एसिडपीडितलाई ऋणको चिन्ता
काठमाडौं : क्षणिक आवेशले निम्ताउने अपराधले न आफन्त भन्छ, न कुनै सम्बन्ध देख्छ। मासिन कतिसम्म अमानवीय हुन सक्छ भन्ने पछिल्लो उदाहरण हो, वसन्ती परियारमाथिको एसिड प्रहार। एसिड प्रहारको पीडासँगै ११ दिनदेखि वसन्ती परियार अस्पतालमा लडिरहेकी छन्। कावासोती १६ हरमासीकी परियारमाथि एसिडसँगै चक्कु प्रहार भएको थियो। उनी हाल टिचिङ अस्पतालको बर्न वार्ड, बेड नम्बर ३६ मा उपचार गराइरहेकी छिन्।
‘मलाई यस्तो बनाउने अपराधीलाई सरकारले भात खुवाएर पालेको छ, उसलाई सजाय कहिले हुन्छ ? ’ बेडबाटै बिस्तारै प्रश्न गर्छिन् वसन्ती। ‘पापीले मेरो जिन्दगी सर्वनाश गर्यो,’ बेलाबेला सुस्केरा हाल्छिन्। आक्रोश पोख्छिन्। ऐया र आत्था गर्दै पीडकप्रति घृणा व्यक्त गर्छिन्।
नजिकै उनकी बहिनी सुनिता विक हेरचाहमा खटिइरहेकी छन्। घरि ज्वरो नाप्छिन्, घरि बिस्तारै दिदीलाई सुम्सुम्याउँछिन्। दिनभरि घरमै लुगा सिलाउने काममा व्यस्त थिइन् उनी। नजिकैको बजारमा तरकारी किन्न मामाको छोरीसँगै बजार निस्केकी थिइन्। हातमा तरकारी बोकेर साँझ साढे ६ बजेतिर घर फर्कंदै गर्दा पछाडिबाट कसैले उनको कपाल बेस्सरी तान्यो। पछाडि फर्कन नपाउँदै टाउकोबाट एसिडको झोल शरीरभरि खन्याइदियो। अनुहार, कोखा र पेटमा समेत धारिलो चक्कु रोपियो। उनी त्यहीं ढलिन्।
वसन्तीको देब्रे आँखाको डिलबाट अनुहारसम्म आउने गरी चक्कु प्रहारको घाउ छ। कोखा र पेटमा पनि गहिरो चोट छ। चक्कुले लागेको चोटको अप्रेसन गरिइसकेको छ। एसिड प्रहारबाट ड्यामेज भएको भागमा शुक्रबार दिनभरि सर्जरी गरियो। एसिडबाट अनुहारको सबैजसो भाग, छाती र दुवै हातको पाखुराको छाला जलेको छ। एसिडले जलेको अनुहार र छाला सबै कालो दागमा फेरिएको छ। आफ्नो शरीर र अनुहार नै कहिलेकाहीं उनलाई आफ्नो जस्तो लाग्दैन।
लुगा सिलाउने सीपले श्रीमान् र दुई छोराछोरीसहितको उनको जिन्दगी सुखदुःखले चलाइरहेको थियो। कहिले अभावका उकाली र कहिले समस्याका ओरालीबीच वसन्तीका २८ वसन्त बिते। जिन्दगीप्रति कुनै गुनासो थिएन। एकाएक प्रलयजस्तो बन्यो, असोज ८ गतेको साँझ। पीडाको प्रहार खप्नुपर्यो।
१४ वर्षअघि घरनजिकैका यमबहादुर परियारसँग उनको विवाह भएको हो। हाल उनका दुई छोराछोरी छन्। निम्नवर्गीय परिवारका यमबहादुर विवाहपछि पैसा कमाउन साउदी अरब गए। सोचेजस्तो कमाइ गर्न सकेनन्। त्यसपछि दुबई गए, फेरि मलेसिया। जसोतसो परिवार चल्दै थियो।
विदेशमा हुँदा उनी सुगर र पायल्सका बिरामी भए। वसन्तीले नेपालमै आएर उपचार गरौँला भनेर बोलाइन्। डेढ महिनाअघि उनी नेपाल फर्किए। यमबहादुर भन्छन्, ‘यहाँ उपचार गर्दै थिएँ, नेपालमै केही गर्नुपर्छ भनेर बूढाबूढी सल्लाह गर्दै थियौं। अचानक उनको यो हालत भयो।’
अहिले वसन्तीको उपचारमा लाग्ने औषधि खर्च एक सामाजिक संस्थाले बेर्होने जनाएको छ। उनको बेड चार्ज र खाना टिचिङ अस्पतालले निःशुल्क गरिदिएको छ। यमबहादुरलाई भने वसन्तीकै पिर छ। ‘सानैमा बिहे गरियो, दुःखसुख सँगै बिताएका थियौं’, वसन्तीलाई ओड्ने ओडाइदिंदै भन्छन्, ‘वसन्ती बाँचोस्, मेरो हरेक दुःखमा उसले साथ दिएकी छ। म पनि जीवनभरि साथ दिने छु।’
वसन्तीलाई एसिड प्रहार गर्ने ३८ वर्षीय विमल श्रीपाली घरछेउकै छिमेकी हुन्। श्रीपालीको आचरण राम्रो थिएन। कहिले श्रीमती पिट्ने, कहिले आमालाई कुटेर घरबाट निकाल्ने गर्थे। श्रीपालीका श्रीमती र छोरी केही समयदेखि माइतमा बस्दै आएका थिए। साउदीबाट श्रीपाली दुई महिनाअघि नेपाल आएका हुन्। विदेशबाटै वसन्तीलाई फोन गरेर आफूसँग विवाह गर्न उनले दबाब दिन्थे। ‘मसँग विवाह गरिनस् भने तेरो परिवारै बिगारिदिन्छु भनेर धम्काउँथ्यो’, वसन्तीले भनिन्, ‘मैले त्यसको वास्तै गरेकी थिइनँ, ऊ त मलार्ई मार्ने योजना बनाएर फर्केको रैछ।’
वसन्ती र यमबहादुर छोराछोरी माइतमा छाडेर उपचारका लागि काठमाडौं छन्। सँगै रहेकी बहिनी सुनिता भन्छिन्, ‘भिनाजुको राम्रो कमाइ थिएन। दिदीले नै लुगा सिलाएर छोराछोरी पढाउँदै थिई। अब कसले पढाउँछ उनीहरूलाई ? भएको पैसा पनि उपचारमा सकियो।’
सरकारले आफूजस्तै पीडितका लागि केही गरिदिए हुन्थ्यो भन्ने आशा छ वसन्तीमा। भरतपुर अस्पतालमा उपचार गर्दा उनलाई ऋण लागेको छ। ‘अब कसरी तिर्ने होला ? ’ अस्पतालको बेडमा सुतिरहेकी वसन्तीले छोराछोरीको भविष्य सम्झँदै भनिन्। एसिड प्रहारपछि वसन्तीलाई कावासोतीकै मध्यविन्दु अस्पताल पुर्याइएको थियो। त्यहाँबाट भरतपुर अस्पताल लगियो। एक हप्ता त्यहीं उपचार गरेपछि काठमाडौं टिचिङ अस्पतालमा भर्ना गरिएको हो।