अन्तर्राष्ट्रिय फेस्टिवलमा ‘देश खोज्दै जाँदा’
काठमाडौं : प्रकाश आङ्बे निर्देशित फिल्म ‘देश खोज्दै जाँदा’ अमेरिका र युरोपका दुई अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा छनोट भएको छ ।
जर्मनीको बर्लिनमा हुने ‘रिफ्युजी वेलकम फिल्म फेस्टिवल’ अमेरिकाको फिलाडेल्फियामा हुने एसियन अमेरिकन फिल्म फेस्टिवलमा अफिसियल छनोटमा परेको हो ।
दर्जन बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा सहभागी भइसकेको फिल्म ‘देश खोज्दै जाँदा’ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बेस्ट नेशन फिचर फिल्मको अवार्ड र नेपाल अमेरिका अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा बेस्ट जुरी अवार्ड जितिसकेको छ ।
फिलाडेल्फिया एसियन अमेरिकन फिल्म फेस्टिवल नोभेम्बर ८ देखि १८ सम्म चल्नेछ । संसारभरका सयौं फिल्म र फिल्ममेकरको उपस्थित हुने यो महोत्सवमा देश खोज्दै जाँदाले क्लोजिङ स्क्रिनिङको अवसर पाएको छ ।
बर्लिनमा भने यही अक्टोवर २५ देखि ३१ सम्म रिफ्युजी वेलकम फिल्म फेस्टिवल हुनेछ । देश खोज्दै जाँदा नेपालीभाषी भुटानी शरणार्थीको शिविरको भोगाइ, देश फर्किने उत्कट चाहना र विकल्प नभएपछि तेस्रो देश जानुपरेको बाध्यतामाथि केन्द्रित छ ।
निर्देशक प्रकाश आङ्देम्बे भन्छन् “हामी चाहन्छौँ संसारमा कोही पनि शरणार्थी हुन नपरोस् । यही सन्देश दिनका लागि यो फिल्म बनायौँ । साथै आफ्नो लाखौँ जनतालाई शरणार्थी बनाएर विश्वमा आफ्नो देश भुटान ह्याप्पी ग्रोसनेस भनेर भ्रम फैलाउने भुटानका शासकको अनुहार उदाङ्गो होस् भनेर यो विषय उठाएका हौँ ।”
फिल्मको पटकथा कवि तथा लेखक उपेन्द्र सुब्बाले लेखेका हुन् । सुब्बाको यो नै पहिलो पकटथा पनि हो । हेमन्त बुढाथोकी, मीना कोइराला, बाबु बोगटी, तिब्बत राई, ओवेत साम्पाङ, अरुणा कार्की, सुवास थापा, शिवशंकर थापा, टंक विकल्प, सरिता ओली लगायतको अभिनय फिल्ममा छ ।