किसानलाई धान भित्र्याउने चटारो

किसानलाई धान भित्र्याउने चटारो

भक्तपुर : मौसममा एक्कासी परिवर्तन आएपछि भक्तपुरका किसान धान काट्न व्यस्त भएका छन्। भित्र्याउने समयमा पानी पर्न थालेपछि किसानलाई धान काट्ने चटारो भएको छ। भक्तपुरका खेतमा धान पाकेर पहेंलपुर छ। तर, वर्षाले पाकिसकेको धान झार्ने डरले किसान चिन्तित हुन थालेका छन्। उनीहरूलाई वर्षासँगै असिना आउने डर पनि छ।

दुई वर्षअघि पानीसँगै असिना पर्दा धेरै किसानको भित्र्याउन ठिक्क धानबालीमा क्षति पुगेको थियो। त्यसैले यसवर्ष पनि त्यस्तो नहोस् भन्नेतर्फ किसान सचेत देखिएका छन्। ‘वर्षासँगै असिना पनि आउनसक्छ। मौसमको कुनै भर हुँदैन’, भक्तपुरको चाँगुनारायण नपा ४ का छालिङका जगत सुवाल भन्छन्, ‘दुई वर्षअघि धान भित्र्याउन नपाउँदै असिनापानीले सोत्तर बनायो।’

दसैंपछि मात्रै धान भित्र्याउने सोचेका उनले तीन÷चार दिनदेखि मौसम बदलिएकाले धान काटिहालेको सुनाए। भक्तपुरमा शुक्रबार, शनिबार र आइतबार मौसम बदली भई सामान्य वर्षा भएको छ। यसले गर्दा किसानको धान काट्ने काम प्रभावित भयो। काटेर चुट्नमात्रै बाँकी धान खेतमा छाड्न किसान बाध्य छन्। ‘पानी परेर काटिसकेको धान पनि चुट्न पाइएन’, चाँगुनारायण नपाकी सावित्री थापाले भनिन्, ‘दिनहुँ पानी परे बाँकी धान कहिले काट्ने भन्ने चिन्ता परेको छ।’

उनले मजदुर अभावले भनेको बेला धान काट्नसमेत नपाउने गुनासो गरिन। अहिले स्थानीय टाइचिन जातको धान रोपेका किसानले मात्रै धान काट्न थालेका छन्। हाइब्रिड लगाउनेको धान पाकिसकेको छैन। हाइब्रिड धान दसैंपछि मात्रै काट्न तयार हुन्छ। यसपालि दसैंसमेत पछि सरेको हुँदा स्थानीय टाइचिन धान काट्न ढिलो भइसकेको छ।

उत्पादन धेरै हुने आसमा यहाँका धेरैभन्दा धेरै किसानले चिनियाँ हाइब्रिड धान लगाएका छन्। किसानका अनुसार स्थानीय टाइचिनभन्दा हाइब्रिड धान दोब्बर फल्छ। तर, बजारमा बिक्री गर्नुपर्दा भने मूल्य सस्तो छ। टाइचिन धान खेतबाटै सफा गरेर बेच्दा प्रतिकिलो ४५ रुपैयाँसम्म पाइन्छ। हाइब्रिड धान भने मुस्किलले २५ रुपैयाँमा बिक्री हुने व्यापारी बताउँछन्।

जिल्ला कृषि विकास कार्यालय भक्तपुरको तथ्यांकअनुसार जिल्लाको कुल एघार हजार एक सय ६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार तीन सय ४८ हेक्टर क्षेत्रफलमा धान हुन्छ। यसबाट २५ हजार ६८ मेट्रिक टन धान उत्पादन हुने कार्यालयको तथ्यांक छ। भक्तपुर देशमै बढी धान उत्पादकत्व भएको जिल्ला हो। यहाँ एक हेक्टरमा ५.७६ मेट्रिक टन धान उत्पादन हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.