गोरुको मृत्युमा भव्य शवयात्रा र दाहसंस्कार
नयाँदिल्ली : तपाईँले घरमा पालेको गोरु वा साँढे मर्यो भने के गर्नुहुन्छ ? खाडल खनेर पुरिदिनुहुन्छ होला ।
तर भारतको बिहारस्थित गया जिल्लामा एउटा गोरुको मृत्युलाई भव्य शवयात्रा सहित श्रद्धान्जली दिँदै मृत्यु संस्कार मनाइयो । शवयात्रामा भेला भएका सय भन्दा बढी स्थानीयले ‘हर हर महावेद’ नारा लगाउँदै बाजागाजा समेत गरे । शवयात्रामा हिन्दु र मुसलमान समुदायका समेत थिए ।
खादा ओडाएर, फूलमाला र अविर लगाइएको गोरुको मृत शरिरलाई बयलगाढामा चढाएर सहर परिक्रमा नै गराइयो । १० वर्षको उक्त गोरुले बिहानै मुखबाट फिँज निकालेपछि चिकित्सकलाई बोलाइयो । तर बचाउन नसकेपछि गाउँलेको भेलाले विधिपूर्वक मृत्यु संस्कार गराउने भन्दै गोरुको मृत शरिरलाई सहर परिक्रमा गराएका हुन् ।
खासमा उक्त गोरु स्थानीयहरुमाझ ‘बादशाह’, ‘डन’ जस्ता नामले लोकप्रिय थियो । दुई वर्षअघि यही ठाउँमा बिजुलीको झट्का लागेर एउटा बाँदरको मृत्यु भएको थियो । मृत्युपछि गाउँलेले बाँदरको हिन्दु विधि अनुसार मृत्यु संस्कार गर्दै त्यसको मन्दिर समेत बनाइएको थियो । यस पटक पनि बादशाह नामको गोरुको मृत्यु हुँदा गाउँलेले सहर परिक्रमा गराउँदै केही किलोमिटर पर लगेर दाहसंस्कार गरे।
-बिबिसी हिन्दीबाट