खसीबोकाको मासुमै मासिक नौ अर्ब खर्च

खसीबोकाको मासुमै मासिक नौ अर्ब खर्च

काठमाडौं : नेपालीले मासिक नौ अर्ब रुपैयाँको खसीबोकाको मासु खाने गरेको पाइएको छ। उपभोक्ता मूल्यलाई आधार मान्दा देशभर मासिक नौ अर्ब २८ करोड ८० लाख रुपैयाँको मासु खपत हुने देखिएको छ। मासु खानकै लागि नेपालीले वार्षिक एक खर्ब ११ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खर्च गर्छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छ। तीमध्ये झण्डै तीन लाख ८४ हजार दुई सय दुई गोटा स्वदेशमै उत्पादन हुन्छन्। अपुग करिब ४५ हजार सात सय ९८ देखि पाँच हजार गोटा भने भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिन्छ। आयात हुनेमध्ये करिब ७० देखि ८० प्रतिशत हिस्सा भारतको छ।

स्वदेश र आयातित खसीबोका औसत ३० किलोका हुन्छन्। ३० किलोका खसीबोकाको २४ किलो तयारी मासु बन्छ। एक किलो खसीको मासुको उपभोक्ता मूल्य औसत नौ सय रुपैयाँ पर्छ। स्वदेशी उत्पादन तीन लाख ८४ हजार दुई सय दुई गोटाबाट औसत ९२ लाख २० हजार किलो मासु तयार हुन्छ। यस्तै विदेशबाट आयात हुने ४५ हजार सात सय ९८ गोटाबाट १० लाख ९९ हजार एक सय ५२ किलो मासु तयार हुन्छ। दसैंंलगायत चाडवाडको तथ्यांक भने यो परिमाणमा जोडिएको छैन।

दसैंंमा सामान्य दिनभन्दा झण्डै १० दोब्बर हाराहारीमा खसीबोकाको मासु कारोबार हुन्छ। दसैंंमा हुने कारोबारलाई जोड्ने हो भने वार्षिक करिब डेढ खर्बभन्दा बढीको मासु नेपालीले खाँदै आएका छन्। दसैंका लागि ५७ करोड ६० लाख रुपैयाँका ३६ हजार गोटा खसीबोका आयात गरिन्छ।

चौपाया खरिदबिक्री सेवा संघका अनुसार सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै नेपाली उपभोक्तामा मासु खाने प्रचलन बढेको छ। विगतमा लेदो मासुमा रमाउने उपभोक्ता अहिले विविध परिकारको स्वादमा रमाउन थालेका छन्। साना रेस्टुरेन्टदेखि पाँच तारे होटेलसम्मले अहिले खसीबोका मासुका परिकार मेनुमा पस्किन थालेपछि उपभोग दर बढेको छ। ‘खसीबोकाको मासुबाट बनाइने विभिन्न प्रकारका परिकारका कारण पनि खपत बढ्दै गएको हो’, संघका अध्यक्ष गोविन्द पाठकले भने।

मासु खानकै लागि नेपालीले वार्षिक एक खर्ब ११ अर्ब ४५ करोड ६० लाख रुपैयाँ खर्च गर्छन्।

खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कवाफ, सिंक कवाफ, भरेको फोक्सो, मटन चप्स, मटन वल, रोगन जोस, मुस्लिम कवाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कवाफ, सेकुवा, मटन विरयानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकारका कारण उपभोगदर बढ्दै गएको हो।

महिना मै ३७ करोडको आयात

नेपालमा मासिक ३७ करोड मूल्य बराबरका साढे ४५ हजारको संख्यामा खसीबोका आयात हुन्छ। मुख्य गरी भारत, अमेरिका र अस्ट्रेलियाबाट खसी आयात गरिन्छ। भन्सार विभागको तथ्यांकलाई आधार मान्ने हो भने चालु आर्थिक वर्षको पहिलो महिनामा यो मूल्यबराबरको खसीबोका आयात भएको हो। वार्षिक नेपालमा डेढ खर्बदेखि एक खर्ब ७५ करोड मूल्यबराबरको साढे तीन लाखदेखि पाँच लाख गोटासम्म खसीबोका आयात हुने गरेको छ।

व्यवसायीका अनुसार आयातित खसीबोकामध्ये ९० प्रतिशत उपत्यकामा खपत हुन्छ। स्वदेशमा उत्पादन भए पनि ग्रामीण भेगसम्म बाटोघाटोको असुविधा र ढुवानी समस्याका कारण बाहिरी मुलुकबाट ठूलो परिमाणमा खसीबोका आयात गर्नुपरेको हो। ‘स्वदेशमै पर्याप्त परिमाणमा खसीबोका उत्पादन हुन्छ’, चौपाया खरिदबिक्री सेवा संघका पूर्वअध्यक्ष दिपक थापाले भने, ‘बाटोघाटो र ढुवानीको असुविधाका कारण खसीबोका ठूला बजारमा आउन पाउँदैन।

लोकल उत्पादन स्थानीय स्तरमै खपत हुन्छ।’ उनका अनुसार आयातित खसीबोकामध्ये झण्डै शतप्रतिशत ठूला सहरमा खपत हुने गर्छ। संघका अनुसार भारतकोे लखनउ, बहराइच, काल्पी, जसविरनगर, कानपुर र हरियाणालगायतबाट लाम्काने र जमुनापारी जातका खसी आयात गरिन्छ। चौपाया खरिदबिक्री सेवा संघका अनुसार उपत्यकामा थोकमा खसीबोकाको वार्षिक कारोबार १६ अर्ब मूल्यबराबरको हुन्छ

मासु पनि आयात

नेपालमा खसीबोका मात्रै होइन, तयारी र प्रशोधित उच्च गुणस्तरको मासु पनि आयात हुन्छ। चालु आर्थिक वर्षको दुई महिनामा विभिन्न मुलुकबाट तीन करोड ५१ लाख ३९ हजार मूल्यबराबरको खसीबोकाको मासु आयात भएको छ। यस अवधिमा नेपालबाट भने चार करोड ४२ लाख १२ हजार मूल्यबराबरको स्वदेशी खसीबोकाको मासु निर्यात भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.