थ्रीस्टार र पुलिसको सुखद सुरुआत
काठमाडौं : थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सुखद सुरुआत गरेका छन्। एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा बिहीबार भएको पहिलो खेलमा ललितपुरले थ्रीस्टारले ललितपुरकै अर्को फ्रेन्ड्स क्लबलाई २-१ गोलले हरायो। अर्को खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई १-० गोलले पराजित गर्यो। जितसँगै थ्रीस्टार र पुलिसले तीन तीन अंक बनाएका छन्।
फ्रेन्ड्समाथि खेलको सुरुआतदेखि नै आक्रमण जारी राखेको थ्री स्टारका लागि रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे। रञ्जनले १७औं मिनेटमा गोल गर्दै थ्रीस्टारको उत्साह बढाएका थिए। पहिलो हाफमा १-० गोलको अग्रता लिएको थ्रीस्टारका लागि बुद्धले ८३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए।
बुद्धको डीबक्स बाहिरको प्रहार फ्रेन्ड्सका रक्षकलाई ठोकिँदै गोलमा परिणत भएको थियो। खेलको अन्तिमसम्म थ्रीस्टारको दबाब झेलेको फ्रेन्ड्सले दोस्रो हाफको इन्जुरी समयमा सान्त्वना गोल फर्काएको थियो। फ्रेन्ड्सका लागि विकास लामाले गोल गरे। अतिरिक्त खेलाडीको रूपमा खेल सकिन सात मिनेटअघि मैदान छिरेका लामाले डीबक्स भित्र पाएको अनमार्क बलमा उत्कृष्ट गोल गरेका थिए।
निर्धारित समयमा थ्रीस्टारले हाफ दर्जन थप गोलको अवर बनाएको थियो। चौथो मिनेटमा थ्रीस्टारका अफ्रिकी खेलाडी पिटर सेगुनले गोल गर्ने अवसर गुमाएका थिए। लगत्तै रञ्िजत धिमाल पोस्ट नजिक चुकेका थिए। दोस्रो हाफमा पनि थ्रीस्टारले आकर्षक मौका बनाएको थियो। ५७औं र ६९औं मिनेटमा बुद्ध चेम्जोङले पोस्ट नजिक पाएको बलमा गोल गर्न सकेनन्। ६०औं मिनेटमा अजयी मार्टिन पुनः चुकेका थिए।
यसैगरी जाउलाखेल माथि कठिन जित हात पारेको पुलिसका लागि अजित भण्डारीले निर्णायक गोल गरे। अजितले ३२औं मिनेटमा गरेको गोल नै पुलिसका लागि पर्याप्त बन्यो। अजितले तेज तामाङले डीबक्स भित्र मिलाइदिएको पासमा गोल गरेका थिए। पुलिसले पहिलो हाफमा थप दुईवटा उत्कृष्ट गोलको अवसर बनाएको थियो। सुमन लामाको पोस्ट छेउको प्रहारलाई जाउलाखेलका गोलरक्षक टेकेन्द्र थापाले विफल पारिदिएका थिए।
हेम तामाङको अर्को लामो प्रहारलाई पनि टेकेन्द्रले डाइभ गर्दै बचाएका थिए। पहिलो हाफमा दबाब झेलेको जाउलाखेलले दोस्रो हाफमा केही सुधारिएको खेल खेले पनि गोल निकाल्न सकेन। दोस्रो हाफमा केही रक्षात्मक देखिएको पुलिसले ८०औं मिनेटमा अर्को गोल थप्ने मौका गुमाएको थियो। अभिषेक रिजालको पासमा सु्मन लामा पोस्ट नजिक चुकेका थिए। लिगअन्तर्गत शुक्रबार हिमालयन शेर्पा र एपीएफ क्लब तथा ब्रिगेड ब्वाइज र मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ।