पाटनमा शाह र मल्ल राजाका दुईथरी जमरा
ललितपुर : पाटन दरबारमा बुधबार घटस्थापना गरिएको छ। दरबार स्क्वायरभित्र मूलचोक परिसरको दसैंघरमा शाह र मल्ल राजाका नाममा दुई ठाउँमा जमरा पनि राखिएको छ। भूकम्पमा भत्किएको तलेजु दसैंघरको बायाँतिर मल्ल राजा र दायाँतिर शाह राजाका तर्फबाट जमरा राखिएको छ। तलेजु भवानीको मुख्य मन्दिरमा पूजाआजा नगरिए पनि दसैंघरमा जमरा राखियो।
मल्ल राजाका तर्फबाट ओम राजोपाध्याय र उनका छोरा मिलन मध्यान्हसम्म पूजाका सरसामान जुटाउन व्यस्त थिए। राजोपाध्यायभित्र पनि ‘बकनिव’ कुलले मात्र जमारा राख्न र पूजा गर्न पाउने परम्परा रहेको मिलनले जानकारी दिए। शाह राजाका तर्फबाट भने त्रिलोचन पौडेल र प्रितम केसी घटस्थापना गरी जमरा राखेर मध्यान्हमै घर जाने तयारीमा थिए। १६ औं शताब्दीका राजा सिद्धिनरसिंहको पालामा यहाँ दसैं मनाउन थालेको मानिन्छ।
मल्ल राजाको प्रतिनिधित्व गर्दै आएका राजोपाध्यायहरूले दसैं घर लिपपोत गरी, चोखो पारी माटाका भाँडामा जमरा राख्छन्। त्रयोदशीमा पाटनकी कुमारी पूजा गर्न आउँछिन्। उनी महानवमीमा राति आठ÷नौ बजेतिर आएर सबैलाई टीका जमरा लगाइदिने प्रचलन रहीआएको ओम बताउँछन्। जोशी र कर्माचार्य थरकाले पनि पहिला पहिला मल्ल राजाका तर्फबाट पूजा गर्ने चलन थियो। यतिबेला ‘बकनिव’ कुलका राजोपाध्यायले मात्र पूजा गर्दै आएको उनको भनाइ छ।
राजोपाध्यायका अनुसार मल्ल राजाहरूले सबैलाई समेट्न शाह राजालाई पनि स्थान दिएका थिए। फूलपातीदेखि दशमीसम्म दैनिक २ वटाका दरले बोका बलि दिने प्रचलन रहेको उनले बताए। गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले परम्पराअनुसार आवश्यक सामग्री गुठीले तयारी गरिदिएको र लैजाने क्रम जारी रहेको जानकारी दिए।
शाह राजातर्फका पुजारी रहेका पौडेलका अनुसार दियो, कलश र गणेश स्थापना गरी घडामाथि थालीमा देवी स्थापना गरिन्छ। घटस्थापनादेखि नवरात्रभरि दैनिक बिहान पूजा गरेर चण्डीपाठ गरिन्छ। दरबार परिसरमा रहेको गैरीधाराबाट दैनिक बिहान चोखो पानी ल्याएर जमरामा हाल्नुपर्ने हुन्छ। ‘यो परम्परा वास्तवमा सैनिक र प्रहरीले शक्ति बढोस् भनेर गर्छन्’, पौडेलले भने।
पूजामा संलग्न गोदावरी ठैबका केसीले कौशलटार, चोभार, ताल्छीखेललगायत पाँच ठाउँका मानिसले जमरा पूजा गर्नुपर्ने परम्परा रहेको बताए। ‘घटस्थापनाको दिन बोका बलि दिन्छौं’, पुर्खाका पालादेखि चलिआएको परम्परा यथावत् राख्न सक्रिय रहेको बताए। उनले पूजाको सबै व्यवस्था गुठी संस्थानले गर्दै आएको जानकारी दिए।५२ बोका, १२ राँगा र हरियो टाउको भएको हाँस बलि दिइने
ललितपुरका शक्तिपीठहरूमा दसैंमा बलि दिन ५२ बोका, १२ राँगा, १६ हाँस, २ थुमा (भेडा) र हरियो टाउको भएको एउटा हाँस समेत चाहिने गुठी संस्थान ललितपुरका प्रमुख पौडेलले जानकारी दिएका छन्। घटस्थापनामा सुरु बलि महाअष्टमी, महानवमी र विजया दशमीका दिन धेरै हुने उनको भनाइ छ।
जमरा राख्दा तलेजु भवानीको मन्दिरमा एउटा बोका बलि दिइसकिएको छ। २२ वटा निख्खर चोखो (कालो) रंगका बोका र ७ वटा चोखो राँगा चाहिन्छ। पौडेलले भने, ‘अन्य बेचोखा (अरु रंगका) भए पनि हुन्छ।’ उनले एउटा हाँस भने हरियो टाउको भएको व्यवस्था गर्नुपर्ने बताए। पाटनका तलेजु भवानी, दिगु तलेजु, महालक्ष्मी अष्टमातृका नाच, पूर्णचण्डी, सिद्धिलक्ष्मी, पाटन तलेजु गुठी, बडादसैं लगायत पर्वका लागि बलिको व्यवस्था गुठीले गर्नुपर्ने उनको भनाइ छ।