अस्तित्व र पहिचानको व्यंग्य ‘सानो वृत्तमा कमिलाहरू’
काठमाडौं : संग्रहालयमा राखिएका इन्स्टलेसन आर्टजस्ता मान्छेहरू। हरेक कोणबाट भिन्न। टाढाबाट हेर्दा आकर्षक। नजिक पुग्दा कुरूप। अनि त्यति नै आश्चर्यजनक खण्डखण्डमा बाँडिएको उसको जीवन। कमिलाका ताँती जस्ता। समयको रफ्तारसँगै अगाडि पछाडि कुदिरहेका ती मान्छेहरूका बेग्लाबेग्लै पाइला। सडकमा हिँड्दा हिँड्दै एकअर्कामा ठोकिन्छन्। एकोहोरो जीवन एक्कासि अन्तै मोडिन्छ र फेरि त्यो मोडमा अनेकसँग ठोकिइरहन्छ।
शिल्पी नाटकघरमा मञ्चन भइरहेको नाटक ‘सानो वृत्तमा कमिलाहरू’को दृश्य हो यो। नाटकमा व्यस्त सहरी जीवन देखाइएको छ जहाँ मानिसको ठूलो भीड छ। हरकोही आफैँमा व्यस्त छन्। प्रत्येक व्यक्ति आफ्नो अस्तित्वको खोजी गरिरहेको छ, सायद छैन पनि।
नाटकमा संवादभन्दा पनि दृश्यले यथार्थ देखाउँछ। कति व्यस्त छ सहरको जीवन र कति तेजीले कुदिरहेछ समय; जहाँ आँखा झिमिक्क गर्न नपाउँदै मिलन अनि बिछोड हुन्छ। सफल र असफल प्रयास दोहोरिइरहन्छन्। अनि अस्तित्व र पहिचानका लडाइँ पनि चलिरहन्छन्।
नाटकमा एउटा दृश्य छ जहाँ एक व्यक्ति आफ्नो शरीरको वजन नाप्ने यन्त्रमा आफ्नो तौल नापिरहेछ। नेपथ्यमा आवाज गुञ्जिरहेछ, ‘मान्छेको मनको तौल कति हुन्छ ? दुःखसुखको अनि चेतनाको तौल कति हुन्छ ? ’ यो दृश्यले सहरी मानव चरित्रलाई ठूलो व्यंग्य गरेको छ। जीवनको वास्तविक मूल्य मान्छेहरूले भुलिसके र केवल शरीरमा बढ्दै गएको बोसोको डल्लोमा हामी केन्द्रित हुन पुगेका छौं।
यही भीडबाट आफूलाई भिन्न राखेर केही नौलो काम गर्नेहरू पनि नाटकमा छन्। ती मानिसहरू सहरलाई स्वर्ग बनाउन चाहन्छन्। तर, यो प्रयास पनि कल्पनाजस्तो मात्र देखाइन्छ। हरकोही त्यो एक दिनको पर्खाइमा छन् जहाँ उसले सोचेजस्तै सपनाको संसार होस्।
यो सहरको भीडमा नारीको वेदना छ। नशा र कुलतमा फसेको जीवन पनि छ। सहारा माग्नेहरू पनि छन् र सहारा दिनेहरू पनि। युद्ध जित्नेहरू पनि छन् र युद्ध हार्नेहरू पनि। तर, यी सबै मानिस कमिलासरी छन्। एउटा सानो वृत्तमा गोलगोल घुमिरहेछन्। बिनाकुनै लक्ष्य। तर, त्यही मान्छेहरू फेरि यही सानो वृत्तमा रहेको समाजका अनेकन विसंगतिसँग निरन्तर लडिरहेछन्।
नाटकको अन्त्यमा एउटा संवाद छ, ‘म एक थोपा सागर कहाँ देख्न सक्छु। म त सागरमा बिलाउन पो सक्छु।’ यसको मतलब जीवन जिउनका लागि हामीले गरिएका हरेक प्रयास निरर्थक भइरहेका छन्।
नाटक साना वृत्तका कमिलाहरूमा जीवन कहिल्यै एक नासले चल्दैन भन्ने विषयलाई मूल रूपमा प्रस्तुत गरिएको छ। त्यसैले जीवनमा घट्ने अनेक घटनालाई नाटकमा क्रमभंग गरी प्रस्तुत गरिएको छ। मात्र पाँच प्रतिशत संवाद रहेको यो नाटकमा भव्य सेटको प्रयोग भएको छैन। एउटा ठूलो प्रश्नचिह्न मञ्चको अग्रपृष्ठमा छ। शरीरको हाउभाउ, व्यक्तिको पोसाक र चरित्रको माध्यमबाट कथा अभिव्यक्त गरिएको छ। हरेक कोणबाट व्यस्त सहरी जीवनमा बाँचिरहेका मान्छेमाथि व्यंग्य गरिएको छ।
यो नाटक शिल्पीका नवौं सत्रका विद्यार्थीले मञ्चन गरिरहेका हुन्। नाटकको निर्देशन नेदरल्यान्डका रंगकर्मी लिमा रोडले गरेका हुन्। नाटकमा रविन परियार, शान्ति लामा तामाङ, मोहन प्रकाश, शैलेन्द्र थेवे, नगेन माखिम, मञ्जरी दवाडी, पेस्ला कटुवाल, गोविन्द ओली, निसिम श्रेष्ठ, दीपखिशा दवाडी, अवतार पाठक, असीम खनाल, शरद गिरी, समीत भण्डारी लगायतको अभिनय छ।
अस्ट्रियन नाटककार पिटर ह्यांकेको नाटक दी आवर वी नो नथिङ अफ इच अदर नाटकको शैलीलाई पछ्याउँदै बनेको हो। फरक शैलीमा प्रस्तुत गरिएको यो नाटक ६० मिनेटको छ। नाटक २० असोजसम्म मञ्चन हुनेछ।