शास्त्रमा दसैं

शास्त्रमा दसैं

शरदमा आश्विन शुक्लपक्षको शारदीय, हेमन्तमा माघ शुक्ल पक्षको हैमन्तिक, वसन्तमा चैत्र शुक्ल पक्षको वासन्तिक र गृष्ममा आषाढ शुक्ल पक्षको गृष्मीय गरी वर्षमा चार नवरात्र हुन्छन्। आश्विनको शारदीय नवरात्रमा देवी भगवतीले भोजन गर्नुहुन्छ भन्ने विश्वास छ। चैतको वासन्तिक नवरात्रमा शयन र असारको गृष्मीय नवरात्रमा देवी भगवती कोल्टे फेर्नुहुन्छ। त्यसैले हरेक नवरात्र उत्तिकै महत्वपूर्ण हुन्छन्, तथापि नेपाली जनजीवनमा भने आश्विन शुक्लपक्षका नवरात्रले दसैंको रूपमा विशेष महत्व पाएको छ। यो नवरात्रमा नवदुर्गाको विशेष पूजा गरिने भएकाले पनि महत्व बढेको हो।

देवी पुराणमा सुमेधा ऋषिको वचनअनुसार आश्विन शुक्ल प्रतिपदा तिथिको शुभदिनबाट चण्डिका पूजन आरम्भ हुन्छ भनिएकाले आश्विन शुक्ल प्रतिपदाबाट नै नवरात्रको आरम्भ हुने मानिएको छ। नवरात्रको पहिलो दिनलाई घटस्थापना हो। प्रतिपदा तिथि आरम्भको सोह्र घडी छाडेर मात्र जमरा राखी घटस्थापना गर्नु उत्तम मानिन्छ। द्वितीया युक्त प्रतिपदा तिथिमा घटस्थापना गरी जमरा राखेमा ठूलाठूला सय यज्ञ गरेको फल मिल्नेछ भनेर शास्त्रमा उल्लेख गरिएको छ। 

यस्तै कसैलाई सन्तानको इच्छा छ भने अपराह्नको समयमा घटस्थापना गरोस्। सकिन्छ नान्दीमुखी श्राद्ध तथा मातृका पूजा गरी जमरा राख्न राम्रो मानिन्छ। घटस्थापनाकै दिन नवदुर्गामध्ये प्रथम देवी शैलपुत्री देवीको पूजा गर्ने परम्परा छ। यसैगरी द्वितीया तिथिदेखि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्री यी नौवटी देवीको नवरात्रका प्रतिपदादेखि नवमीसम्मका तिथिमा क्रमैले पूजा गर्ने चलन छ। सकिन्छ भने नवरात्रमा उपवास बसी पूजा गर्दा राम्रो; सकिँदैन भने फलाहार, एक छाक सात्विक भोजन गरेर नवरात्रमा दुर्गाको पूजा गर्नु उत्तम मानिएको छ।

नवरात्रिका कुनै तिथि घटबढ भई अष्टरात्र र दशरात्र भए पनि नवरात्र पूजा गर्न केही फरक पर्ने छैन भन्ने शास्त्रमा उल्लेख छ। नवरात्रमा दुई वर्षदेखि १० वर्ष उमेरसम्मका नौवटी कन्या कुमारीलाई पूजा गर्दा, भोजन गराउँदा र दान गर्दा यस लोकमा उन्नतिका साथै परलोक पनि सुध्रन्छ भन्ने मान्यता छ। सबै जातका कन्याकुमारी उत्तम मानिन्छन्। चण्डालकी कन्या पूजा गरेमा अकाल मृत्यु हट्ने, शूद्रकी कन्या पूजा गरे सन्तान प्राप्त हुने, वैश्यकी कन्या पूजा गरे धनलाभ हुने, क्षेत्रीकी कन्या पूजा गरे जय मिल्ने, ब्राह्मणकी कन्या पूजा गरे सिद्धि प्राप्त हुने शास्त्रमा उल्लेख छ।

गुरु, शुक्र अस्तले नवरात्र व्रत बस्न, दसैं मान्नलाई रोकिँदैन। दसैंमा देवीको अनुष्ठानमा बसेको मानिसलाई कुनै जुठो सुतकले रोकिँदैन। पूजा समाप्ति भएर देवीको प्रसाद टीका लगाइसकेपछि जुठो सुतक लाग्छ। मांसाहारका विषयमा पनि आफूलाई मासु खान मन लाग्यो भन्दैमा कुनै पनि प्राणीलाई बध गर्न शास्त्रले छुट दिएको छैन। तमोगुणी देवी भक्तलाई तन्त्रोक्त विधिले पशुयज्ञ गरेर मात्र देवीको प्रसादका रूपमा मात्र मासुको भोजन गर्न सक्ने वचन भए पनि आफ्नो आत्मोन्नति चाहने सात्विक देवी भक्तले कुभिन्डो, नरिवल आदि फलविशेषको बलि दिने विधान भएको पनि उल्लेख भएको पाइन्छ।

नवरात्रमा दुई वर्षदेखि १० वर्ष उमेरसम्मका नौवटी कन्या कुमारीलाई पूजा गर्दा, भोजन गराउँदा र दान गर्दा यस लोकमा उन्नतिका साथै परलोक पनि सुध्रन्छ भन्ने मान्यता छ।

 नवरात्रको षष्ठीको दिन बेलको वृक्षको हाँगामा गएर देवीलाई आह्वान गर्नु र सप्तमीको दिन आह्वान गरिएको बेलको हाँगो पूजा गरेर त्यो हाँगोलाई छेदन गरेर घरमा ल्याई दसैं घरमा राख्नुपर्छ। त्यही दिन केरा, कबी, हलेदो, जयन्ती, बेल, अनार, अशोक, मानवृक्ष र धानको बोट गरी नौवटा वनस्पति वस्तुहरू नै नवपत्रिका हुन्। यिनै नवपत्रिका नै फूलपातीका दिन दसैंघरमा भित्याइने चलन छ। यसैगरी नौ दिनसम्म नवदुर्गाको पूजा गरिन्छ। 

महाअष्टमी, महानवमी र विजया दशमीका दिन महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा गरिन्छ। महाअष्टमीको मध्यरात्रिमा कालरात्रि देवीको विशेष पूजा गरिन्छ। दसैं चाड वीरताको प्रतीक भएको हुँदा महाअष्टमीको दिन लडाइँमा प्रयोग हुने कोतघरमा सुरक्षित थन्क्याएर राखिएका हातहतियारको पूजा गरिन्छ। त्यस्तै किसानले कोदालो, खुकुरी, बन्चरो, हँसिया, खुर्पा आदि र विद्यार्थीले किताबकापी, संगीतकर्मीले वाद्य सामग्रीको पूजा गर्ने चलन छ।

 त्यसै दिन घरमा जुठो गर्न नहुने भएकाले दहीचिउरा खाने चलन छ। महानवमीमा सिद्धिदात्री देवी र महालक्ष्मी देवीको पूजा हुन्छ। राज्यका तर्फबाट पनि विशेष पूजा गरिने चलन छ। विजयादशमीका दिन महासरस्वतीको पूजा गरी नवदुर्गा विसर्जन पनि त्यसै दिन गरिन्छ। मान्यजनका हातबाट टीका लगाई आशीर्वाद थापिन्छ।

रामायण र महाभारतको युद्ध भएपछि ठूलो जनधनको क्षति भयो। वातावरण विषाक्त भयो। अनेक पशुपक्षी मरे। कतिपय बालबालिका अनाथ भए। कतिपय महिलाले एकल जीवन बिताउनुपर्‍यो। परिवार र समाज बिथोलियो। अतः बिथोलिएका मानसिकतालाई संयमित बनाउन विशृंखलित परिवार, समाज र राष्ट्रलाई सुसंगठित बनाउन ऋषिमुनिहरूले रामायण र महाभारतका पात्रहरूको नाम स्मरण गरेर एउटा श्लोकको संरचना गरे। हिजोआज बडादसैंको टीकाको दिन उक्त श्लोक उच्चारण गरेर मान्यजनहरूले शुभाशीष दिने चलन छ।

आयुद्र्रोणसुते  िश्रयं दशरथे शत्रुक्षयं राघवे,

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।

दानं सूर्यसुते बलं हलधरे सत्यं च कुन्ती सुते,

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे।।

अर्थात् तिम्रो आयु द्रोणाचार्य गुरुका पुत्र अश्वत्थामाजस्तै चिरञ्जीवी रहोस्, महाराज दशरथका समान तिम्रा घरमा धनकी देवी लक्ष्मी स्थिर बनून्, रामचन्द्रजस्तै शत्रुलाई नाश गर्ने शक्ति प्राप्त होस्। नहुष राजालाई झैं स्वर्गीय ऐश्वर्य प्राप्त होस्, वायुसमान तीव्र गतिले चल्न सक्ने तागत मिलोस्, अरूलाई मान गरेर आफ्नो वशमा पारी काम पट्याउन सक्ने दुर्योधनको जस्तो चलाख बुद्धि प्राप्त होस्। दान गर्ने काममा सूर्यका पुत्र कर्णवीर समान नहिच्किचाई निर्धक्कले दान गर्न सक्ने क्षमता बनोस्, बलियोमा बलराम समान बल बढोस्, कुन्तीपुत्र धर्मराज युधिष्ठिरजस्तै सत्यमा रहनसक्ने आचरण बनोस्। विदुरकै सरह ज्ञानविज्ञानमा पारगामी विद्या प्राप्त होस्, नारायणसरह संसारमा कीर्ति फैलियोस्। मान्यजनले आशीर्वाद दिने चलन छ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.