संगीतमय बन्यो अवार्ड समारोह
मञ्चमा दोहोरी ‘ब्याटल’ चलिरहेको थियो। गायकगायिका सांस्कृतिक पहिरनमा सजिएका थिए। सेलिब्रिटी गेस्टले सोल्टी क्राउन प्लाजाको हल भरिभराउ थियो। छिप्पिँदै गएको रातमा एकपछि अर्को सांगीतिक प्रस्तुतिले माहोल रोमान्टिक बन्दै गएको थियो।
त्यसमाथि कुटुम्ब, १९७४ एडी, निमा रुम्बा, दि कार्टुन क्रुज, प्रियंका कार्कीजस्ता कलाकारको धमाकेदार परफरमेन्सले माहोल अझै तातेको थियो। शनिबार साँझ २०औं इमेज अवार्डमा देखिएको दृश्य हो यो। भव्य रूपमा सम्पन्न भएको उक्त अवार्ड समारोहमा नेपाली गीतसंगीत क्षेत्र थुप्रै स्रष्टाको उपस्थिति थियो। सुरिलो आवाजका धनी गायकगायिकाको बाक्लो उपस्थितिले अवार्ड समारोह पूरै संगीतमय बनेको थियो।
अवार्ड समारोहमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने ऊर्जाको क्षेत्रमा दिएको योगदान र नेपाललाई लोडसेडिङ मुक्त बनाएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘बेस्ट पर्सनालिटी अफ दि इयर’ प्रदान गरिएको थियो।
यो वर्षको पब्लिक च्वाइस अवार्ड गायिका टीका प्रसाईंको गीत ‘माया लुकी लुकी’ ले प्राप्त गर्न सफल भयो भने बेस्ट म्युजिक भिडियो र बेस्ट भोकल परफरमेन्स पप मेलतर्फको विधामा दीपक वज्राचार्यको ‘मन मगन’ ले अवार्ड हात पा¥यो। उनी कन्सर्टका लागि देशबाहिर भएकाले कार्यक्रममा उपस्थित थिएनन्। बेस्ट सङ र बेस्ट कम्पोजिसनतर्फको विधामा भने ‘जाउँला रेलैमा’ बोलको गीतबाट गायक तथा संगीतकार कमल खत्रीले अवार्ड हात पारे।
यस वर्षको सर्वोत्कृष्ट गायन पुरुषतर्फको अवार्ड ‘जाउँ तिमी’ गीतका कर्माग्याल्जेन बमजन र सर्वोत्कृष्ट गायन महिलातर्फको अवार्ड ‘वन फूल’ गीतकी गायिका दुर्गा परियारले प्राप्त गरेका हुन्। इमेज अवार्ड २०१८ मा सर्वोत्कृष्ट पप गायन महिलातर्फको अवार्ड ‘मनचरी’ गीतकी गायिका श्रेया सोताङलाई अवार्ड वितरण गरिएको थियो।
त्यसैगरी उत्कृष्ट गीत रचनातर्फ ‘यो ऐना भनाउँदो’ गीतका रचनाकार आनन्द अधिकारी, सर्वोत्कृष्ट समूह वा युगलगायन अवार्ड ‘हावा घरैमा’ भन्ने गीतका लागि पूजन लोहागन र अनुपमा प्रधानले प्राप्त गरे। त्यसैगरी सर्वोत्कृष्ट नवकलाकार अवार्ड ‘छामी हेरन’ बोलको गीतका गायक सुवासचन्द्र जोशी र ‘नौलाई शून्य नब्बे’ गीतका रूपकुमार राई र मेनुका राईले सर्वोत्कृष्ट गायन दोहोरी गीततर्फको अवार्ड पाउन सफल भए।
सर्वोत्कृष्ट गायन लोकगीततर्फ ‘दुई रुपैयाँको बिँडी’ गीतकी गायिका सीता थापा, सर्वोत्कृष्ट लोकगीत संकलकको अवार्ड ‘बोल माया’ गीतका संकलक प्रकाश सपुतले प्राप्त गरे। साथै दोहोरी, म्युजिक भिडियो छायाकार, सम्पादक, निर्देशनतर्फ पनि अवार्ड वितरण गरिएको थियो।
कार्यक्रममा इमेज ग्रुप अफ कम्पनीका अध्यक्ष आरके मानन्धरले नयाँ लोगो सार्वजनिक गरेका थिए। कार्यक्रममा २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भएर दर्ता भएका नेपाली गीतका एल्बम, म्युजिक भिडियो एवं सिंगल ट्र्याकमध्येबाट १८ विधामा स्रष्टालाई पुरस्कार प्रदान गरिएको थियो।
इमेज परिवारले कलाकारिता र संगीत क्षेत्रमा विशेष योगदान पुर्याएका स्रष्टालाई सम्मानस्वरूप अवार्ड वितरण गर्दै आएको छ।