महिलाकै पूजा गरिने मन्दिरमा महिलालाई रोक !

महिलाकै पूजा गरिने मन्दिरमा महिलालाई रोक !

जनकपुरधाम : बुधबार विधिवतरुपमा घटस्थापना गरी दसैं सुरु भएको छ।दसैंका दश दिन शक्तिस्वरुपा भगवतीको दश अवतारको महिमा गाउँदै पूजाअर्चना गर्ने गरिन्छ।दसैंमा महिलाको विभिन्न रुपको पूजा गरिन्छ। 

महिलाकै पूजा भव्यताका साथ गरिने भएपनि दसैंका दश दिनसम्म महिलालाई मन्दिरभित्र प्रवेश निषेध गरिने कुरा सबैका लागि विश्वसनीय नहुन सक्छ। तर, जनकपुरको ऐतिहासिक र प्रसिद्ध राजदेवी मन्दिरमा दसैंको दश दिनसम्म महिलालाई मन्दिरभित्र भगवतीको दर्शन र पूजापाठमा रोक लगाउने परम्परा रहिआएको छ।
 

घटस्थापना हुनु पूर्वसम्म महिलालाई राजदेवी भगवती रहेको ठाउँसम्म गएर पूजा गर्न दिइए पनि घटस्थापना पछि भने मुल मन्दिरमै प्रवेशमा रोक लगाइन्छ। महिला बाहिर रहेको झ्यालबाट नै भगवतीको दर्शन र पूजापाठ गर्न बाध्य हुन्छन्। तर पुरुषलाई भने मन्दिरभित्र पूजापाठ गर्न दिइन्छ। 

वर्षौदेखि चल्दै आएको यस परम्परा विरुद्ध कहिलेकाहीँ विरोधका स्वर सुनिए पनि परिवर्तनका लागि कुनै ठोस प्रयास भएको छैन्। अन्य दिन मन्दिरभित्र पसेर राजदेवी माताको बस्ने ठाउँ लिपपोत गर्ने तथा श्रृंगार गर्ने काम महिलाले नै गर्ने गरेपनि दसैंको दश दिन महिलालाई मन्दिरभित्र प्रवेश गर्न नदिनुको पछाडी कुनै ठोस तर्क भने छैन्। तर, वर्षौदेखि यस्तै भइरहेको हुनाले यो परम्परालाई तोड्ने साहस कसैले गर्न नसकेको युवा अभियन्ता सोहन ठाकुरले बताए। 

त्रेता युगामा राजा जनकको राजधानीको रुपमा रहेको जनकपुरमा राजदेवी माता जनकको कुलदेवीको रुपमा रहेको धार्मिक ग्रन्थमा उल्लेखित छ। सोही मान्यताअनुरुप स्थापना गरिएको राजदेवी मन्दिरमा पूजापाठ तथा भाकल गर्दा मनोवाण्छित फल पाउने जनविश्वास समेत रहेको छ।

सोही आस्थाका कारण दसैंको बेला राजदेवीमा पूजापाठ गर्न आउनेहरुको भीड लाग्ने गर्छ। तर, महिलाकै रुपलाई मन्दिर भित्र राखी पूजा गरिए पनि महिलालाई नै पूजास्थलमा जान नदिनु निन्दनीय भएको अधिवक्ता रेखा झाले बताइन्। झा भन्छिन्, 'यो महिला माथिको ठूलो विभेद हो। यसको पछाडी दिइने तर्कले महिलामाथि हालसम्म भइरहेको विभेदलाई नै प्रष्ट्याउने गरेको छ।'
 
दसैंमा मन्दिरमा तान्त्रिक विधिले पूजापाठ हुने हुँदा तन्त्रमन्त्रमा महिलाको सहभागिता नगराउने गरिएको मन्दिरका पुजारी बताउँछन्। त्यसैगरी महिला महिनावारी हुँदा मन्दिरमा पस्न नहुने तथा त्यस्ता महिला यदि कुनै विधि भगवती नजिक पुगिहाले भने अनिस्ट हुने भएकाले महिलालाई रोक लगाएको तर्क समेत पुजारीको छ। 

कोही महिला बोक्सी विधि जान्ने भएकाले त्यस्ता महिला भित्र पसेर भगवतीलाई मोहनी लगाउन सक्ने भन्दै प्रवेशमा रोक लगाउँदै आएको हो स्थानीय बताउँछन्। तर, यी सबै कुरा केही संकुचित मानसिकताबाट प्रेरित व्यक्ति र वर्गबाट ल्याइएको र महिलाले दसैंको अवधिमा मन्दिरभित्र भगवतीको पूजानै गर्न नपाउने कुनै धर्ममा उल्लेख नभएको भन्दै यसको विरोध गर्नुपर्ने राष्ट्रिय जनता पार्टी नेपालका प्रवक्ता युवा नेता कृष्णा सिंहको ठम्याई छ।

सिंह भन्छन्, 'हामीले मात्र विधि र धर्मले सिकाएको हाम्रो परम्परा र संस्कृतिलाई अपनाउनुपर्छ नकी कसैले चलाएको गलत रितिलाई।'  युवा अभियन्ता अशोक साह पनि यस्तो प्रकारको गतिविधि निकै निन्दनीय र दुखद भएको बताउँछन्। उनी भन्छन्, महिलामाथि विभेद हुने खालका यस्ता परम्परालाई हटाउनु पर्दछ। '

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.