निरुत्तर आमाको बकपत्र

निरुत्तर आमाको बकपत्र

‘मामु, यो बलात्कार भनेको के हो ? किन यो बच्चालाई मारेर फालेका ?’, आठ वर्षकी मेरी सानी छोरी बारम्बार पत्रिकाका हेडलाइन देखाउँदै सोध्छिन्। उनलाई के बताउने, कसरी बताउने ? नाजवाफ म प्रसंग बदल्छु। अचेल निकै होस गर्छु बलात्कार र हत्याका समाचार भएका पत्रिका छोरीले नभेटाओस् भनेर। समाचार आउने च्यानलमा छोरीको ध्यान नजाओस् भनेर कार्टुनमा भुलाउने प्रयास गर्छु।

रौतहटकी एसिडपीडित सुस्मिता दाससँग कुराकानी गर्न कीर्तिपुर अस्पताल जाँदा छोरीलाई पनि सँगै लगेकी थिएँ। आफ्नै छिमेकीले एसिड प्रहार गरेको घटना ध्यान दिएर सुनिरहेकी थिइन् उनले। एक्कासि सोधिन्, ‘मामु, छिमेकी भनेको को हो ? पल्तिरको अंकलले पनि मलाई एसिड हान्छन् होला, अनि दूध डेरीको दाइसँग पनि एसिड छ ? मुनु दिदीले पनि एसिड हान्छ होला मलाई। बाबासँग मात्रै बजार जान हुन्न हो ?’

थाहा पाउँदै छु, यो समस्या मेरो मात्र होइन। अचेल हरेक आमाको चिन्ता यसरी नै बढ्दैछ। केही दिनअघि निकै तनावमा साथी आयु श्रीले सोध्दै थिइन्, ‘तेरो छोरीले बलात्कार भनेको के हो भनेर सोधेकी छैन ?’ स्कुलमै बच्चा बलात्कार भएको समाचार हेरेपछि उनकी छोरी ट्वाइलेट जान पनि डराउन थालिछन्। साथी भन्दै थिइन्, ‘युट्युबमा छोरीले भिडियो हेर्लिन् भनेर मोबाइल र ल्यापटपको पासवर्ड चेन्ज गरेकी छु।’

नियतिजस्तै भएको छ प्रश्नलाई बहाना बनाएर पन्छाउनुपर्ने। चाहन्छु– छोरीको मनमा समाजप्रति गलत धारणा नबसोस्। उसले सिकोस्, समाज मानिसनिर्मित सुन्दर संरचना हो। चाहन्छु, कुनै पनि असुरक्षाको भयबिना हुर्कियोस् ऊ।

छोरीलाई यो समाज नराम्रो छ, छोरी भएकै कारण हिंसा हुन्छ भनेर समाजप्रति नराम्रो धारणा बनाइदिन चाहन्न। ऊ हुर्कने क्रममा कतै पनि असुरक्षा महसुस नगरोस् भन्ने चाहन्छु। लैंगिक असमानतायुक्त समाजमा छोरीहरू प्रायः डरमै हुर्काइन्छन्। हाम्रो हुर्काइ त्यसरी नै भयो। त्यसैले चाहन्छु, कम्तीमा मेरी छोरी पुस्ताले बन्देजका बारहरूबिना हुर्किन पाऊन्। उन्मुक्त उड्न पाऊन् जिन्दगीको अथाह फराकिलो सगरमा। तर कसरी ?

के सामाजिक र लैंगिक हिंसाको त्रासबिना म छोरी हुर्काउन सकूँला ? बिनात्रास हुर्किन पाउनुपर्ने उनकोे अधिकारलाई राज्यले कसरी सम्बोधन गर्ला ? महिला हिंसाविरुद्ध लेख्दै गर्दा छोरीलाई कसरी बताऔं, बलात्कार भनेको के हो ? कसरी व्याख्या गरूँ, छिमेकीले किन एसिड हान्छन् ? सरकारी तथ्यांकले भने मेरै छोरी उमेरका बालिका यौन हिंसाको सबैभन्दा खतरामा रहेको बताउँछ।

दिनहुँ आउने बलात्कारका समाचारले बालिका त्रसित छन्। के हामी उनीहरूलाई भयविहीन परिवेश उपलब्ध गराउन सक्छौं ?

राष्ट्रिय अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनअनुसार नेपालमा १० देखि १५ वर्षसम्मका बालिकामाथि सबैभन्दा बढी बलात्कारको घटना हुने गर्छ। ४८ देखि ६६ प्रतिशत अपराधका पीडित निम्नवर्गीय महिला तथा बालबालिका छन्। यसको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ। प्रत्येक महिना देशभर करिब १९/२० वटा बलात्कारका घट्ना हुने गर्छन्। यति डरलाग्दो तथ्यांक आफैंले सार्वजनिक गरिरहँदा सरकार यी घटना न्यूनीकरण गर्न गम्भीर भने छैन।

बलात्कारलगायतका यौन हिंसा बढ्नुको प्रमुख कारण हो, दण्डहीनता। अपराधीले दण्ड पाएको समाचारले हिंसाका समाचार सिर्जित तनाव घटाउन मद्दत पुर्‍याउँछ। तर अपराध अनुसन्धान नै कमजोर हुने गरेको अधिवक्ता र अधिकारकर्मीहरू नै बताउने गर्छन्। बालिकामाथि हुने शोषण र हिंसाका अधिकांश मुद्दा अदालतसम्म पुग्न सक्दैनन्। अदालत पुगेका मुद्दाको पनि समयमा फैसला हँदैन। सरकारी तथ्यांकअनुसार सर्वाेच्च अदालतमा आउने बलात्कारका मुद्दामध्ये ७० प्रतिशत मुद्दाको फैसला नै हँदैन। त्यस्तै पुनरावेदन अदालतमा ५८ प्रतिशत र जिल्ला अदालतमा ५९ प्रतिशत मुद्दा लामो समय प्रक्रियामै बस्छन्। जति माथिल्लो तहको अदालतमा गयो त्यति नै ढिलो न्याय निरूपण हुने समस्या छ। केही मुद्दा फैसला भए पनि त्यसको कार्यान्वयन प्रक्रिया अत्यन्तै झन्झन्टिलो छ। न्याय पाउनका लागि पीडितले लामो समय सामाजिक, मानसिक अप्ठ्यारो सहनुपर्ने देखिन्छ।

बलात्कार सामाजिक अपराध हो। यसले पीडित महिलालाई शारीरिक, सामाजिक र मानसिक रूपमा असर गरिरहेको हुन्छ। उनीहरूको परिवारलाई समेत लामो समय असर पर्छ। नेपाली समाजमा बलात्कारको आरोपमा सजाय पाएर घर फर्केर कुनै पनि पुरुष सहज जीवनयापन गरिरहेको हुन्छ। उसको कर्तुत समाजले पनि सजिलै बिर्सिदिन्छ। तर उसले बलात्कार गरेको बालिकाको बाँकी जीवन भने प्रायः सहज हुन्न। उनले घरमा बसेर जीवन बिताउने अवस्थासमेत बन्दैन। उनको चरित्रमै खोट देखाइन्छ। हिंसापीडित बालिका र महिलालाई समाजमा पुनस्र्थापित गर्ने कार्यक्रम खोई ?

९५ प्रतिशतभन्दा बढी गरिब तथा निन्नवर्गीय परिवारका बालिका कुनै न कुनै हिंसाको सिकारमा परिरहेका हुन्छन्। तीमध्ये कतिपय घटनामा पीडित परिवारलाई धेरथोर पैसा दिएर मिलाउने गरेको पाइन्छ। अपराध अनुसन्धानमा देखिने चरम लापरबाही र न्याय प्रणालीप्रतिको अविश्वासका कारण यस्तो प्रवृत्ति फस्टाएको पाइन्छ। यस्तो प्रवृत्ति रोक्न राज्यले तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ।

समाचार हेडलाइनमा आउने घटनाले हुर्किंदो उमेरका बालबालिकामाथि कस्तो असर पर्छ, कसैले पनि ध्यान दिएको पाइन्न। न त उनीहरूलाई चाहिने यौन शिक्षा पाठ्यक्रममा समावेश गरिएको छ न त अभिभावकका लागि कुनै प्रभावकारी जानकारी नै दिइएको छ।

आज मजस्तै हरेक आमा आफ्ना छोराछोरीका लागि चिन्तित मात्र होइन, आइपर्ने समस्यालाई कसरी समाधान गर्ने उचित जानकारीको अभावमा छट्पटाइरहेका छन्। बच्चा स्कुलबाट फर्कन पाँच मिनेट मात्र ढिलाइ भो भने सबैको मनमा पाँच सय भोल्टको करेन्ट लाग्न थाल्छ। नराम्रो घटनाको कल्पनाले आतंकित हुनुपर्ने आवश्यकता छ। सपनामा पनि आफ्ना बच्चालाई कसैले अपहरण गरिदिएको, नराम्रो घटना भइरहेको मात्रै देखिने गरिन्छ। कहिलेसम्म यो आतंक बोकेर बसिरहनुपर्ने ? समस्या मेरो, मेरो साथीको मात्र होइन, यो त समाजकै समस्या हो। के हामी बालबालिकालाई सुरक्षित र भयविहीन वातावरणको परिकल्पना गर्न सक्छौं ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.