चाडपर्व लक्षित प्रहरीको नागरिक सहायता कक्ष
बैतडी : बैतडीका दुई ठाउँमा प्रहरीले नागरिक सहायता कक्ष सञ्चालन गरेको छ। चाडपर्वलाई लक्षित गरेर नागरिक सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।
सदरमुकाम गोठलापानी र खोड्पे बजारमा नागरिक सहायता कक्ष स्थापना गरिएको उनले बताए। ‘दसैंतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर हामीले यात्रु सहायता कक्ष स्थापना गरेका हौं’, उनले भने, ‘यात्रुलाई आवतजावतमा समस्या नहोस् भन्ने हाम्रो चाहना हो।’
दसैंतिहारको बेला यात्रुबाट बढी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु सवारी साधनले राख्ने, यात्रुलाई अनावश्यक दुःख दिने काम हुन सक्ने भन्दै नागरिक सहायता कक्ष स्थापना गरिएको हो। नागरिक सहायता कक्षमा चौबिसै घण्टा प्रहरी खटिने प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ।
प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेपछि नागरिकलाई सजिलो हुने सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेश शाहले बताए। उनले भने, ‘प्रहरी नागरिकको सेवा दिने निकाय हो। चाडपर्वको समयमा नागरिक सहायता कक्ष स्थापना हुनु राम्रो कुरा हो।’