बेवारिसे शिशुको जिम्मा गुरुङ दम्पतिलाई
ताप्लेजुङ : गत शनिबार ताप्लेजुङको सुकेटार विमानस्थल छेउमा भेटिएका शिशुको जिम्मा स्थानीय सन्तकुमार गुरुङ दम्पतिले लिएका छन् ।
फुङलिङ नगरपालिका–८ का सन्तकुमार र देवीमायाले उक्त शिशुलाई अस्थायी रुपमा संरक्षण दिएका हुन् । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गुरुङ दम्पतिलाई शिशु प्रदान गरिएको हो । बिहीबार शिशुको सामान्य उपचारपछि जिल्ला अस्पतालका प्रमुख डा. सचिव यादवले उनीहरुलाई हस्तान्तरण गरेका हुन् ।
संरक्षक बन्न ६ जनाले प्रशासन कार्यालयमा निवेदन दिएका थिए । जसमध्ये बैठकले गुरुङ दम्पतिलाई उपयुक्त ठहराएको हो । बेवारिसे बालकको अभिभावक बन्न चाहेमा मानसिक अवस्था ठीक भएको, नैतिक पतन देखिने फौजदारी कसूर नगरेको र आर्थिक हैसियत बलियो भएको हुनुपर्ने कानुनी व्यवस्था छ ।
शिशुको आमाको खोजी भने भइरहेको प्रहरीले बताएको छ । ‘शिशुको आमा को हुन् र कसरी फालियो भनेर अनुसन्धान गरिरहेका छौँ,’ प्रहरी प्रमुख संजयसिंह थापाले भने । थापाका अनुसार यसरी शिशु जन्माएर फाल्ने आमालाई तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।