलले सुनाए। धार्के सीतापाइला खण्डको यो वैकल्पिक बाटो कच्ची र धुलो भए पनि घण्टौंको जाममा बस्नुभन्दा यो विकल्प नै उत्तम लागेको सुयल बताउँछन्।