दसैं एक र्यान्डम सम्झना
हरेक दसैं अघिल्तिर देखिने गरिबका निन्याउरा अनुहारमा म मेरो अभावपूर्ण बाल्यकाल देख्छु।
हजुरबाको शान व शौकत प्रभावशाली भए पनि मेरो बाको हैसियत त्यसलाई कायम गर्न सक्ने खाले थिएन। उहाँ सोझो हुनुहुन्थ्यो। बूढो शरीर, सानो कद, हल्का लठेब्रोपन। कस्सो उहाँले जेनतेन अक्षर सिक्नुभयो र कर्मकाण्ड जान्नुभयो। आमाको काँधमा घर थाम्ने जिम्मेदारी थियो, जब कि मेरी आमा बाभन्दा २१ वर्षले कान्छी हुनुहुन्थ्यो। आमा बाको उमेरको फराकिलो अन्तरको कारण मैले बालाई उनको तन्तेरी वयमा कहिल्यै देखिनँ।
मेरा बाले परिवारलाई भरथेग गर्ने प्रयास खासै गर्नुभएन। यजमानीबाट आएको पैसा आमाको हातमा पर्दैनथ्यो। हामी केटाकेटीलाई कहिलेकाहीँ मिठाई खाने पैसा दिनुहुन्थ्यो, त्यत्ति हो। बाको घुमन्ते बानी थियो। अलिकति पनि पैसा जोहो भयो भने उहाँ घरबाट सुटुक्क घुम्न निस्कनुहुन्थ्यो। कहिले चितवनको गीतानगर त कहिले धनगढी, कहिले वनारस त कहिले देवघाट वा काठमान्डु। दसैंकै मुखमा पनि उहाँ धेरैपटक घरबाट भागेर निस्किनुहुन्थ्यो। हामीलाई बा खोज्नकै सास्ती हुन्थ्यो।
मलाई त्यस्तो आरामदायी बाल्यकालको सम्झना छैन तर अहिले भने तिनै दुःख सम्झँदा आनन्द लाग्छ। एकाध अपवादबाहेक प्राथामिक तह पढ्दासम्म मेरो आङमा स्कुलको युनिफर्म इतरका कुनै वस्त्र परेन। दसैंका बेलामा पाइने नयाँ लुगा भनेको पनि त्यही स्कुल ‘डिरेस’ नै हुन्थ्यो। पुरानो स्कुल ‘डिरेस’लाई घरमा बस्दा लगाइन्थ्यो भने नयाँ ‘डिरेस’चाहिँ बहुउपयोगी थियो। मामाघर जाँदा, बजार जाँदा वा चाडबाडका बेला त्यसको प्रयोग हुन्थ्यो। तिनताका विद्यालयको नयाँ कक्षा मंसिरबाट सुरु हुने हुनाले स्कुले पोसाक किन्न दसैं उपयुक्त समय थियो।
गाउँका अरू बालबालिकाको जस्तो उत्सादहप्रद दसैं हुँदैनथ्यो मेरो। अरू केटाकेटीले जसरी घरैपिच्छे टीका लगाउँदै कहिल्यै हिँडिएन। केटाकेटी छँदा आफ्नो अनि काकाहरूको घरबाहेक अन्यत्र खासै टीका लगाइनँ। मामाको घरमा जान पनि त्यस्तो रुचि लाग्दैनथ्यो। स्कुलको युनिफर्म लगाएर पनि के टीका थाप्दै हिँड्नू ? अरू केटाकेटीहरूको खुट्टामा गँठिलो गरी तुना कसिएको जुत्ता, ज्यानमा टपक्क मिलेको रंगीचंगी पोसाक अनि विशेषगरी केटाहरूले लगाउने ‘क्याप टोपी’को अघिल्तिर मेरो शरीरमा चिप्किएको सदाकालीन गाढा नीलो कट्टु र आकाशे नीलै कमिज भर्खरै धोका खाएको निन्याउरो प्रेमीको अनुहारजस्तो फिक्का फिक्का लाग्थ्यो।
हरेक दसैंमा ‘यसपटक त आमाले ‘आउट डिरेसको’ कपडा किन्दिनुहुन्छ’ भन्ने ठूलै आश लाग्थ्यो। बर्खाका बेला हामीलाई कुनै काम अह्राउनु पर्दा आमाले अलग कपडा किन्दिने वाचा पनि गर्नुहुन्थ्यो। तर ६÷६ जना छोराछोरीलाई अतिरिक्त पोसाक किन्ने हैसियत आमाको हुँदैनथ्यो। अनि आमाको वाचा पनि पूरा हुनै पाउँदैनथ्यो। वाचा किन पूरा नगरेको भनेर आमालाई टोकेसो गर्ने हिम्मत पनि हामीसँग हुँदैनथ्यो।
आमाले कपडा किन्ने पसल एउटै थियो। हाम्रै गाउँका पुराना बासिन्दा तोरणबहादुर केसीको रामबजारको कपडा पसल। उनी बितेर गए, तर उनले हाम्रो परिवारको आङ छोप्न ठूलो गुन लगाएका छन्। उनी गाउँले भएको हुनाले उधारोमा कपडा आउँथ्यो, कार्तिकमा धान पराल बेचेपछि आउने पैसाले उधारो तिर्ने सर्तमा। तर, कार्तिकमा पराल बेचेको पैसाले कपडाको पैसा तिर्न कहिल्यै पुग्दैनथ्यो। पोहोरदेखिको उधारोमा यस वर्ष पनि केही न केही थपिएर बस्थ्यो। हरेक वर्ष आमाको काँधमा ऋणको भारी थपेर जाने दसैं मलाई खासै उत्साह नलाग्ने चाड हो। दसैंले गरिबलाई झन् गरिब र धनीलाई झन् धनी बनाइरहेको हुन्छ। आर्थिक असमानता वृद्धि गर्नमा दसैंको जत्ति भूमिका कुनै चाडबाडको छैन। प्रत्येक वर्षको दसैंले देशको आयात मात्रै थपिरहेको हुन्छ। परनिर्भरता उकासिरहेको हुन्छ।
दसैंको बारेमा मलाई झ्याउ लाग्ने अर्को कुरा पनि छ। आफूलाई मनै नपर्ने मान्छेसँग पनि लोकाचारका लागि टीका लगाउन जानुपर्छ। देखावटी आदर र आशीर्वादको आदानप्रदानले मनलाई झन् बोझिल बनाउँछ। त्यसैले म परिवारका सदस्यबाहेक अरूसँग टीका लगाउन कहिल्यै जादिनँ। मेरोजस्तै स्वभाव मेरा दाइको पनि थियो। त्यसैले दाइको र मेरो दसैं करिब एकदुई घण्टामा सकिन्थ्यो। अनि के गर्ने ? खेल्ने दामलीहरू कति मामा घरतिर गएका हुन्थे, कति गाउँका घरघरमा टीका थापेर खुत्रुके भर्ने दाउमा हुन्थे। दाइ र म भने घर मुन्तिरको बाँसघारीमा जान्थ्यौं। दाजुभाइ मिलेर तास खेल्थ्यौं। कहिलेकाहीँ बा पनि मिसिनुहुन्थ्यो। बालाई तासका रमाइला खेलाहरू आउँथे। सातौं पत्ती कुन हो भनेर चिन्ने खेला होस् या जोखाना हेर्ने तरिका होस्, बाबाट मैले तासका धेरै जादु सिकेको छु। हामीले खेल्ने तास पनि बजारिया हुँदैनथ्यो। याक चुरोटको खोल काटेर हामी आफैंले तास बनाउथ्यौं। हप्तौं अघिदेखि तास बनाउने चुरोटको खोल जम्मा गथ्र्यौं। एउटा खोलबाट दुइटा पत्ती बन्थे। भरिसक्के राम्रा अक्षरले एक्कादेखि बास्सा हुँदै जोकरसम्मका सबै तास बनाउँदा निकै मजा आउँथ्यो। यसरी बनाएको घरबुना तास तिहारसम्मै काम लाग्थ्यो।
दसैं र दुःखका कैयन् सम्झना छन्। म सायद ४ कक्षामा पढ्थेँ। १० वर्षको हुँदो हुँ। फूलपातीको साँझसम्ममा घरमा सधैं आउने च्यांग्रा यसपालि आएन। कपडा त उधारोमा आउँथ्यो, आयो। तर, च्यांग्रा, मरमसला र दानदक्षिणाको मेलोमेसो उधारोमा आउँदैनथ्यो। त्यसका लागि नगदै चाहिन्थ्यो। सायद आमाले त्यो दसैंमा पैसाको जोहो गर्न सक्नुभएन। ऋण मागेका आफन्तीले पनि दिन सकेनन् होला। फूलपातीको दिनमा सधैं टुँडिखेल जाने आमा त्यसपटक जानुभएन। साँझसम्म घरमा उदास भएर बस्नुभयो। हामीलाई आमाको अगाडि पर्न निकै डर लाग्थ्यो। उहाँले आँखा पल्टाएर हेरेमात्रै हामी केटाकेटी थुरुरु हुन्थ्यौं। त्यसैले पनि आमाको उदासीको कारण सोध्ने हिम्मतै भएन। तर, हामीलाई अनुमान थियो, दसैंको खर्च जोहो नभएको हुनाले आमा उदास हुनुभएको हो। हामी निरीह थियौं। न आमालाई सहयोग गर्न सक्थ्यौं न सान्त्वना दिन।
बिहान ९ बजेतिर आमा आँगनमा निस्कनुभयो। ‘म बोका लिएर आउँछु। तिमीहरू पानी तताउँदै गर’ भनेर उहाँले मलाई लिएर हिँड्नुभयो। आमा र म स्थानीय गीरबहादुर कुँवरको घरमा गयौं। उनले घरमा बाख्रा पालेका थिए। आमाले रुँदै एउटा बोका माग्नुभयो। दसैंको बेलामा गुरुआमाको आग्रहलाई उनले टार्न सकेनन् र एउटा पाठो दिए। उनले दिएको पाठो यति सानो र मायालाग्दो थियो कि त्यसलाई काटेर खाने भन्ने कल्पना गर्दैमा मलाई किलकिल लागेर आयो। त्यो दसैंमा मैले मासु नै खाइनँ।
मेरो लागि दसैंको मुख्य रमाइलो चंगा उडाउनु हुन्थ्यो। शून्य आकाशतिर अनुहार फर्काएर एकोहोरो हेरिरहनु, कहिले डोरी तान्नु, कहिले छाड्नु, बौद्ध भिक्षुले माने घुमाएझैं लट्टाईलाई फन्का लगाउनु मलाई एउटा विराट् ध्यानको अभ्यास गरेजस्तो लाग्छ। तिनताका बजारमा तयारी चंगा किन्न पाइँदैनथ्यो। बाँसका मसिना सिन्का काट्यो अनि पातलो कागजमा भातको माडले टाँस्यो। मैले आफ्ना र साथीहरूका लागि खुब चंगा बनाएँ। पोलिथिनको ठूलो झोला पाइयो भने त्यसको पनि गज्जबको चंगा बन्थ्यो। नेपाली कागज पाए त खास्सा भइहाल्थ्यो। एक दिन मदुसमा एउटा रंगीचंगी नेपाली कागज फेला पारेँ। कागजलाई गोलो गरी बटारेर राखिएको थियो। घरमा कोही नभएको मौका पारेर त्यसलाई गाँसीवरी एउटा गज्जबको चंगा बनाएँ। चंगा उडाउँदै गर्दा छिमेकी दाइले भनेपछि बल्ल थाहा भयो, त्यो त चिना पो रहेछ। घरमा थाहा भयो भने खाँबोमा बाँधिएर सिस्नुपानी खानुपर्थ्यो, आमाको हातबाट। डरले त्यसै ङ्याकेर ल्यायो। तत्कालै चंगालाई च्यातचुत पारेर कुलामा बगाइदिएँ। घरमा पछिसम्म कसैलाई थाहा भएन। म कहिलेकाहीँ सोच्छु, त्यो चिना मेरै पो थियो कि !
मेरी आमाकै कारणले हाम्रो घरमा हरेक सानाठूला चाडबाड र पर्वका बेला अनौठा अनौठा अभ्यास हुन्थे। जस्तो कि, दसैंको टीका ठेउवा नदेखी लगाउनु हुँदैन भन्ने विश्वास। टीकाको बिहान सबेरै खेर ‘ठेउवा खोजेर राम्ररी हेरेर आउनू’ भनेर आमाले अह्राउनुहुन्थ्यो। हामी फाल हान्दै ठेउवा खोज्न निस्कन्थ्यौं। घरमुन्तिर पाटन थियो। पाटनको दक्षिणमा एउटा विशाल पोखरी थियो। पोखरीको पूर्वपट्टिको खिर्राको रूखमा एउटा ठेउवा सधैं बसिरहेको हुन्थ्यो। तर, टीकाकै दिनमा त्यो कता जान्थ्यो कता ? बल्लबल्ल ठेउवाको दर्शन गरेर हामी घरमा फर्किन्थ्यौं। आजकाल गाउँबाट ठेउवा हरायो। ठेउवा हराएपछि ठेउवा हेरेर मात्रै टीका थाप्ने चलन पनि हरायो।
भन्छन्, मान्छेलाई आफ्ना दुःखहरू सबैभन्दा ठूला लाग्छन्, अरूका दुःख फिका लाग्छन्। तर मलाई भने आफ्ना दुःखहरू सामान्य लाग्छन्, अरूका दुःखहरूले निकै पोल्छन्। म आफू दुखेर जति उदास भएको छु, अरूका दुःखमा त्योभन्दा ज्यादा उद्वेलित भएको छु।
हरेक दसैं अघिल्तिर देखिने गरिबका निन्याउरा अनुहारमा म मेरो अभावपूर्ण बाल्यकाल देख्छु। त्यसको क्षतिपूर्तिस्वरूप खल्तीमा आठदस हजार बोकेर सहरको कुनै सुकुमबासी बस्तीमा छिर्छु, अनि चिन्दै नचिनेको एउटा दुख्याहाको हातमा पैसा थमाएर फर्किन्छु। अञ्जान मान्छेले उपहार दिएको पैसा हातमा परेको बेलामा त्यो गरिबका आँखामा आश्चर्य र खुसीको बतास एकसाथ सर्सराउन थाल्छ। गरिबीको निख्लोट रनाहाले सधैंभरि निन्याउरा र चिम्सा रहने उसका आँखाहरू अस्वाभाविक रूपमा ठूल्ठूला भएर आउँछन्। मलाई यसरी ठूल्ठूला भएका आँखाहरू बेस्मारी मन पर्छन्। मलाई थाहा छ, ती आँखा मेरी आमाका आँखा हुन्।