च्यातिएको कागजमा अमर गीत
उनी स्मृतिभन्दा निकै पर पुगिसके। अब अर्को सँघार प्रवेशको तरखरमा छन, ८४ को सँघार। अब आउने त अर्को मोड हो, जीवनको उपल्लो घुम्ती। बितेका सबै छाया हुन्। याद आउने सबै चिजहरू त विगत हुन्। त्यो विगत उनीबाट पर छ।
एउटा नवजात शिशु आमाको गर्भबाट संसारमा अवतरण गर्दा निस्कने च्याँ ध्वनि संगीतमय हुनसक्छ ? पीडामय प्रसूतिबाट आनन्दरस लिइरहेकी आमाका लागि त्यो जीवनको मधुरतम् संगीत हुनसक्छ। तर, बालक ? बालकले आमाको काखबाट जीवनको लय निकाल्छ। प्रेमध्वज प्रधान यस्ता बालक हुन् जसले आमाको काखबाट जीवनको मात्रै होइन, संगीतको लय पनि फेला पारे।
प्रेमध्वजका बा रतनध्वज हारमुनियमवादक थिए। दरबारमा काम गर्ने आमा प्राणदेवी गायिका थिइन्, नृत्यांगना थिइन्। जीवनको सारेगम आमाको काखमा सिक्ने सौभाग्य हरेकजसो बालबालिकालाई हुन्छ। तर, प्रेमध्वजले शास्त्रीय संगीतको सारेगम आमाबाटै सिके।
ढल्दै गएको एक साँझ प्रेमध्वज आफ्नो सांगीतिक जीवनको प्रादुर्भाव बताउँदै थिए, जतिबेला हामी पुगेका थियौं उनको जिन्दगी र संगीतका फरक भूगोलतिर। उनी भनिरहेका थिए— कसरी भूपि शेरचन कविता सुनाउँथे, काठमाडौं आउँदा पारस होटलमा बसेका उनी कसरी साँझतिरको रसिलो बसाइमा कवि र कविताका मीठामीठा किस्सा हाल्थे, नयाँ सडकतिर भूपि कसरी गीत र कविताका चर्चा गर्थे ! स्मृतिको गहिराइबाट गुज्रेर प्रेमध्वज आफ्ना याद बताइरहेका हुन्थे— भाडामा माइक ल्याएर उबेला कसरी मच्चिएर गाउँथे ! रञ्जना सिनेमा हलमा कसरी उनी एउटै हिन्दी फिल्म पटकपटक हेर्थे। तर, कथा मन परेर एउटै फिल्म दर्जनपटक हेरेको होइन। उनको मिसन हुन्थ्यो— फिल्मको गीत कण्ठस्थ पार्ने। भन्छन्, ‘त्यस बेला म अनेकपटक हेरेका फिल्मका गीत गाउँदै गल्लीतिर हिँड्थँे। फिल्ममा देखाइने पागल प्रेमीजस्तै।’
यो ४ असोज, २०७५ को झमक्क हुँदै गएको साँझ थियो। त्यस साँझ प्रेमध्वज संगीत–संवादका क्रममा आफ्नो जीवनको अध्याय र संगीत साधनाको स्मृतिको गहिरो नदीतिर पसिरहेका थिए। मेरो सामुन्ने बसेका दर्जनौं मास्टर पिस गीतका यी गायक नेपाली संगीतको इतिहास खोलिरहेका थिए। रत्नशमशेर थापाको ‘गोरेटो त्यो गाउँको’, किरण खरेलको ‘माया नमार मायालु’, ‘घुम्तीमा नआऊ है’, ‘तारा मात्र हैन तिमीलाई’को गायन–गर्भतिर पसिरहेका हुन्थे।
०००
प्रेमध्वज (८३) लाई काठमाडौं विरासतमा प्राप्त भएको होइन। बरु संगीत उनका लागि विरासत बन्यो। भूगोलको कुनै अंशको विरासत त हरेकजसो मानिसले जन्मेकै बखत प्राप्त गर्छ, तर कलाको विरासत ऊ स्वयंले साधनाद्वारा मात्र निर्माण गर्नसक्छ। उनी सिन्धुपाल्चोक चौताराबाट ६ वर्षमैै बुवासँग काठमाडौं आए र विभिन्न सभ्यताले भरिएको यस सहरलाई अँगालो मारे। यो सहरमा प्राप्त दुःख, तनावलाई आशीर्वाद ठाने। अहिले नेपाली संगीतका आइकन बनेका छन्। सम्झनामा राखेर निकै पहिले गाइएका, इतिहास बन्न लागेका आफ्ना गीत हेर्छन्। बिर्सन नसकिने जीवनका अनौठा घटनाक्रमसँग जोडेर हेर्छन्, आफ्नो संगीत–गोरेटोलाई।
आमा असनको, बा सिन्धुपाल्चोकको। परिवारमा पुरानै किचलो थियो। प्रेमध्वज ६ वर्षकै छँदा २००१ भदौमा बा–आमाबीच पारपाचुके भयो। जुद्धशमशेरले डिर्भोस गराइदिए, प्राणदेवीले सात सय रुपैयाँ पाइन्— अंशस्वरूप। बाले अर्को बिहे गरे र नगालमा कपडाको पसल खोले। आमाले अर्को बिहे गरिनन् र असनमा कपडाको गुडिया पसल खोलिन्।
रेडियो सिलोङमा बज्ने गीत सुनेर हुर्किए प्रेमध्वज। बा पनि रेडियोका गीत खुब सुन्थे। जमलको नगाल टोलका थुप्रै मानिस बासँग संगीत सिक्न आउँथे। ठूलो स्वरमा बजाए राणाले लैजान्छन्, सोचेर घरमा अति सानो आवाजमा रेडियो बजाइन्थ्यो। ती गीतले, आमाले गाउने गीतले उनी संगीततिर ढल्किए। भन्छन्, ‘संगीतले दुःख बिर्साइदियो।’
बस्न त उनी बासँगै बस्थे। बेलाबेला आमालाई भेट्न असन पुगिरहन्थे।
‘उहाँ असनको चिसो गल्लीमा कपडाको गुडिया बेचिरहनुहुन्थ्यो’, उनी सम्झन्छन्, ‘म पुग्दा आमाको अनुहार उज्यालो हुन्थ्यो।’ हरेक आमाको अनुहारमा चम्किने प्रकाशको स्रोत त सन्तान नै रहेछ, उनी मनमनै यस्तो गम्थे।
तर, बुवालाई सघाउन उनी नगालको कपडा पसलमा आउनै पर्थ्यो। बा र आमाको सम्बन्धले एउटा पारपाचुकेबाट पार पाइसकेको थियो। तर, प्रेमध्वजले स्नेह र कतव्र्यबाट पार पाउने सम्भावना थिएन। उनी घरिघरि आमाको गुडिया पसलमा गइरहन्थे र बाबुको कपडा पसलमा पनि बसिरहेका हुन्थे।
०००
१० वर्षमा विश्व निकेतन स्कुलमा उनले क, ख सिके। त्यस बेलासम्म उनको नाम ‘गणेशध्वज’ थियो। स्कुलका संस्थापक हेडमास्टर प्रेमबहादुर श्रेष्ठले उनको कर्ली कपाल चलाउँदै एक दिन आफ्नै नाम कोसेली दिए, ‘यस्तो मायालु मान्छेको नाम गणेशध्वज होइन, प्रेमध्वज हुनुपर्छ। आजबाट तिम्रो नाम प्रेमध्वज।’
दिनभरि पसलमा बस्नुपरेपछि उनी प्रौढहरूका लागि साँझमा चलाइएको कक्षामा गएर पढ्न थाले। साँझ रानीपोखरी स्कुलको प्रौढकक्षा। आठ कक्षामा संस्कृत विषय फेल भए। ‘त्यसपछि पढाइ सम्झ्यो कि साह्रै दिक्क लाग्न थाल्यो’, उनी भन्छन्। यति विरक्तिएँ कि स्कुल जानै छोडिदिएँ।
मनले नचिताएको बाटो हिँड्न दिक्क लाग्नु मानवीय स्वभावै हो। त्यसले परम्परागत बाटोबाट वैराग्य र नयाँ बाटोको सुरुआत एकैपटक गराइदिन्छ। दिक्क मानेर प्रेमध्वज भौतारिँदै मुम्बई पुगे। समय बिताइसकेपछि मुम्बई सहर बिरानो लाग्यो। फरक दुनियाँ घुमेपछि उनलाई बोध भयो, ‘नपढे त जीवनमा के गरी खाने ? नपढी त संसार नै अँध्यारो हुँदो रहेछ।’ बिरानो सहरमा यस्तो बोध भएपछि उनी नेपाल फिरे। र, २० सालमा पद्मोदय स्कुलबाट एसएलसी पास गरे। आईए, बीए सरस्वती कलेज पढे।
०००
वियोगका गीत बढी गाइने समयमा उनी थुप्रै ‘रोमान्सेली’ गीतका शब्दहरू गाउँथे। संगीत बुझेकाहरू भन्छन्, ‘प्रेमध्वजले नेपाली संगीतलाई रोमान्टिक लय–सुर दिए।’ प्रेमिल लय र सुरमा गाइएको ‘राजमती कुमती’ कति चर्चित भयो भने ‘राजमती’ फिल्म नै बन्यो। संगीतकार राजु सिंहको नजरमा ‘प्रेमध्वज नेपाली संगीतमा वन इन वन हुन्।’ सिंह भन्छन्, ‘उहाँको भ्वइसमा शृंगार रसका गीत बढी सुहाउँछ। नेपाली संगीतको उत्कृष्टमा पनि उत्कृष्ट गायकमा उहाँ पर्नुहुन्छ। भेल्भेट भ्वाइस भनिन्छ उहाँको आवाजलाई। गायकको रूपमा अब्बल र विशेष आवाज भएको। सबैखाले गीतमा उहाँको ओजनदार आवाज फिट छ। भारतका धेरै संगीतकारका पनि प्यारो गायक हुनुहुन्छ उहाँ।’
भूपिको शब्द र नातिकाजीको संगीतमा ०१३ सालमा प्रेमध्वजले गीत गाएका थिए, ‘यो नेपाली शिर उचाली।’ गीत रेडियो नेपालमा अमेरिकी दूतावासले दिएको पुरानो रेकर्डरमा रेकर्ड गरिएको थियो। जाडोको घाममुनि नयाँसडकमा भूपिले उनलाई गीत दिएका थिए— च्यातिनै लागेको कागजमा। प्रेमध्वजको ‘मास्टरपिस’ गीत यही बन्यो। गीत शब्द कोरिएको कागजको टुक्रामा अटाउँदो रहेनछ, त्यसको फैलावट आकाश मण्डलको विशाल शून्यताको बाटो हुँदै मानिसका हृदयको गहिराइमा गढ्न पुग्दो रहेछ। भूपिले लेखेर दिएको कागज त्यति बेलै च्यातियो, तर ‘यो नेपाली शिर उचाली’ गीत फैलिने क्रम आज झन्झन् बढ्दो छ। ‘भूपि कविता सुनाउँथे, म गीत गुनगुनाउँथेँ’, प्रेमध्वज भन्छन्, ‘हामी लामो समय नयाँसडकमा सिर्जनामै मस्त हुन्थ्यौं। त्यस बेलासम्म उनी पोखरामै बस्थे। बेलाबेला काठमाडौं आउँथे र मीठो भेट जुर्थ्यो।’
एकताका रंगमञ्चमा पनि प्रेमध्वजको आकर्षण थियो। १५ सालतिर नगालमा ज्यापू नाच देखाइन्थ्यो इन्द्रजात्राका बेला। ज्यापू नाचको रिहर्सल हेर्न उनी गइरहन्थे। सत्तलसिंह महाराजको दन्त्यकथामा आधारित नाचकी नायिका बिरामी परेर रिहर्सलमा आउन सकिनन्। निर्देशकले प्रेमध्वज भेटे र फरिया लगाइदिएर नाचकी नायिका बनाए। ‘त्यसमा नाचसँगै नेवारी संवाद पनि बोल्नुपर्थ्यो। कठिन काम थियो।’
हरेक आइतबार रेडियो नेपालमा स्वरपरीक्षा लिइन्थ्यो। कसरी लिइन्छ स्वरपरीक्षा ? उनी हेर्न गए। अचानक परीक्षा दिन मन लाग्यो। हिन्दी गीत गाएर परीक्षा दिए। गीत थियो, ‘जिन्दगी देनेवाले सुन।’ यसरी १६ वर्षमै रेडियो नेपालबाट स्वरपरीक्षा पास गरे, ‘क’ श्रेणीमा। एक रुपैयाँमा दुई माना चामल पाइने जमानामा ‘क’ श्रेणीको गायकलाई एउटा गीतका लागि १० रुपैयाँ पारि श्रमिक दिइन्थ्यो। उनी त रेडियोमा जागिर खान चाहन्थे। तर, जागिरको सम्भावनै थिएन।
जीवनमा अर्को संयोग जुर्यो। त्यो के भने काठमाडौंमा काम नपाउने निश्चितजस्तै भएपछि उनी मुम्बई जाने भए— मित्र श्यामबहादुर थापासँग। काठमाडौं–वीरगन्जको चार रुपैयाँ पर्ने बस–टिकट उनको हातैमा थियो। केही महिनाअघि आवेदन दिएको अमेरिकी सूचना केन्द्रले जागिरका लागि त्यही बेला बोलायो, मासिक ७५ भारुमा। उनको जीवनको टर्निङ प्वइन्ट यही थियो। त्यसपछि रेडियो नेपालले जागिरकै अफर गर्यो, एक सय ७५ रुपैयाँ तलबमा। तर, उनले सूचना केन्द्र छोडेनन्।
०००
‘गोरेटो त्यो गाउँको’, ‘पर लैजाऊ फूलहरू’, ‘माया नमार मायालु’, ‘माइतीघर’ फिल्मका लागि उषा मंगेशकरसँग गाएको ‘नमान लाज यसरी’ले अझ बढी चिनिएँ भन्छन् उनी। ‘गोरेटो त्यो गाउँको’जस्ता गीत प्रेमध्वज प्लस संगीतकार माणिकरत्नको नाममा संयुक्त सिर्जना पनि बने। नेवारी गीत पनि व्यापक गाए। उनले गाएका लगभग आठ सय गीतमा नेवारी गीत नै दुई सयभन्दा बढी छन्। २०२३ सालमा एउटै कार्यक्रममा सात दिनसम्म लगातार गाएपछि पाएको चार हजार रुपैयाँ पारि श्रमिकको खुब सम्झना आउँछ। ‘गाएरै यति धेरै कमाएको सायद पहिलोपटक थियो।’
सन् १९६५ मा मुम्बईको सबैभन्दा ठूलो सन्मुखानन्द हलमा भएको फिल्म फेयर अवार्डमा पाँच हजार दर्शकअघि उषा मंगेशकरसँग ‘नमान लाज यसरी’ गाउँदा ‘वान्स मोर’ पाएको सम्झनाले झस्किन्छन्, ‘नेपालबाट विदेशी गायिकासँग गीत गाउने पहिलो गायक मै हुँ।’ १० घन्टामा १० गीत गाए— साँझ ६ देखि ११ बजेसम्म, दुई दिन लगातार। ‘तारा मात्रै होइन, जूनै दाइजो दिइदिऊँला’, ‘घुम्तीमा नआऊ है’लगायत १० गीत पोलिडोर कम्पनीमा रेकर्ड भयो। आरडी बर्मनका एरेन्जर मनोहरि सिंहले गीत एरेन्ज गरेका थिए। उनको एउटै धोको थियो— लता मंगेशकरसँग गीत गाउने। तर, पूरा भएन। भन्छन्, ‘अति मन पर्ने गायिकासँग त्यति बेला म पनि गाउँछु भन्ने आँटै आएन।’ दिदीबहिनी आशा मंगेशकर (भोस्ले), मीना मंगेशकर र उषा मंगेशकरसँग उनले गीत गाए। लतासँग गाउन नपाएको दुःख अझै छ।
८० पछि (डेढ वर्षअघि) पहिलो एल्बम ‘प्रेमगीत’ निस्कियो। उनको एउटै दुःख छ— नेपाली बजारमा गीतहरू राम्रै आएका छन्। तर, ती अति क्षणिक छन्। छिट्टै ‘लोकप्रिय’ हुन्छन्, छिट्टै मर्छन्। जे सजिलै जन्मिन्छ नि, त्यो छिटै मर्छ भन्ने उनको आत्मिक ठहर छ।
०००
उनको पुरानो एउटा गीतले भन्छ, ‘पर लैजाऊ फूलहरू /छोपिदेऊ तारा जून /बन्द गर गीतहरू /तिम्रो याद आउने सबै चिजहरू।’ अब उनी स्मृतिभन्दा निकै पर पुगिसके। अब अर्को सँघार प्रवेशको तरखरमा छन, ८४ को सँघार। अब आउने त अर्को मोड हो, जीवनको उपल्लो घुम्ती। बितेका सबै छाया हुन्। याद आउने सबै चिजहरू त विगत हुन्। त्यो विगत उनीबाट पर छ।
संवादमा हाँसिरहने यी वृद्ध गायक कति सक्रिय छन् भने २० दिनअघि नयाँ गीत रेर्कड गरे— सुरेन्द्र खड्काको शब्द र शक्तिवल्लभको संगीतमा। गीतले भन्छ— जब हामी दुईको मिलन छुट्यो /तब दिलैमा मायाको घाउ दुख्यो।
जागिरबाट निवृत्त भएपछि उनी ‘रमाइलो जिन्दगी’ बाँचिरहेका छन्। आफूलाई अवकाशप्राप्त ठान्दैनन्। उनको निष्कर्षबाट बुझ्न सकिन्छ— सिर्जनामा केको अवकाश ! त्यो त आफूभित्रैको स्वअनुष्ठान हो। गीतका लय र संगीतका तालमा रमाइरहन्छन् उनी। झमक्क कालो हुँदै गएको साँझमा एकछिनका लागि कतै हराएजस्ता भए, ‘संगीत साधना गर्ने समय मिलेको छ।’
बिहान पाँचै बजे उठ्छन्, योगाभ्यास गर्छन्। नयाँसडक पुगिरहने सानैदेखिको बानी छुटेको छैन। नयाँसडकको शारदी घाममा भूपिले दिएको आफ्नै मास्टरपिस गीत खुब सम्झन्छन्। च्यातिएको कागजमा अक्षर पोतिएको त्यही कालजयी गीत, ‘यो नेपाली शिर उचाली।’