औद्योगिक ग्रामको लागि जग्गा दिन नगरपालिका तयार
भक्तपुर : सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यहाँ औद्योगिक ग्राम बनाउनका लागि सरकारलाई जग्गा दिन आफूहरु तयार रहेको बताएका छन् ।
स्थानीय तहमै पर्याप्त रोजगारी सिर्जना गर्ने नगरपालिकाको नीति अनुसार औद्योगिक क्षेत्रको लागि आफूहरु सबै कुरा गर्न तयार रहेको थापाले बताएका हुन् । भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा विजया दशमीको अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख थापाले भने, ‘स्थानीय तहमै रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरु विदेशिनुपर्ने बाध्यता छ । सूर्यविनायकमै औद्योगिक ग्राम बनेको खण्डमा यहाँका उद्योगी व्यवसायी समेत लाभान्वित हुने छन् । रोजगारी पनि सृजना हुने छ ।’
प्रमुख थापाले नगर क्षेत्रका घरेलु तथा साना उद्योगलाई कर छुट दिने पनि घोषणा गरे । त्यसको लागि नगरपालिकाले के के गर्नुपर्छ बुँदागत रुपमा लेखेर ल्याउन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले महासंघसँगको सहकार्यमा देशभर २० वटा औद्योगिक ग्राम बन्ने भएको जानकारी दिए ।औद्योगिक ग्रामसम्बन्धी कार्यविधि मन्त्रीस्तरबाट पारित भइ मन्त्रिपरिषद्मा लगिएको भन्दै भक्तपुरमा पनि एउटा औद्योगिक ग्राम स्थापनाको लागि जग्गा उपलब्ध गराउन उनले आह्वान गरेका थिए ।
‘नगरपालिकाले जग्गा उपलब्ध गराउनेबित्तिकै सरकारले सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गर्ने गरी कार्यविधि बनाइसकेको छौँ’, कार्यवाहक अध्यक्ष सिंहले भने, ‘कार्यविधिअनुसार बन्ने औद्योगिक ग्रामको सम्पूर्ण स्वामित्व नगरपालिकाको हुनेछ ।’
उनले समृद्ध नेपाल, सुखी नेपालीलाई व्यवहारमै कार्यान्वयन गर्न महासंघले देशभरका एकसय १२ वटा नपासँग सीपमूलक तालिम सञ्चालन गरी स्वरोजगार बनाउन सहकार्य गर्ने बताए ।