बलात्कारीलाई सर्वस्वसहित जन्मकैद
बैतडी : किशोरीलाई बलात्कारपछि हत्याका आरोपितलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला अदालत बैतडीका श्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको हो।
जिल्ला न्यायधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार जोशीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार भुसालले जानकारी दिए।
जोशीले २०७४ फागुन १७ गते साली नाता पर्ने पुर्चौडी नगरपालिका १ हाटकी १७ वर्षीया डम्बरा भट्टको बलात्कारपछि हत्या गरेका थिए।
जोशीले विद्यालयबाट घर फर्किरहेकी किशोरीलाई आफ्नै कोठामा बोलाएर बलात्कारपछि हत्या गरेको अभियोग पुष्टि भएपछि उक्त सजाय सुनाइएको फैसलामा उल्लेख गरिएको छ।
‘जोशीमाथि लागेको अभियोग पुष्टि भएपछि अदालतले सजाय सुनाएको हो’, भुसालले भने, ‘अदालतको आदेश अनुसार जोशीलाई कारागार चालन गरिएको छ।’
त्यसैगरी अर्का एक बलात्कारीलाई ८ वर्ष कैद र ४० हजार क्षतिपूर्तिको फैसला जिल्ला अदालत बैतडीले गरेको छ। मेलौली नगरपालिका २ का २९ बर्षीय किशोरराम ओडले आफ्नै सालीलाई बलात्कार गरेको पुष्टि भएपछि अदालतले उक्त फैसला सुनाएको हो।
ओडले गत जेठ ८ गते आफ्नै सालीलाई बलात्कार गरेको आरोपमा मुद्दामाथि न्यायधीश माधवप्रसाद अधिकारीको एकल इजलासले शुक्रबार उक्त फैसला सुनाएको हो।