केन्द्र सार्ने विवादबीच मेयरमाथि आक्रमण, आरोप उपमेयरमाथि

केन्द्र सार्ने विवादबीच मेयरमाथि आक्रमण, आरोप उपमेयरमाथि

सिरहा : नगरपालिकाको विशेष नगरसभाबाट फर्कँदै गर्दा सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानमाथि आक्रमणको भएको छ। नगरपालिकाको केन्द्र सार्ने विषयमा भएको विवाद निरुपणको लागि बोलाइएको विशेष नगरसभाको समाप्तिपछि ना १ झ १६३९ नम्बरको स्कार्पियोमा चढेर गत मंगलबार साँझ सबा ५ बजेतिर घर फर्किने क्रममा कर्जन्हा नगरपालिकाकै बगाहा चोकमा भीडले एक्कासी उनीमाथि आक्रमण गरेको हो।

यस विषयमा मेयर पासमानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन्। भीडले गरेको ढुङ्गा प्रहारबाट मेयर सवार गाडीका सिसा फुटेका छन्। मेयर पासमानले आफूमाथि कर्जन्हा नगरपालिकाकै उपमेयर ज्ञानु श्रेष्ठले खटाएको भीडले आक्रमण गरेको आरोप लगाएका छन्।

नगरपालिका कार्यालयबाट बाहिरिँदा केही व्यक्तिले आफूमाथि सुनियोजित रुपमा ढुङ्गामुढा गराएको मेयर पासमानले बताए। उनका अनुसार एउटै पार्टीका जनप्रतिनिधि भएपनि न त पार्टीका नेतृत्वकर्ता न त समन्वय समितिले विवाद मिलाउन आएको छ।

‘केन्द्र सार्ने विवाद हुँदा कानुन अुनसार निष्कर्षमा पुर्‍याउन जनप्रतिनिधिबीच छलफल भयो, त्यही मिलाउन विशेष नगरसभा गरेका थियौँ,’ उनले भने, ‘केन्द्र सार्ने पक्षमा २९ जना र नसार्ने पक्षमा २४ जना प्रतिनिधिले समर्थन गरेका छन्।’ कानुनअनुसार केन्द्र सार्न दुई तिहाई बहुमत चाहिन्छ।

दलित भएकै कारणले आफूलाई असफल बनाउन षडयन्त्रपूर्व केही व्यक्तिले यस्ता घटना घटाउँदै आइरहेको पत्रकार सम्मेलन गरी मेयर पासमानले बताए।

‘एउटा झुपडीमा बस्ने दलितको छोरा मेयर हुँदा यहाँका कुण्ठित भनोभावना भएका व्यक्तिहरूलाई अपच जस्तो भएको छ,’ मेयर पासमानले भने, ‘त्यस्ता व्यक्तिहरू पटक पटक नगरपालिकामा विवाद उत्पन्न गराएर आफूलाई असफल बनाउन लागेको छ।’

आरोप निराधार

उपमेयर श्रेष्ठले नगर प्रमुखले आफूमाथि लगाइएको आरोप निराधार रहेको दावी गरेका छन्। केन्द्र सार्ने विषयलाई लिएर बगहाका स्थानीय जनता आक्रोशित भइरहेकोले उक्त आक्रमण स्वतः भएको हुनसक्ने उनले सुनाइन्।

‘केन्द्र सार्ने प्रस्तावविपरीत बगहाका सर्वसाधारण विगत केही दिनदेखि धर्नामा बसेका थिए,’ उनले भनिन्, ‘नगरपालिकाको विषयमा हुने जुनसुकै विवादको आरोप मेयरले जहिले पनि मैमाथि लगाउँछन्, त्यो आक्रमण गलत भयो भनी मैले भनिरहेको छु तर पनि फेरि त्यो घटनाको आरोप मैमाथि लगाइएको छ।’

कर्जन्हा गाउँपालिका हुँदा राजपत्रमा बगहा स्थित साविक कर्जन्हा गाविसको तीन कोठे भवनलाई केन्द्र तोकेको छ। नगरपालिकामा परिणतभएपछि त्यहाँ भवन अभावले गर्दा कार्यपालिकाको पहिलो बैठकबाट भाडाको भवनमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो।

राजपत्रमै तोकिएको स्थानमा केन्द्र राख्नुपर्ने भन्दै स्थानीयले जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्। अदालतको आदेशपछि भाडाको भवनबाट कार्यालय त्यही तीन कोठे भवनमा कार्यालय सारियो। कर्जन्हा गाउँमा नगरपालिकाको कार्यालय बनाउन १० कठ्ठा जग्गा उपलब्ध भएपछि मेयर पासमानले केन्द्र सार्नुपर्ने प्रस्ताव राख्दा उपमेयर पक्षले विमति जनाउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.