चाडपर्वमा विशेष सुरक्षा
बर्दिबास : दसैंको रौनक बढेसँगै महोत्तरी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । यो बेला चोरी, डकैती, लुटपाटका घटना हुन सक्ने भन्दै प्रहरीले सहर–बजारदेखि गाउँसम्म सुरक्षा सतर्कता अपनाएको हो । दसैं किनमेल बढेसँगै बैंक तथा वित्तीय संस्थामा आर्थिक कारोबारमा वृद्धि भएको छ । बैंकमा रकम झिक्नेको भीड लागेको छ ।
प्रहरीले जिल्लाका मुख्य व्यापारिक केन्द्रमा आर्थिक निगरानी बढाएको महोत्तरीका एसपी ईश्वर कार्कीले बताए । ‘नाका–नाकामा सुरक्षा जाँचको व्यवस्था मिलाएका छौं’, एसपी कार्कीले भने, ‘छुट्टाछुट्टै पेट्रोलिङ गस्ती परिचालित छ ।’ बैंक तथा वित्तीय संस्थामा प्रहरीले मोटरसाइकलबाट गस्ती गरिरहेको उनले सुनाए ।
पूर्व—पश्चिम राजमार्गमा राति गुड्ने बसलाई लक्ष्य गरी इलाका प्रहरी बर्दिबासले मोटरसाइकल र भ्यानबाट गस्ती थालेको छ । ‘महोत्तरीको राजमार्ग क्षेत्रका अधिंकाश ठाउँमा जंगल पर्छ, जंगलमा फोन लाग्दैन’, डीएसपी नकुल पोखरेलले भने, ‘यात्रुका सुरक्षाका लागि राजमार्गमा गस्ती टोली परिचालित छन् ।’
नागरिकलाई गाउँको सुरक्षामा गम्भीर बनाउन बर्दिबास प्रहरीले टोल-टोलमा प्रहरी अभियानसमेत चलाएको छ । जनप्रतिनिधिसँग समन्वय गरी प्रहरीले टोल–टोलमा उपस्थित जनाइरहेको जनाइएको छ । ‘गाउँमा प्रहरी उपस्थिति हुँदा नागरिकमा सुरक्षित छु भनेर आत्मविश्वास बढ्छ’, बर्दिबास-२ का वडाध्यक्ष भरत हमालले भने, ‘नागरिकलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको हो तर आफू पनि सचेत रहनुपर्छ ।’
केही भए फोन गर्न मोबाइल नम्बर स्थानीयलाई उपलब्ध गराइएको इलाका प्रहरी गौशालाका इन्स्पेक्टर भोला भट्टले बताए ।