शीर्षक जुराउन पसिना छुट्यो

शीर्षक जुराउन पसिना छुट्यो

फिल्म बनाउने कुरा त दिमागमा घुमिरहेकै थियो। डीसीएनको डिजिटल प्रविधि नेपालमा ल्याउने क्रममा केही वर्ष व्यस्त भइयो। त्यसैले मेकिङमा ब्रेक भएको हो। डीसीएन स्ट्याबलिस भएपछि फिल्म बनाउने सोच बनाएको हुँ। म एउटा राम्रो कथाको खोजीमा थिएँ।

एक दिन हलमा फिल्म ‘पशुपति प्रसाद’ फिल्म हेर्न गएँ। पशुपति प्रसादको स्टोरी निकै युनिक लाग्यो, यस्ता विषयमा धेरैले त्यति दिमाग लगाउँदैनन्, पशुपतिमा एउटा लास जलाउने क्रममा के के हुन सक्छ भन्ने धेरैले सोच्दैन। पशुपति प्रसाद हेरेपछि खगेन्द्र लामिछानेप्रति मेरो दिमागमा बेग्लै छाप बस्यो। फिल्ममा खगेन्द्र भाइले गरेको अभिनय र लेखनको प्लटले मलाई एकदमै छोयो। स्क्रिप्ट नै अर्कै लाग्यो। नेपालमा पनि यो ढंगले सोच्ने मान्छे रहेछन् भन्ने लाग्यो। फिल्म हेरिसकेपछि मैले नम्बर खोजेर खगेन्द भाइलाई फोन गरेँ। यसअघि उनीसँग खासै संवाद भएको थिएन।

उनलाई भेट्न आग्रह गरेँ। मण्डलामा नाटक चलिरहेकाले उनले दुईतीन दिनको समय मागे। त्सपछि हामीले डीसीएनकै अफिसमा भेट्यौं। मैले उनको अभिनय र स्क्रिप्ट साह्रै मन परेको सुनाएँ। ‘म धेरैपछि फिल्म बनाउन लागेको छु, त्यसैले अबको मेरो प्रोजेक्टमा तपाईंले नै लेखेको स्टोरी होस् र त्यसमा लिड रोल पनि तपाईंकै होस् भन्ने चाहन्छु’, भनेँ। ‘दाइसँग काम गर्न पाउनु भनेको त मेरो लागि पनि खुसीको कारा हो’, भन्दै खगेन्द्र भाइ पनि खुसी हुनुभयो। त्यसपछि उहाँले दुईवटा कथा सुनाउनुभयो। दुईवटामध्ये हामीले यो अहिले बनेको फिल्मको कथा रोज्यौं तर शीर्षक भने राखिएको थिएन।

त्यसपछि स्क्रिप्ट लेख्न सुरु भयो। यसमा हामीले झन्डै १३ महिना बितायौं। स्क्रिप्ट लेखनको क्रममा हामीबीच निकै विवाद पनि भयो। खगेन्द्र स्क्रिप्टमा पूरै आर्टिस्टिक पारामा अघि बढाउन खेज्थे, म भने त्यसलाई इन्टरटेनिङ पाराले प्रस्तुत गर्न चाहन्थेँ। स्टोरीको थिम पनि नमरोस्, तर त्यसलाई इन्टरटेनिङ पाराले नै प्रस्तुत गर्नुपर्छ भन्ने अडानमा थिएँ म। यो डिस्कसनको क्रममा यस्तो समय पनि आयो, खगेन्द्र भइले भन्न थाल्नुभो, ‘भैगो दाइ मैले मेरो स्टोरी तपाईंलाई दिएँ। अब मेरो नाम पनि राख्नु पर्दैन अरू नै कसैलाई लेखाउनुहोस्।’ पछि मैले कन्भिन्स गर्दै लगेँ, उहाँ पनि सहमत हुनुभयो। यसरी लामो मेहनतपछि फिल्मको स्क्रिप्ट तयार भयो।

त्यसपछि फिल्मका कलाकार चयनतर्फ लागियो। यसका मुख्य पात्र त खगेन्द्र नै भइहाले। मुख्य कथा चारजनाकै वरिपरि घुम्ने हो। अन्य पात्रमा सौगात मल्ल, स्वस्तिमा खड्का र बुद्धि तामाङ हुन्। कथा मनोरञ्जक बनाउन अन्य पात्रहरू थपिँदै गए। युनिटमा सलोन बस्नेत, राजाराम पौडेल, लक्ष्मी गिरी, जयनन्द लामा, वसुन्धरा भुसाल जोडिए। मुख्य पात्रको वरिपरि जोडिने क्यारेक्टहरू सबै ह्युमरस नै छानिए।

फिल्मको छायांकन दुई चरणमा गरेर २४ दिनमा सकियो। योजनाबद्ध ढंगले लोकेसनमा गएका कारण सहज रूपमा छायांकन सकियो। न त मौसमका कारण रोकिनुप¥यो न त कलाकार र प्रोपर्टीकै कारणले। झापा र इलाममा हामीले फिल्मको सम्पूर्ण छायांकन सकायौं। यसअघि फिल्मको लोकेसन हामीले कास्कीको पञ्चासेमा पनि हेरेका थियौं। तर त्यहाँको लोकेसनमा भेरिएसन थिएन त्यसैले हामी झापा पुगेका हौं। सुरुमा पश्चिममा सुटिङ गर्ने भनेर पश्चिमेली टोनमा स्क्रिप्ट लेखिएको थियो तर पछि पूर्व गइयो र त्यहीँको लबजमा स्क्रिप्ट ढालियो।

सुटिङ गर्न लोकेसनमा पुगिसकेपछि एउटा नयाँ क्यारेक्टर जन्मियो। तत्कालै त्यो पात्र जुटाउन निकै मुस्किल थियो। मैले मनले जितेर सलोनकी हजुरआमाको रोलमा खेल्न लक्ष्मी गिरीलाई अनुरोध गर्दै फोन गरेँ। उहाँ आफ्ना सबै काम मिलाएर तीन घन्टाको बीचमा झापा आइपुग्नु भो र त्यसै दिन सुटिङ गरियो।

फिल्मका लागि मैले कालिप्रसाद बाँस्कोटा, राजनराज शिवाकोटी र शम्भुजित बाँस्कोटासँग संगीत सुनेको थिएँ। पछि राजनराजको संगीत र शब्द दुवै फिल्मको सिचुएसनसँग मेल खाने लाग्यो। तर पछि हामीले गीतका शब्द र प्रस्तुतिमा धेरै परिवर्तन ग¥यौं। महिला स्वर चाहिँ मेलिना राईलाई गाउन लगाउनुपर्छ भने। मलाई उनको स्वर निकै मन पर्छ। फिल्मका लागि अर्को पनि गीत रेकर्ड गरेका थियौं। कल्याण सिंहको संगीतमा गीत रेकर्डिङ गरियो तर सुटिङमा गएपछि त्यो गीत त्यति आवश्यक लागेन र फिल्ममा प्रयोग गरेनौं। छोटो समयमा नै एकपछि अर्को गीत आउने देखिएपछि सल्लाह गरेर त्यो गीत प्रयोग नगरिएको हो।

यो फिल्ममा तीन पुस्तासँग काम गरियो। वसुन्धरा भुसाल, रामचन्द्र अधिकारीहरूको पुस्ता, त्यसपछि खगेन्द्र लामिछाने, सौगात मल्लहरूको पुस्ता अनि सलोन बस्नेत स्वस्तिमाहरूको पुस्ता फिल्ममा छ। २०५० सालमा ट्रक ड्राइभर बनाएको मान्छे २०७५ सालमा यो फिल्म बनाउँदा धेरै परिवर्तन आइसकेको छ।

सुरुमा फिल्मको कथा सुन्दा यसको शीर्षक थिएन। के शीर्षक राख्ने भन्नेमा निकै माथापच्चिसी भयो। फिल्म घोषणा गर्ने दुई दिन बाँकी हुँदासम्म नाम जुराउन सकिएको थिएन। विकास बोर्डमा फिल्म दर्ता नै गर्न पाइएको थिएन। क्यारेक्टरको एंगलबाट सोच्यौं, त्यताबाट पनि गतिलो नाम आएन, फ्रेन्डसिपको हिसाबले राख्ने कि भनेर सोच्यौं त्यताबाट पनि चित्त बुझ्दो नाम आएन। मायाप्रेम तिरबाट पनि सोचियो, चित्त बुझेन। खगेन्द्र भाइ पनि नामका लागि निकै टेन्स लिइरहनुभएको थियो।

दिउसो रेस्टुराँमा खाजा खाइरहेका थियौं, त्यत्तिकैमा पशुपति जाने कुरा आयो। पशुपति जाने कुरा हुँदा मेरो दिमागमा स्ट्राइक भयो, ‘जय शम्भो’ राखौं। म पशुपति गइराख्ने र शिवभक्त भनि भएकाले शिवकै नाममा फिल्मको नाम राख्ने कुरामा सबै सहमत भए। अनि दर्ताको लागि प्रोडक्सन डिजाइनर नगेन्द्र घिमिरेलाई चलचित्र विकास बोर्ड पठाइयो। तर त्यो नाम त अर्कैले दर्ता गरिसकेको रहेछ। त्यसपछि झन् टेन्सन भयो। ‘शम्भो’ को विकल्प सोच्न थालियो। शंकर पनि हुन्थ्यो, शिव पनि हुन्थ्यो तर सुहाउँदो सुनिएन। शिवकै अर्को नाम ‘भोले’ जोडेर फिल्मको शीर्षक ‘जय भोले’ फाइनल गरियो।

यसरी एक घन्टा ४५ मिनेट लामो मनोरञ्जक फिल्म ‘जय भोले’ तयार भयो। फिल्मको टेलरमा पनि हामीले स्टोरी रिभेल गरेका छौनौं। फिल्ममा ९० प्रतिशत कमेडी नै छ तर जोक भनेर हँसाउने होइन, सिचुएसनल कमेडी छ। दर्शक दृश्यसँग हाँस्छन्। १० प्रतिशत चाहिँ फिल्ममा स्टोरीको डेप्थ छ। दसैंको फूलपातीको दिन ‘जय भोले’ अल नेपाल रिलिज हुँदैछ ‘यसपालिको दसैं जय भोलेको साथ’।


(निर्देशक शर्मासँग अनन्त वाग्लेले गरेको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.