२२ वडा अलैंची जोन
![२२ वडा अलैंची जोन](https://annapurnapost.prixacdn.net/media/albums/alaichi-Terhathum_20180812053413_NnPorKn6yL.jpg)
भोजपुर : भोजपुरका चार स्थानीय तहका २२ वडामा अलैंची जोन कार्यक्रम लागू हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइले अलैंची जोन लागू गर्ने निर्णय गरेको हो । जिल्लाका ८१ वडामध्ये २२ वटामा अलैंची जोन कार्यक्रम लागू गरिने परियोजनाका वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारीले जानकारी दिए ।
अलैंचीको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यले यो कार्यक्रम ल्याइन लागेको साबिक जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यक्रम स्वीकृत भएपछि केन्द्रमा सिफारिस गरिएको छ । कृषिमन्त्री सम्मिलित बैठकबाट सिफारिस स्वीकृत भएपछि निर्धारित वडामा कार्यालय स्थापना गरिने सूचना अधिकारी युगमणि भट्टराईले बताए ।
जिल्लाका ३ सय ६० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैंची लगाइएको छ । भोजपुुर, बोखिम, सिद्धेश्वर, गुप्तेश्वर, भैसीपंखा, हेलौंछा, दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडानन्द, कोट, चम्पे बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, किमालुङ, आम्तेकलाई अलैंची पकेट क्षेत्र मानिन्छ ।
गत वर्ष १ सय ९२ मेट्रिक टन अलैंची निर्यात भएको थियो । तीन वर्षअघि प्रतिमन १ लाख ३० हजार रुपैयाँसम्म बिक्री भएको थियो । अहिले अलैंचीको मूल्य प्रतिमन २७ हजारमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)