रोनाल्डोको अनुपस्थितिमै लयमा पोर्चुगल
वार्सा : यूईएफए नेसन्स लिग फुटबलको शुक्रबार बिहान खेलिएको खेलमा आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमै पोर्चुगलले पोल्यान्डलाई उसैको मैदानमा ३-२ गोलले हराएको छ। जितसँगै युरो कप च्याम्पियन पोर्चुगलले नेसन्स कपको अन्तिम चार प्रवेशको सम्भावना पनि बलियो बनाएको छ। समूह ‘तीन’ अन्तर्गतको उक्त खेलको प्रारम्भमै अग्रता लिएर पनि पोल्यान्डले पराजय टार्न सकेन।
खेल सुरु भएको १८औं मिनेटमै पोल्यान्डका लागि किर्जिस्तोफ पितेकले पहिलो गोल गरेका थिए। ३१औं मिनेटमा पोर्चुगलका आन्द्रे सिल्भाले जवाफी गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो। ४३औं मिनेटमा पोल्यान्डका कामिल ग्लिकबाट आत्मघाती गोल भएपछि पोर्चुगल २-१ ले अगाडि बढेको थियो। ५२औं मिनेटमा पोर्चुगलका लागि बेनार्डो सिल्भाले तेस्रो गोल थपे। ७७औं मिनेटमा पोल्यान्डका जाकुब ब्लाजिकोवस्कीले जवाफी गोल फर्काए पनि टोलीको पराजय टार्न त्यो पर्याप्त बन्न सकेन।
समूह ‘दुई’ अन्तर्गतको खेलमा स्विडेनले रुसलाई उसैको मैदानमा गोलरहित बराबरीमा रोक्यो भने समूह ‘एक’ अन्तर्गतको खेलमा इजरायलले घरेलु मैदानको फाइदा उठाउँदै बलियो प्रतिद्वन्द्वी स्कटल्यान्डमाथि २-१ गोलको प्रतिस्पर्धात्मक जित हासिल ग¥यो। खेलको ७५औं मिनेटमा स्कटल्यान्डका काइरन टेर्नीबाट भएको आत्मघाती गोल नै इजरायलको जितमा निर्णायक बन्न पुग्यो। खेलको ६१औं मिनेटमा जोन सुटर दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि स्कटल्यान्ड १० खेलाडीमा समेटिन पुगेको थियो।
यसैगरी समूह ‘चार’ अन्तर्गतको खेलमा रोमानियाले लिथुआनियालाई उसैको मैदानमा २-१ गोलले हरायो भने सर्बियाले पनि घरेलु टोली मोन्टेनेग्रोमाथि २-० गोलको जित हात पारेको थियो। यूईएफए नेसन्स लिग युरोपेली फुटबल महासंघले पहिलो पटक आयोजना गरेको प्रतियोगिता हो। पोर्चुगल लगातार दुई खेल जित्दै ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ। पोल्यान्ड र इटालीभन्दा पोर्चुगल पाँच अंकले अगाडि छ।