प्राथमिक स्वास्थ्य केन्द्रमा ‘मर्चुरी फ्रिज’
गजुरी : धादिङको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मर्चुरी फ्रिज (शवलाई लामो समयसम्म सुरक्षित राख्ने फ्रिज) सेवा सुरु भएको छ । सनाखत नभएका शव राख्ने ठाउँ अभाव झैल्दै आएको विषयमा अन्नपूर्ण पोस्ट् डटकममा समाचार छापिएपछि गजुरी गाउँपालिकाको पहलमा प्राथमिक स्वास्थ केन्द्रमा मर्चुरी फ्रिज राखिएको हो ।
मर्चुरी फ्रिज राखिएसँगै पृथ्वीराजमार्ग आसपास दुर्घटनाका सनाखत नभएका शव स्वास्थ्य संस्थामा बेवारिसे तरिकाले राख्नुपर्ने अवस्थाको अन्त्य भएको छ । गाउँपालिकाले करिब नौ लाख खर्चेर उक्त फ्रिज स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो ।
फ्रिज नहुँदा शवगृहमा राखिएका शव कुहिने, गन्हाउने गरेका कारण प्राथमिक स्वास्थ्य केन्द्र आसपासका स्थानीय र स्वास्थ्य केन्द्रकै चिकित्सकले समेत समस्या झेल्दै आएका थिए । शवगृह सानो भएकाले आकस्मिक पोस्टमार्टम स्वास्थ्य संस्थाको आँगनमै गर्नुपरेको थियो ।
गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव रामकुमार श्रेष्ठले भने, ‘शवगृहमा बेवारिसे शव थुपिँ्रदा गन्हाउने भएकाले आकस्मिक पोस्टमार्टम गर्नुपर्ने शव आँगनमा गर्नुपर्ने बाध्यता थियो, मर्चुरी फ्रिज सेवा सुरु भएपछि केही हदसम्म सहज हुनेछ ।’
बस्तीको बीचमा रहेको स्वास्थ्य केन्द्रमा हप्तौंसम्म बेवारिसे शव राख्दा दुर्गन्ध फैलिँदा स्थानीयबाट गुनासो आउन थालेपछि फ्रिज ल्याइएको गाउँपालिकाका स्वास्थ्य संयोजक डाक्टर रामहरि रेग्मीले जनाए । उनले भने, ‘धेरै समयपछिको प्रयासमा हामीले मर्चुरी फ्रिज राख्न सक्यौं ।’ उक्त फ्रिजमा २ वटा शव सुरक्षित तरिकाले लामो समयसम्म राख्न सकिन्छ । यस स्वास्थ्य संस्था मर्चुरी फ्रिज सेवा उपलब्ध गराउने जिल्लाकै पहिलो भएको स्वास्थ्य केन्द्र गजुरी जनाएको छ ।
धादिङ क्षेत्र नम्बर १ का सांसद भूमि त्रिपाठीले गजुरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हाइवे ट्रमा सेन्टरको रूपमा विकास गरिने बताए । उनले भने, ‘राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेले तुरुन्त उपचार नपाउँदा बाटोमै ज्यान गुमाउनुपर्ने बाध्यता छ, घाइतेलाई तुरुन्त उपचार गर्न र अचेत अवस्थामा बेचिनुपर्ने अवस्थाको अन्त्यका लागि ट्रमा सेन्टरको रूपमा स्वास्थ्य केन्द्रलाइ विकास गर्न पहल गर्नेछु ।’