अख्तियारलाई नापी र मालपोत खाली गर्न मन्त्रीको चुनौती
मालपोतमा सरलिकृत फारमको सुरुवात
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मकुमारी अर्यालले नापी र मालपोत खाली गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई चुनौती दिएकी छन्।
भूमिसुधार तथा मालपोत कार्यालयमा सरलिकृत फारमको शुभारम्भ गर्दै मन्त्री अर्यालले नापी र मालपोत कार्यालय सबैभन्दा बढी बदनाम भएको बताउँदै सुधार्नु पर्नेमा जोड दिँदै अख्तियारलाई यस्तो चुनौती दिएकी हुन्।
संवैधानिक निकायको प्रमुखले नापी र मालपोत प्रति गरेको ध्यानाकर्षणले आफू गम्भीर भएको बताउँदै उनले भनिन, ‘देशभर खाली हुने भए गर्नोस, दुई-तीन महिना खाली होला, त्यसपछि नयाँ भर्ती गरेर अघि बढाउँछौं।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त भएलगतै नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गरे नापी र मालपोत खाली हुने अभिव्यक्ति दिएका थिए । मन्त्री अर्यालले सबै कार्यालय खाली गरेर शीर उठाउन सक्ने अवस्था बनाउन निर्देशन दिएकी हुन्।
‘मन्त्रालय मातहतका निकायमा सेवाग्राहीले गिज्याउने दिन नआओस्’, उनले भनिन्, ‘साह्रै गम्भीर कुरा उठेको छ। यसमा हामी अख्तियारलाई सहयोग गर्छौँ ।’
उनले नापी र मालपोतको धमिलो छविलाई नामेट र स्वास्थ्य बनाउने अभियान नै सञ्चालन गर्ने बताइन् । मालपोत र नापीका कर्मचारी चरित्र सुधार गर्न समेत मन्त्री अर्यालले निर्देशन दिएकी छन् ।
भ्रष्टाचारको अभियोगमा सबैभन्दा बढी नापी र मालपोतका कार्मचारी पक्राउ परिरहेको बताउँदै मन्त्री अर्यालले शिर झुकाउनु पर्ने अवस्था आएको बताइन् ।
मन्त्रालयले मंगलबारबाट भूमिसुधार तथा मालपोत कार्यालयमा सरलिकृत फारमको सुरुवात गरेको छ । मालपोत कार्यालय ललितपुरबाट सरलिकृत फारमको सुरुवात गरिएको मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।
अब मालपोतमा जग्गा पास गर्दा, रजिष्ट्रेसन गर्दा बिचौलियाको आवश्यकता नपर्ने मन्त्रालयले दाबी गरेको छ । सचिव मैनालीले अब व्यक्ति व्यक्तिले नै फारम भर्न सक्ने बताए ।