आन्तरिक विवादले प्रमुख दलका बैठक स्थगित
काठमाडौं : पार्टीभित्रै आन्तरिक विवादमा फसेका सत्तासीन नेकपा र प्रमुख विपक्षी कांग्रेसले आआफ्ना पार्टीका बैठक पछि सारेका छन्। वरिष्ठ नेताहरूले नै आआफ्ना पार्टीका बैठक बसाल्न माग गरे पनि आन्तरिक विवाद साम्य हुन नसक्दा शनिबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक र बिहीबार बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार स्थगित गरिएका हुन्।
पार्टी नेतृत्वले चाडबाडका कारण बैठक पछि गर्ने भनिए पनि दलहरूको आन्तरिक किचलोका कारण बैठकहरू प्रभावित हुन थालेका छन्। असोज २७ मा गर्ने भनिएको सचिवालय बैठक नेकपाले पुनः कात्तिक ४ गतेका लागि सारेको छ। बुधबार नेकपाका अध्यक्षद्वयले पार्टी महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधव नेपालसँग अनौपचारिक छलफल गरेपछि नेकपाको बैठक सरेको हो।
नेविसंघको उमेरहदको विवाद पुनः बल्झिएपछि बिहीबार बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पनि स्थगित गरिएको थियो। नेकपा र कांग्रेसभित्र पछिल्लो समयमा बढ्दै गएको आन्तरिक गुटका कारण नेतृत्व नै सकसमा पर्न थालेको छ।
बुधबार नेकपाका अध्यक्षद्वय ओली र दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा कुराकानी भएको थियो। अध्यक्षद्वयको बैठकपछि महासचिव पौडेल र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै छलफल भएको दाहालका प्रेस संयोजक जुगलविष्णु सापकोटाले जानकारी दिए। सापकोटाले भने, ‘स्थायी समिति बैठक कात्तिक १२ र १३ गते बस्ने छन्।’ नेकपाभित्र नेता वामदेव गौतमको निर्वाचन लड्ने पछिल्लो मुद्दाप्रति वरिष्ठ नेता नेपालले पार्टीमा राखेको असहमतिलगायत विषयले बैठक गर्न दबाब बढ्दै जाँदा शीर्ष नेता भने पन्छिन् खोजेका देखिएका छन्।
यता पार्टी सभापति शेरबहादुर देउवाले आफूलगायतलाई बेवास्ता गर्दै पार्टी अगाडि बढाउन खोजेको आरोप लगाए। उनको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीलक्षित थियो।
सिटौला, सिंह, केसीले बिहीबार बस्ने भनिएको बैठक बहिष्कार गर्ने जनाउ दिएपछि कांग्रेस बैठक स्थगित भएको हो। तर, प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै पार्टी नेतृत्वले सबैसँग सल्लाह गरेर बैठक बस्ने जानकारी दिए। शर्माले भने, ‘बाहिर भनेजस्तो आन्तरिक विवादभन्दा पनि पार्टीका शीर्ष नेताको व्यस्ताका कारण बैठक सार्नुपरेको हो।’
प्रवक्ता शर्माले उक्त कुरा राखे पनि नेताहरू भने नेविसंघको विधानमा ३२ बर्से उमेरहद तोकिएकाले असन्तुष्ट बनेका हुन्। गत आइतबार देउवाइतर नेताले उक्त असहमति राख्दा बहुमतका आधारमा सभापतिले निर्णय पास गराएका थिए। नेविसंघले आउँदो कात्तिक १६ देखि १८ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।