भारतीय बजारमा दसैं किनमेल
विराटनगर : दसैं किनमेलका लागि भारतीय बजारमा नेपालीको भीड लागेको छ। चाडबाडका बेला नेपालीको आकर्षण स्वदेशीभन्दा सीमापारिका भारतीय बजारमा देखिएको हो। विराटनगरनजिक पर्ने जोगबनी, वीरपुर र कुवाडीमा अहिले नेपाली उपभोक्ताको घुइँचो लागेको छ।
मोरङ कटहरीकी दीपिका घिमिरे बुधबार जोगबनी बजारमा भेटिइन्। ‘नेपालभन्दा भारततिर नै लुगाफाटा सस्तो हुन्छ’, उनले भनिन्, ‘त्यसकारण हामी यतै आएर किनमेल गर्छौं।’ छिमेकी भेला भई जोगबनी आएर किनमेल गरेको उनले सुनाइन्।
पूर्वी क्षेत्रका विभिन्न ठाउँबाट नेपाली उपभोक्ता किनमेलका लागि जोगबनी पुग्छन्। ‘एउटै बजारमा भनेजस्तो र खोजेजस्तो सबै वस्तु भेटिन्छ’, धरानकी खुश्वु राईले भनिन्, ‘लुगा, मरमसला, खाद्यान्न, भाँडावर्तन नेपालतिर भन्दा सस्तोमा पाइने भएकाले हामीलाई यही बजार ठीक छ।’
नेपालमा चिनीको भाउसमेत बढेका कारण चाडबाडमा सस्तो दरमा किन्न धेरै नेपाली यतै आउने गरेको उनले सुनाइन्। जोगबनीमा मरमसला, चिनी, साबुन र सर्फदेखि उपभोग्य वस्तु खरिद गर्ने नेपालीको घुइँचो छ।
जोगबनी झापा, मोरङ, सुनसरी र सप्तरीका विभिन्न क्षेत्रका बासिन्दाको आकर्षणको केन्द्र हो। साबिक कोसी पहाडका विभिन्न क्षेत्रका नेपालीसमेत जोगबनी पुग्ने गर्छन्। जोगबनीका व्यापारी ताहिर मियाँले यो बजार नेपालीकै भरमा चलेको स्वीकार गरे। ‘हामीले सकेसम्म नेपाली उपभोक्ताको मागअनुसारकै वस्तु राख्ने र सोहीअनुसारको मूल्य तोक्ने हुँदा उताबाट आउनेको संख्या अधिक छ’, उनले भने। नेपालबाट आउने उपभोक्ता नै आफ्नो पहिलो प्राथमिकतामा रहेको उनले बताए।
जोगबनीमा चहलपहल बढिरहँदा विराटनगरका बजारमा भने दसैंको रौनक देखिँदैन। पारि पुगेर व्यक्तिगत रूपमा ठूला परिमाणमा सरसामान खरिद गर्ने अधिक देखिएका छन्। घरायसी सरसामानमा भन्सार र प्रहरीले सीमामा कडाइ नगर्ने हुँदा उपभोक्ता थोरै भए पनि पैसा बचत गर्न पारि पुग्ने गर्छन्।दसैं, तिहार र छठ पर्व कमाइ हुने मुख्य मौसम भएको जोगबनीका कपडा व्यापारी नितेश यादवले बताए। ‘नेपाली ग्राहककै कारण हाम्रो व्यापार फस्टाएको छ’, उनले भने।
जोगबनीमा नेपाली ग्राहकका कारण दैनिक ३ करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ। नेपाली रुपैयाँमै कारोबार हुने भएकाले ग्राहकलाई सहज रहेको जनाइएको छ। रंगेली सीमा क्षेत्रमा रहेको कुवाडी बजारमा पनि नेपाली ग्राहकका कारण चहलपहल बढेको छ। यसैगरी सुनसरीसँग सीमा जोडिएको वीरपुर क्षेत्रमा पनि किनमेल गर्न नेपाली उपभोक्ता पुग्ने क्रम बढेको छ।