दुई मोटरसाइकल जुध्दा सांसद घाइते
गाईघाट : उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार बेलुकी दुई मोटरसाइकल एकआपसमा जुुध्दा प्रदेश सांसद र अर्का एक व्यक्ति घाइते भएका छन् । गाईघाटस्थित त्रियुगा नगरपालिका–११ तरकारी बजार नजिक दुई मोटरसाइकल एकआपसमा जुध्दा उदयपुर क्षेत्र नं २ को प्रदेश नं १ का सांसद नारायणबहादुर बुर्जा मगर नारायणबहादुर बुर्जा मगर भएका हुन् ।
सांसद मगरले चढेको स.४.प. ४९१६ नम्बरको र विपरित दिशाबाट आउँदै गरेको बा.४२.प. ७८६ नम्बरको मोटरसाइकल एकआपसमा जुधेका हुन् । दुर्घटनामा अर्का मोटरसाइकल चालक रौतामाई गाउँपालिका ४ पोखरीका मोहन राउत पनि घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी चन्द्रदेव राईले जानकारी दिए ।
घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सांसद मगरको दाहिने खुट्टको एउटा औला भाँचिएको छ भने हात, खुट्टा र अनुहारमा चोटपटक लागेको छ । त्यस्तै राउतको दाहिने खुट्टामा चोट लागेको उपचारमा संलग्न जिल्ला अस्पतालका मेडिकल अधिकृत डा.बिशालकुमार देवले जानकारी दिए ।
सांसद मगर आफैं मोटरसाइकले चलाएर त्रिनपा–१२ स्थित घर जाँदै थिए । अचानक अगाडी सिटी सवारी देखापरेपछि दुवै मोटरसाईकल एकआपसमा ठोक्किन पुगेको बताइएको छ ।