बार्सिलोना र पीएसजीको सानदार जित
पेरिस : लियोनल मेसी र नेमारको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना र पीएसजीले युरोपियन च्याम्पियन्स लिगको समूहगत चरणमा ठूलो अन्तरको जित हात पारेका छन् । बार्सिलोनाले समूह ‘बी’अन्तर्गत बिहीबार बिहान भएको आफ्नो दोस्रो खेलमा इङ्लिस टोली टोट्टनहामलाई ४–२ गोलले हरायो । पीएसजीले भने सर्वियाको क्रेइभ्ना भाज्दालाई ६–१ गोलले पराजित ग¥यो ।
च्याम्पियन्स लिगको समूहगत चरणमा बार्सिलोनाको यो लगातार दोस्रो जित हो भने पीएसजीको पहिलो सफलता । पीएसजी अघिल्लो साता भएको आफ्नो पहिलो खेलमा इङ्लिस क्लब लिभरपुलसँग ३–२ गोलले पराजित भएको थियो । बार्सिलोनाले भने पहिलो खेलमा पनि नेदरल्यान्ड्सको पीएसभी आइन्डओभनलाई ४–० गोलले हराएको थियो । जितसँगै बार्सिलोना ६ अंकसहित शीर्ष स्थानमा छ ।
लन्डनस्थित वेम्बली रंगशालामा भएको खेलमा मेसी एक्लैले दुई गोल गरे । उनले थप दुई गोलका लागि अवसर पनि सिर्जना गरिदिए । सन् १९९२ मा पहिलोपटक वेम्बलीमै च्याम्पियन्स लिगको उपाधि जितेको बार्सिलोनाका लागि त्यसयता यो मैदान निकै फाप्दै आएको छ । बार्सिलोनाले दोस्रो मिनेटमै अग्रता लिएको थियो । खेल सुरु भएको ९२औं सेकेन्डमा फिलिप कोउटिन्होले गोल गर्दै टोलीलाई १–० ले अघि बढाएका थिए ।
त्यसपछि २८औं मिनेटमा इभान राकिटिचले गोल गरेपछि बार्सिलोना पहिलो हाफमै २–० ले अघि बढेको थियो । ५२औं मिनेटमा हेरी केनले टोट्टनहामका लागि जवाफी गोल गरेका थिए । त्यसपछि मेसीले लगातार दुई गोल गर्दै बार्सिलोना महŒवपूर्ण तीन अंक दिलाए । मेसीले खेलको ५६औं र ९०औं मिनेटमा गोल गरेका थिए । उनले इङ्लिस टोलीविरुद्ध हालसम्म २९ खेलमा २२ गोल गरेका छन् । खेलको ६६औं मिनेटमा टोट्टेनहामका लागि अर्जेन्टिनी खेलाडी एरिक लामेलाले अर्काे गोल फर्काएका थिए ।
यसैगरी भाज्दाविरुद्घ नेमारले दुई फ्रिकिक गोलसँगै ह्याट्रिक पूरा गरेपछि पीएसजीले थप तीन अंक कमायो । यो प्रदर्शनसँगै नेमारले आफू पुनः लयमा फर्किएको संकेतसमेत गरेका छन् । गत सिजन पीएसजीबाटै फ्रान्सेली लिग खेल्ने क्रममा घाइते भएपछि आधा सिजन मैदानबाहिर बसेका नेमारले रुस विश्वकपमा समेत कमजोर प्रदर्शन गरेपछि आलोचना बेहोर्नु परेको थियो ।
नेमारले जारी सिजनमामा पीएसजीका लागि आठ खेलमा १० गोल गरिसकेका छन् । पीएसजीको जितमा डी मारिया, केलियन एमबाप्पे र एडिन्सन काभानीले पनि एक÷एक गोल गरे । जितसँगै पीएसजी समूह ‘सी’को शीर्ष स्थानमा पुगेको छ । इङ्लिस क्लब लिभरपुल इटालियन क्लब नापोलीसँग १–० गोलले पराजित भएपछि समान अंकका बीच पनि पीएसजी शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा भएको खेलमा लोरेन्जो इनसाइनले ९०औं मिनेटमा गरेको एकमात्र गोल नै नापोलीको जितमा निर्णायक बनेको थियो । अन्य खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले बेल्जियन क्लब ब्रुगलाई ३–१, जर्मन क्लब बोरुसिया डर्टमन्डले फ्रान्सेली क्लब मोनाकोलाई ३–० र इटालियन क्लब इन्टर मिलानले नेदरल्यान्ड्सको पीएसभी आइन्डओभनलाई २–१ गोलले हराए