तालाबन्दीले सेवाग्राही मर्कामा
मुगु : छायानाथ रारा नगरपालिकाभित्रका १४ वडाका वडाध्यक्षले वडा कार्यालयको व्यवस्थापन, मसलन्दलगायत आफ्नो सेवा–सुविधाको रकम निकासा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन्। छायानाथ रारा नगरपालिकाभित्रका १४ वडाका वडाध्यक्षहरूले पहिलो चौमासिकको आफूले पाउने सेवा–सुविधादेखि घरभाडा, बिजुली, सञ्चार, मसलन्द खर्च नगरपालिकाले निकासा नदिएपछि रकम अभावकै कारण दैनिक कार्य सञ्चालन गर्न बाधा पुगेको बताए ।
असोज १८ गतेदेखि नगरपालिकाको १४ वटै वडा कार्यालयमा अनिश्चितकालीन वडाध्यक्षहरूले तालाबन्दी गरेका थिए। नगरपालिकाको तेस्रो नगर परिषद्ले १४ वटै वडा कार्यालय व्यवस्थापनका लागि १० लाख बजेट बिनियोजन गरेको थियो। विनियोजित बजेट वडा कार्यालयलाई निकासा नदिँदा वडा कार्यालयको दैनिक कार्य सञ्चालन गर्न बजेट नहुँदा वडा कार्यालय बन्द गर्नुपरेको छायानाथ रारा नगरपालिका–२ का वडाध्यक्ष परेक चौलागाईंले बताए ।
सिंहदरबारको अधिकार वडामा पुगेको भनिए पनि नगरपालिकाको कार्यशैलीका कारण वडा कार्यालय बन्द गर्नुपरेको उनी बताउँछन्। उनले भने, ‘नगर परिषद्ले विनियोजन गरेको बजेटको पहिलो चौमासिकमा निकासा हुनुपर्ने रकमसमेत निकासा भएको छैन ।’ प्रदेश सरकारले स्थानीय निकायका जनप्रतिनिधिको सेवा–सुविधाबारे राजपत्रमा प्रकाशन भइसकेको छ।
शपथ लिएदेखि अहिलेसम्म सेवा–सुविधा नपाएको वडा नम्बर ४ का अध्यक्ष विष्णुकुमार भाम बताउँछन्। ‘नगरपालिकाको तेस्रो नगर परिषद्बाट वडा कार्यालय व्यवस्थापन खर्चका लागि बजेट विनियोजन गरेको भए पनि उक्त बजेट नियमअनुसार निकासा दिन नमिलेको हो’, छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले भने। दैनिक कार्य सञ्चालनका लागि घरभाडा, बिजुली र मसलन्द खर्चका लागि बिलअनुसार भुक्तानी दिनेसम्बन्धी जानकारी सबै वडाध्यक्षलाई गराइसकेको उनले बताए ।
सिफारिस लिन आफ्नो वडा कार्यालयमा पुगेका छायानाथ रारा नगरपालिका–१ का काला नेपालीलाई अध्यक्ष लोकबहादुर हितानले कार्यालय सञ्चालन गर्न नगरपालिकाले विनियोजन गरेको बजेट निकासा नदिँदा कठिनाइ भएको भन्दै सिफारिस लिन नगरपालिका पठाए। नेपालीजस्तै अन्य सेवाग्राहीलाई वडाध्यक्षहरूले विनियोजित बजेट निकासा नहुन्जेल नगरपालिका जान भनिएको सेवाग्राही बताउँछन् ।