किराना पसलबाट लागुपदार्थ बिक्री
परासी : नेपाल र भारतीय प्रहरीहरूले लागुपदार्थ सेवन गर्ने दुव्र्यसनी र ओसारपसार गर्नेमाथि निगरानी बढाउन थालेपछि किराना पसलहरूबाट लागुपदार्थ बिक्री गर्न थालिएको पाइएको छ। पश्चिम नवलपरासीको महेशपुर, भुजहवा, त्रिवेणी र बिस्नुपुरा नाकाबाट दिनहुँ दुव्यर्सनी र कारोबारमा संलग्न व्यक्तिहरू सीमा क्षेत्रको भारतीय बजार जाने गरेका छन्। दुव्यर्सनी बढेसँगै भारतीय बजारका मेडिकलमा प्रहरीले निगरानी बढाउन थालेपछि किराना पसलबाट लागुपदार्थ बिक्री गर्न थालिएको हो।
केही वर्षअघि निर्वाध रूपमा भारतीय बजारका मेडिकलले लागुपदार्थ बिक्री गर्ने गरेका थिए। पछिल्लो पटक भारतीय प्रहरीले समेत त्यस्ता मेडिकलमाथि निगरानी बढाउँदै बिक्रीमा प्रतिबन्ध लगाएको थियो। तर, नयाँ शैली अपनाएर किराना पसलमार्फत बिक्री हुँदै आएको पाइएको छ।
सबैभन्दा बढी ठूठीबारीका केही किराना पसलले त्यसरी लागुपदार्थ बिक्री गर्ने गरेको पाइएको छ। त्यसरी बिक्री गरिने लागुपदार्थमा फेन्सेडिल, कोरेक्सलगायत छन्। त्यसैगरी डाइजापाम, फेनरागन, नुर्फिन, नाइट्रोभेट, समास्मो, नोट्रोस्पामलगायत ट्याब्लेट र सिरिन्ज लागुपदार्थ पनि किराना र मेडिकलबाटै बिक्री भएको पाइएको छ। किराना पसलहरूमा प्रहरीको निगरानी नहुने भएकाले दुव्यर्सनी र कारोबारीहरूले सहज रूपमा लागुपदार्थ खरिद गर्ने गरेका छन्।
किराना सामान खरिद गर्ने बहानामा पुग्ने उनीहरूलाई व्यापारीले कागज र झोलामा प्याक गरेर लागुपदार्थ दिने गरेका छन्। पछिल्लो पटक सीमावर्ती बजारका केही मेडिकलले खुलेआम लागुपदार्थ बिक्री गर्ने गरेको आलोचना बढेपछि भारतीय ड्रग्स विभागले छापा मार्न थालेको छ।
नेपाल र भारतको सीमावर्ती जिल्लास्तरीय सुरक्षा अधिकारीको बैठकमा समेत लागुपदार्थ नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ। नेपालतर्फबाट दुव्यर्सनी र कारोबारीहरू जाने गरेको नेपाली सुरक्षा अधिकारीहरूले जनाएपछि केही दिनअघि भारत महाराजगन्जका सीडीओ (डीएम) अमरनाथ उपाध्यायको निर्देशनमा सीमावर्ती भारतीय मेडिकलमा छापा मारिएको हो।
ड्रग इन्स्पेक्टर सन्दीप चौधरीको नेतृत्वमा पुगेको ड्रग विभागका अधिकारीले ठुठीबारी, बर्गदवा र लक्ष्मीपुरका मेडिकलमा छापा मारेको थियो। त्यस क्रममा केही मेडिकलले लागुपदार्थ बिक्रीका लागि राखेको पाइएपछि सिल गरेको थियो। आवश्यक कागजपत्र नभेटेपछि लागुपदार्थ बरामद गरी कानुनी प्रक्रिया अघि बढाइएको थियो। ती मेडिकलबाट ड्रग विभागका अधिकारीहरूले फेन्सेडिल, कोरेक्स, एल्पापीलजस्ता लागुपदार्थ बरामद गरेका थिए। ठुठीबारीमा २० बढी मेडिकल पसल छन्।
त्यसैगरी बर्गदवा र लक्ष्मीपुरमा १० देखि १५ वटा मेडिकल छन्। प्रहरीले छापा मारे पनि केही मेडिकलले लुकिछिपी लागुपदार्थ बिक्री गर्ने गरेका स्थानीयले बताएका छन्। त्यसैगरी जिल्लाका अन्य नाकासँग सीमा जोडिएका भारतीय बजारहरू बर्गदवा, लक्ष्मीपुर र भैंसालोटनमा दिनहुँ दुव्यर्सनी हुने गरेका छन्। ती नाकामा चितवन, तनहुँ, पाल्पा, म्याग्दी, पोखरा, बागलुङ स्याङ्जालगायत जिल्लाबाट दुव्र्यसनी हुने गरेको छ।
त्यसरी लागुऔषध प्रयोग गर्न पुगेका युवाले नै ओसारपसार गर्ने गरेको पाइएको छ। विभिन्न नाका र बजार क्षेत्रबाट पक्राउ गरेका अधिकांश युवा दुव्यर्सनीमा रहेका र उनीहरूले नै ओसारपसार गर्ने गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका अधिकांशले ठूलो मात्रामा लागुपदार्थ ल्याउने नगरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ।