सालो पर्ने भारतीयलार्इ छोरो बनाएर नेपाली नागरिकता दिन खोज्दा....
धनुषा : नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम-१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ परेका रतसिफलार्इ नाताले भेनाजु पर्ने मन्जुरले छोरा भनी नेपाली नागरिकता दिने तयारी गरेका थिए । मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।
प्रहरीले छापा मारेपछि नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।
पक्राउ परेका तीनैजनालाई हिरासतमा राखी यसपूर्व नक्कली नागरिकता बनाउने कार्यमा सङ्लग्न रहे नरहेकाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।