धमाधम सडक मर्मत

धमाधम सडक मर्मत

ताप्लेजुङ : सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरुङ एक महिनायता सिनाम–आम्बेगुदिन सडक मर्मतमा लागेका छन्। ‘बल्लतल्ल खुलायो, अलिअलि पानी पर्‍यो कि पहिरो झरेर अवरुद्ध भइहाल्छ’, अध्यक्ष गुरुङले भने, ‘त्यसैले चौबीसै घण्टा मेसिन तयारी अवस्थामा राखेका छौं।’

चाडबाडमा गाउँसम्म खाद्यान्नलगायत सामान ढुवानी गर्ने र स्थानीयवासी घर फर्किने बाटो यही हो। यो सडक आफ्नो प्रतिष्ठासँग जोडिएकाले मर्मतमा खटिएको उनले सुनाए। खेवाङमा सडक मर्मत भइरहेको वडाध्यक्ष नयनाथ तिवारीले जानकारी दिए। जिल्लाका सबै स्थानीय तहका पदाधिकारीको ध्यान अहिले ग्रामीण सडकमै छ। वर्षायाममा बाढीपहिरोले क्षतविक्षत सडक मर्मतलाई स्थानीय सरकारले तीव्रता दिएका छन्। वर्षायाम सकिएसँगै चाडपर्वसमेत नजिकिएकाले गाउँसम्म पुग्ने सडक स्तरोन्नतिको काम थालिएको हो।

आठराई त्रिवेणी गाउँपालिकाले सदरमुकाम फुङलिङबाट हाङपाङ र त्यहाँबाट पाँचवटै वडा जोड्ने सडक मर्मत गरिरहेको छ। ‘दसैंअगावै सबै वडामा गाडी पुर्या‍उने योजनाअनुरूप काम भइरहेको छ’, गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले भने, ‘मेसिन एउटा मात्र भएकाले पालै पालो काम हुन्छ।’

उनका अनुसार गाउँपालिका कार्यालय–मेहेले, पांग्राझ्याल–फुग्वा खोला, डाँडाखर्क–फुग्वा खोला, चाँगे मावि–वडा नम्बर ५ कार्यालय जाने सडक पनि दसैंअगावै मर्मत भई गाडी चल्नेछ। गाउँपालिकाले सबै सडक मर्मतका लागि १ लाख बजेट विनियोजन गरेको उनले सुनाए।

मैवाखोला गाउँपालिकाले दोभानबाट साँघुसम्मको सडक मर्मत गरिरहेको छ। ‘सडक बर्खामा पानीले बिगारेको थियो’, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले भने, ‘जेसीबी प्रयोग गरी सडक मर्मत भइरहेको छ।’ यो सडक मर्मतपछि सदरमुकामबाट साँघुसम्म साना सवारी चल्नेछन्। साँघुबाट गुफापोखरी जाने सडकको पनि स्तरोन्नति गरिने उनले सुनाए। ‘दसैंअघि ताप्लेजुङ–साँघु–बसन्तपुर हुँदै सुनसरीको धरानसम्म गाडी चल्ने गरी काम गरिरहेका छौं’, उनले भने।

दोभानमा तमोर र मैवा नदीमा पुल बनेपछि क्षेत्र नम्बर २ का आठराई त्रिवेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकाका सबै वडामा साना गाडी पुग्ने भएका छन्। मेरिङ्देनले यसअघि नै मर्मत गरी थुकिमाको ओरकसम्मको सडक सञ्चालनमा ल्याएको छ। फुङलिङ र दोभानबाट खाम्लुङ, सान्थाक्रा, लिङ्तेप र थुकिमासम्म गाडी सञ्चालनमा रहेको गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूको भनाइ छ।

सिदिङ्वा गाउँपालिकाले पनि केन्द्र र वडा जोड्ने सडक मर्मत गरिरहेको छ। ‘आङ्खोपको आँगेवा र लिम्बुदिनको अम्विका आधारभूत विद्यालयसम्म दसैंअघि गाडी सञ्चालन गर्ने तयारी छ’, गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले भने। लिम्बुदिनबाट सुरुम्खिम जाने सडक स्तरोन्नति र नयाँ ट्र्याक खोल्न १ करोड ४० लाख विनियोजन गरिएको छ। त्यस्तै, मेहेलेबाट खेवाङ जाने सडक मर्मत एक साताभित्र सक्ने योजना उनले सुनाए। फुङलिङ नगरपालिका, पाथीभरा याङ्वरक र फक्ताङलुङ गाउँपालिकाले पनि सडक मर्मत गरिरहेको जनाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.