चालकलाई चिया र कफी
राजविराज : चाडपर्वका बेला बढ्ने सवारी दुर्घटना न्यूनीकरण गर्न निश्चित ठाउँमा सवारी रोकी विश्राम गराई सप्तरी प्रहरीले चालकलाई कालो चिया र कफी खुवाउने भएको छ। दसैंदेखि छठसम्म राजमार्गस्थित शम्भुनाथमा पश्चिमबाट पूर्वतर्फ जाने रात्रिकालीन सवारीसाधनका चालकलाई रोकेर कालो चिया, कफी खुवाउने योजना बनाएको सप्तरीका डीएसपी भावेश रिमालले बताए।
चाडपर्वलाई लक्ष्य गरी तयार पारिएको ११ बुँदे विशेष सुरक्षा योजना बुधबार सार्वजनिक गर्दै डीएसपी रिमालले सम्भावित दुर्घटना कम गर्न लामो दूरीका सवारी चालकहरूलाई चिया तथा कफीसहितको रिफ्रेस सेन्टर सञ्चालन गरिने बताए। चाडपर्वका बेला सवारीसाधन बढी चल्ने भएकाले चालकहरू लगातार लामो समयसम्म खटिँदा दुर्घटनाको जोखिम बढ्न सक्छ।
यसै अवस्थालाई ध्यानमा राखी प्रहरीले दुर्घटना न्यूनीकरण गर्न नयाँ योजना ल्याइएको हो। डीएसपी रिमालका अनुसार राजमार्गलाई बिनाअवरोध सञ्चालन गर्न, यात्रुको गुनासो व्यवस्थापन र ट्राफिक प्रहरीको प्रभावकारी परिचालन गर्न प्रत्येक इलाका प्रहरी कार्यालयमा ट्राफिक प्रहरीसहित नागरिक/यात्री सहायता कक्ष सञ्चालन गरिने छ।
आपराधिक घटना हुन नदिन प्रहरीले निगरानी सुरु गरेको भन्दै उनले बैंक, वित्तीय संस्थालगायतमा सादा पोसाकमा प्रहरी परिचालन गरिने बताए। प्रहरीले टाइगर टोलीसहित मोटरसाइकल, साइकल, पैदल गस्ती र ग्रामीण गस्तीसमेत गर्न लागेको जनाएको छ।