हत्या आरोपमा चारजना कारागार चलान
ताप्लेजुङ : जिल्ला अदालत ताप्लेजुङले ज्यानसम्बन्धी र सार्वजनिक शान्ति विरुद्धको कसुरमा एकै दिन चारजनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ। मिक्वाखोला गाउँपालिका-३ का सनबहादुर लिम्बू र मानबीर लिम्बू तथा फुङलिङ नगरपालिका-३ बस्ने प्रेम ऐङदेन लिम्बू र दिवस आङबुहाङ कारागार चलान भएका हुन्।
मिक्वाखोलाका सनबहादुर र मानविर लिवाङ काँडेस्थित हाँडीखोला जलविद्यतको प्रशारण लाइन मर्मत गर्ने क्रममा सोही ठाउँका मनकुमार शेर्पालाई विधुतको फलामे पोलमा चढ्न लगाई करेण्ट प्रवाह गरिदिएको आरोपमा पक्राउ परेका थिए। पोलमा चढेको बेला करेण्ट लागेर शेर्पाको गत भदौ २९ गते घटनास्थलमै मृत्यु भएको थियो।
त्यस्तै भदौ ९ गते राति फुङलिङ-३ को कात्तिकेस्थित हर्कजङ प्राङदेन लिम्बूको घर घेरा हाली ढोका फोडेर कोठामा सुतिरहेका संजय प्राङदेन लिम्बूलाई धारिलो हतियार प्रहार गरी ज्यान मार्न खोजेको र हुलदंगा गरेको आरोप प्रेम र दिवसलाई लागेको छ। प्रहरीले चारैजनालाई पक्राउ गरी अनुसन्धानपश्चात् अदालतमा मिसिल पेश गरेको थियो।